बझाङका दुर्गम गाउँमा खानेपानीको धारा, स्थानीय भन्छन्– बल्ल समस्याबाट मुक्ति पायौं

बझाङको बुङ्गल नगरपालिका–६, बड्डीज्याबनका स्थानीयले वर्षौँदेखि खानेपानीको समस्या भोगे । उनीहरू कयौंपटक खानेपानीको समस्या लिएर सम्बन्धित निकाय धाए । 

तर, स्थानीयको समस्या न सम्बन्धित निकायले सुन्यो नत राजनीतिक दलका नेताहरूले । नेताहरूले चुनावको बेला खानेपानी समस्या समाधान गर्ने भनेर प्रमुख एजेन्डा बनाउँथे । तर, जब चुनाव जित्थे त्यसपछि भने नेताहरूका नारा नारामै सीमित हुन्थे । 

वर्षौंसम्म यो क्रम चलिरह्यो । तर, पछिल्लो समय भने यहाँका स्थानीयले खानेपानीको समस्याबाट केही हदसम्म छुट्करा पाएका छन् । ग्रामीण जलस्रोत परियोजनाले सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा खानेपानी पुर्‍याएपछि स्थानीयको दैनिकी नै फेरिएको छ । यसअघि यहाँका स्थानीय पानीका लागि घण्टौँ हिँड्थे । तर, अहिले घर आँगनमा पानीको धारा आएपछि स्थानीय दङ्ग छन् ।

गाउँबाट झण्डै एक घण्टाको दूरीमा रहेको खोलाबाट पानी बोक्नुपर्ने समस्याबाट यहाँका स्थानीयले मुक्ति पाएका स्थानीय गब्बु धामीले बताए । ‘खोलामा पानी भर्न जाँदा पनि पालो पर्खेर बस्नुपर्ने बाध्यता थियो । तर, अहिले घरको आँगनमै धारा पुगेको छ,’ उनले भने । ‘पानी बोक्दै जीवन बित्ने यहाँका स्थानीयको दैनिकी फेरिएको छ, नगरपालिका र जलश्रोतको सहयोगले हामीले अहिले शुद्ध पिउने पानी घरछेउमा पाएका छौँ,’ अर्का स्थानीय धनमति धामीले भनिन् । 

विगतमा धनमति बिहानै उठेर खोलामा पानी भर्न जान्थिन् । उनको बढी समय पानी भर्नमै बित्थ्यो । खोलाको पानी ल्याएर खाना पकाउँदा/खाँदा र घरभित्रको सामान्य काम गर्दैमा रात पर्दथ्याे । ‘हाम्रो त आधा जिन्दगी नै पानी ओसार्दै र घरभित्रको काम गर्दै बित्यो । अहिले सजिलो छ, जतिबेला पानी चाहियो त्यतिबेला धारा खोलेर पानी ल्याउन पाएका छौँ,’ धनमतिले भनिन् ।

बड्डी ज्याबन सोलार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माणपछि धेरै कुरामा सहज भएको  स्थानीय बताउँछन् । यो आयोजना निर्माणमा २८ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ । जसमा नेपाल सरकारको ७ लाख ४१ हजार, फिनल्याण्ड सरकारको ११ लाख ११ हजार, गाउँपालिकाको ४ लाख २ हजार, र स्थानीय जनश्रमदान ६ लाख ४० हजार रहेको छ । अहिले उक्त आयोजनाबाट बड्डी ज्याबनका २१ परिवार लाभान्वित भएका छन् । 



बुङ्गल नगरपालिकामा मात्र नभएर जिल्लाको दुर्गाथली गाउँपालिका–५ बाजगडाकी धर्मा जप्रेलले पनि पानीको समस्या वर्षौंसम्म भोग्दै आइन् । उनी पनि बिहान उठ्नेबित्तिकै पानी भर्न लामो दूरीको यात्रा गर्थिन् । तर, अहिले भने उनीसहित यहाँका स्थानीयको पानीको समस्या समाधान भएको छ । 

कुवाको पानी बोक्दै आएकी उनी गाउँमा बाजगडा सोलार लिफ्टिङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताउँछिन् । ‘हाम्रा गाउँ पानी ल्याउन्या सरकारको र जलश्रोतको जय होस्, वर्षौंसम्म हामीले खानेपानीको समस्या भोग्यौँ । सबैलाई समस्या सुनाएका थियौं । तर, कसैले हेरेनन्, बल्ल समस्या समाधान भएको छ,’ धर्माले भनिन् ।



घर आँगनमै पानीको धारा पाएपछि यहाँका स्थानीयले सरसफाइमा पनि ध्यान दिन थालेका छन् । ‘महिनावारी भएको समयमा नुहाउन/लुगाकपडा धुन खोला जानुपर्ने बाध्यता थियो । तर, अहिले गाउँमा नै खानेपानी उपलब्ध भएपछि सहज भएको छ,’ दुर्गाथली गाउँपालिका–५, की सिर्जना जप्रेलले भनिन् । उनले अहिले महिनावारी भएका बेला स्कुल छुट्ला भन्ने चिन्ता नहुने गरेको पनि बताइन् ।  


 
दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी आएपछि स्थानीयले खोला र कुलोको फोहोर पानी पिउनबाट छुटकारासमेत पाएका छन् । घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाई मात्रै नभएर व्यावसायिक तरकारी खेती गर्न पनि सहज भइरहेको किसानले बताएका छन् । 

सरकारसँगको सहकार्यमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र सामाजिक विकास केन्द्र नेपाल र सामाजिक तथा प्राविधिक विकास सेवा समूह बझाङको प्राविधिक सहयोगमा जिल्लाका दुर्गम बस्तीमा सोलार लिफ्टिङ प्रविधि र पाइप लाइनबाट खानेपानी पुर्‍याइएको हो । 

परियोजनाअन्तर्गत जिल्लाका छबिसपाथिभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, वित्थडचिर, केदारस्युँ गाउँपालिका, जयपृथ्वी र बुङ्गल नगरपालिकामा गरी नौ स्थानीय तहमा लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण भएका छन् । 

परियोजनाले जिल्लाभर हालसम्म १२९ वटा योजना निर्माण गरेको छ । 

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १२:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया