६ लेन सडक आयोजना कार्यलयमा तालाबन्दी

तीन देश जोडिनेगरी निर्माण भइरहेको रानी–विराटनगर–इटहरी–धरान हुँदै किमाथाङ्का जोड्ने सडक आयोजनामा तालाबन्दी गरिएको छ ।

राष्ट्रिय गौरवको ६ लेन सडक आयोजनाको मुख्य कार्यालयमा इटहरीका स्थानीयले तालाबन्दी गरेका हुन् ।

आयोजनाले गुणस्तरहीन काम गरेको भन्दै इटहरीका स्थानीयले आयोजनाको मुख्य कार्यालयमा तालाबन्दी गरेका हुन् ।

आयोजना अन्तर्गत इटहरीको मुख्य चोकमा पानी निकास नबनाएकोमा स्थानीयको बिरोध गरेका छन् ।  

ठेकेदार कम्पनीले वैशाखमा ह्युमपाइप राख्दा इटहरी क्षेत्रमा डुबान हुने भएकाले तालाबन्दी गर्नु परेको स्थानीय ज्ञानेन्द्र दाहालले बताए ।

उनले ह्युम पाइपको ठाँउमा कल्भर्ट राख्न माग गर्दा पनि ठेकेदार कम्पनी र आयोजनाले वेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको दावी गरे ।



स्थानीयले बैशाख देखि नै विरोध गरेपछि ठेकेदार कम्पनी र आयोजनाले ह्युमपाइप निकालेर कल्भर्ट निर्माण गर्ने सहमति जनाएको थियो  ।

तर आयोजनाले ८ महिना पछि कल्भर्ट बनाउनुको सट्टा ह्युमपाइप नै राखेर सडक कालोपत्रे गराउन लागेपछि ताला लगाएको स्थानीय डिल्ली सुब्बाले बताए ।



सडक संघर्ष समितिका संयोजक समेत रहेका ज्ञानेन्द्र दाहालले आयोजनाको लापरबाहीले इटहरीवासी वर्षेनी डुब्ने गरेको आरोप लगाए । 

उनले विवादित स्थानमा भएको निर्माणको तत्काल रकम भुक्तान गर्नुले आयोजना र ठेकेदार कम्पनीको मिलेमतो रहेको समेत आरोप लगाए । 

‘हिजो सम्म हामी गरिदिन्छौँ भन्ने तर आज रातारात काम सक्न खोज्ने,’ उनले भने ‘यसले के देखाउँछ भने ठेकेदार र आयोजनाको प्रस्ट मिलेमतो छ ।’ 

उनले तत्काल स्थानीयको माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने समेत चेतावनी दिए ।

  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १६:१७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया