शेखर र प्रकाशमानले अडान नछाडेपछि पौडेलको चेतावनी : त्यसो भए म राजनीति छोड्दिन्छु

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आझ पनि साझा उम्मेदवार छान्न सकेन । वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिका लागि त्याग गर्न तयार भए पनि प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति हुन नसक्दा साझा उम्मेदवार चयन गर्न सकस भएको हो । 

अर्का आकांक्षी शशांक कोइरालाले यसअघि नै पौडेलका लागि आफू पछि हट्न तयार रहेको बताएका थिए । यता, यी दुवै नेताले दाबी नछाडेपछि वरिष्ठ नेता पौडेलले सभापतिको एक मात्र उमेदवार बन्न प्रकाशमान र शेखरलाई दबाब दिएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार दुवै नेताले आफ्नो अडान नछाडेपछि पौडेलले राजनीति छाड्ने चेतावनी दिएका हुन् । साझा उम्मेदवार छान्न तीनदेखि बसेको बैठक निष्कर्षविहीन बनेपछि निराश बनेका नेता पौडेलले भनेका थिए - 'दुवैजना उम्मेदवार हुने हो भने म पार्टी र राजनीति नै छोड्छु ।’

बैठकमा नेता प्रकाशमानले आफूले विगतमा धेरै त्याग गरेकाले अहिले आफूले त्याग गर्न नसक्ने बताएका थिए । उनले भनेका थिए, '१३औँ महाधिवेशनमा पनि त्याग गरेकै हो । मैले मात्रै कति त्याग गर्नु अब एक्लै भए पनि सभापतिमा लड्छु ।'

त्यस्तै शेखरले पनि आफू सभापतिका लागि योग्य रहेको भन्दै पछि हट्न चाहेनन् । दुवै नेताहरूले अडान नछोडेपछि दबाब दिनका लागि सभापति आकांक्षी बाहेकाको बैठक भोलि बिहान बस्‍ने भएको नेता गुरुराज घिमिरेले बताए । यो समूहबाट सभापतिमा वरिष्ठ नेता पौडेल, कोइरालाद्वय, सिंह आकांक्षी रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १९:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया