घर-घरमा पुगेर दैनिक दुई लाखलाई कोरोना खोप लगाउने तयारी

नेपाल सरकारले दैनिक दुई लाखजनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक  खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को यही मंसिरर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दैनिक दुई लाखजनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए ।

मन्त्रालयले जनताको घरदैलोसम्म खोप पुर्याउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । प्रसस्त मात्रामा खोप रहेको र अहिले पनि नियमित खोप आइरहेको अधिकारीको भनाइ छ । 

उनले सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पुर्याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताए । उनले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइसकेको बताए । अब स्थानीय तहमा पुगेर नै खोप लगाउन छुटेका व्यक्तिलाई खोप लगाउने सरकारको तयारी छ । 

अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ भने तीन करोड ५० लाख खोप आउने क्रममा छ । 

हालसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कुल जनसङ्ख्यामध्ये ३३.७ प्रतिशतले पहिलो मात्रा र २८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।



मोडर्ना र फाइजर चाँडै आउँदै

सरकारले बालबालिका खोप लगाउनका लागि मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ । यही पुस १५ गतेभित्र मोडर्ना र फाइजर खोप ल्याउने मन्त्रालयको तयारी रहेको छ ।



मोडर्ना ७७ लाख र फाइजर ६० लाख ल्याउनका लागि सबै प्रक्रिया पूरा गरिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए । 

  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १७:२१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया