शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार (आज) ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्यान्ह सवा १२ बजे सार्वजनिक गरिनेछ ।
‘अहिले ११ बजेसम्म उमेदवारी फिर्ताको समय छ । उम्मेदवारी फिर्ता गरेपछि कुनकुन पदमा सर्वसम्मत हुन्छ ? कुनकुनमा निर्वाचन हुन्छ ? हामीले सर्वसम्मत र निर्वाचन हुने पदहरूको अन्तिम नामावली आजै सवा १२ बजे प्रकाशन गर्नेछौं’, घिमिरेले भने ।
उनका अनुसार केही कलस्टरहरूमा सर्वसम्मत हुने सम्भावना देखिएको छ । सर्वसम्मत नभएका पदमा भने सोमबार (भोलि) बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।
कुन पदमा कति जनाको उम्मेदवारी ?
निर्वाचन समितिका अनुसार सभापति एक पदका लागि शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको छ ।
उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल, गगन थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै ८ सहमहामन्त्री पदका लागि २० जनाको उम्मेदवारी परेको छ । १२१ केन्द्रीय सदस्य पदका लागि ५०९ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
दलिततर्फ नाै पदका लागि ३९, महिलातर्फको खुला नाै पदका लागि ३१ जना, खस आर्य १३ जनाका लागि ९३ जना, मधेसी नाै जनाका लागि ३२ जना, आदिवासी जनजाति १५ पदका लागि ८७ जना, थारु चार जनाका लागि १४ जना, पिछडिएको क्षेत्रको एक पदमा दुई जना, मुस्लिम तीन जनाका लागि १६ जना, अल्पसंख्यक एक पदका लागि ६ जना र अपांग एक पदका लागि १६ जनाको उम्मेदवारी निर्वाचन समितिले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।