किम जोङ उनको दश वर्ष : विश्वसँग सिँगौरी खेल्न तयार एक तानाशाह

दश वर्ष पहिला संसारले टेलिभिजन पर्दामा नियालेको थियो- एक युवा किम जोङ उन प्योङयाङको एक चिसो बिहानीमा पिताको शवसँगै गम्भीर मुद्रामा हिँडिरहेको थियो । त्यतिबेला उत्तर कोरियाली जनता शोकमा डुबेका थिए, किनकि उनीहरूको सर्वोच्च नेताको निधन भएको थियो । 

किमको लामो कालो कोट र कपालले उनको हजुरबुबाको सम्झना ताजा गराउँथ्यो । त्यसबखत विश्वले किमलाई मात्र पूर्वजको अधिकार अनुकरण गर्ने एउटा युवाको रूपमा हेरिरहेको थियो ।

उत्तर कोरियाप्रति विश्वको हेर्ने नजर पछिल्ला वर्षहरूमा धेरै पटक फेरिएको छ । यससँगै उत्तरी कोरियाली नेताको भूमिका पनि बढेको छ । उत्तर कोरियामाथि नजर राख्नेहरू त्यहाँका नेताको नियतमाथि शंका गर्थे । उनीहरू सोच्थे- स्वास्थ्यले साथ दिए उत्तर कोरियाली नेताहरू अनिश्चित कालसम्म सत्तामा बस्छन् ।
 
उत्तर कोरियाली नेतृत्वमा सुरुवाती दिनदेखि अहिलेसम्म आउँदा धेरै परिवर्तन आएका छन् । उत्तर कोरियाका लागि अमेरिकी पूर्व विशेष प्रतिनिधि जोसेफ युन सुरुका दिनमा किमलाई ‘उपहासको वस्तु’का रूपमा हेर्थे ।


  
‘सुरुमा दक्षिण कोरिया र चीनमा किमलाई नकारात्मक रूपमा हेरिन्थ्यो । किमलाई उडाउने पात्रको रूपमा चित्रण गरिन्थ्यो । अन्तर्राष्ट्रिय जनता, अमेरिका र दक्षिण कोरियाले उनलाई गम्भीर रूपमा लिएका थिएनन्,’ जोसेफले पुराना दिन सम्झिए । 

जब युवा किमले आफ्नो उमेरभन्दा परिपक्क शैलीमा निर्णयहरू गर्न थाले तब उनलाई हेर्ने विश्वको दृष्टिकोण नै फेरियो । त्यो पनि तीव्र रूपमा । 

सत्तामा आफ्नो पकड मजबुत बनाउन किमले आफ्ना सबैभन्दा निकट रहेकामाथि कारवाही गर्न हिचकिचाएनन् । उत्तर कोरियाली सरकार नियन्त्रित मिडिया रिपोर्टअनुसार किमको काका जङ सोङ थाकको हत्या गरिएको थियो । सन् २०१३ मा सरकार परिवर्तन गर्ने खेलमा लागेको भन्दै एक समय किमको सल्लाहकार समेत रहेका काका जङको हत्या गरिएको थियो । 



किमका सौतनी दाइ किम जोङ निर्वासनमा रहेका थिए । सन् २०१७ मा उनको मलेसियाको राजधानी क्वालालम्पुरमा हत्या भयो । क्वालालम्पुरको विमानस्थलमा उनको हत्या गरिएको थियो । उत्तर कोरियाले यो हत्यालाई अहिलेसम्म स्वीकारेको छैन ।
 
अहिले केही मानिसहरू किमको अधिकारलाई लिए प्रश्न उठाइरहेका छन् । जुन शक्ति किमले आफूमा केन्द्रित गरेका छन् त्यसैले नै उनलाई गम्भीर र जोखिमपूर्ण निर्णय गर्न प्रेरित गरिरहेको विशेषज्ञहरूको बुझाइ छ । विशेषज्ञहरूले यसलाई बुझाउन उदाहरण दिने गरेका छन्, ‘कोरोना महामारीको प्रभाव उत्तर कोरियाभित्र बढ्दै गए उत्तर कोरियाका नेता बढी खतरनाक बन्दै जानेछन् ।’


 
नेताको निर्माण 



किम जोङ्ग उनले अप्रिल २०१२ मा हजुरबुबा किम इल सुङको १००औं जन्मजयन्तीको अवसरमा सार्वजनिक रूपमा पहिलो भाषण गरेका थिए । यो दिन उत्तर कोरियाको क्यालेन्डरमा सबैभन्दा महत्वपूर्ण दिनमध्ये एक हो । 

किम पिता किम जोङ इलभन्दा फरक देखिए । पहिलो भाषण नै फरक देखिने शैलीको प्रस्थान विन्दु थियो । उनको पिताको आवाज सर्वसाधारणले मुस्किलले सुन्न पाएका थिए । किम भने फरक थिए । उनी सार्वजनिक रूपमा भाषण गर्न रुचाउँथे ।
 
किम पहिलो पटक सार्वजनिक भाषण गर्न तम्सिँदा स्कुलको बच्चाजस्तो देखिएका थिए । भाषण गर्दा उनी आफ्नो तौललाई एक खुट्टाबाट अर्कोमा सारिरहन्थे । उनी आफ्नो उद्देश्यमा दृढ थिए । समाजवादी देश निर्माण र पिताका इच्छा पुरा गर्ने प्रतिबद्धता उनले गरेका थिए ।

पहिलो पटक सार्वजनिक भाषण गरेको एक वर्ष पनि बित्न नपाउँदै फेब्रुअरी २०१३ मा किमले पहिलो परमाणु परीक्षण गरे । यो उत्तर कोरियाको इतिहासमा तेस्रो परीक्षण थियो । यो उनको उत्तेजक कदम र सन्देश थियो विशेषगरी अमेरिका र विश्वलाई । त्यसै समय किमले परमाणु कार्यक्रमको साथसाथै उत्तर कोरियाको अर्थव्यवस्था सुधार गर्न ‘प्योङजिन’ नीति पनि सार्वजनिक गरे । 

त्यसपछि किम उत्तर कोरियाको सैनिक क्षमता विस्तार र विकास गर्न निरन्तर लाग्दै आएका छन्। उनले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम)को समेत सफल परीक्षण गरे । विभिन्न छोटो र मध्यम दूरीका मिसाइलको पनि परीक्षण गरे । भूमिगत परमाणु विस्फोट पनि गरियो । 

‘उत्तर कोरियामा हामी जुन विविधीकरण देखिरहेका छौं, त्यो सीमित स्रोतसाधनलाई देख्दा आश्चर्य पार्ने खालको छ,’ कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पीसका वरिष्ठ अधिकारी अंकित पाण्डाले भने, ‘यो वास्तवमा उल्लेखनीय छ ।’ 

पछिल्लो दश वर्षमा सेनालाई मजबुत बनाउनुको अलावा किमले कूटनीतिक जीत पनि हासिल गरेका छन् । उनको पिता र हजुरबुबाले प्राप्त गर्न नसकेको उपलब्धि उनले प्राप्त गरे । उनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर सम्मेलन गरे । 

किमले मे २०१८ मा सिंगापुरमा ट्रम्पसँग पहिलो पटक भेट गरेका थिए । यो भेटवार्तालाई दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने अवसरको रूपमा हेरिएको थियो । सिंगापुर यात्राको बेला किम सडकमा खुला रूपमा निस्की सर्वसाधरणसँग हात मिलाउँदै हिँडेका थिए, जुन कुरा उनको पिता र हजुरबुबाबो लागि अकल्पनीय नै थियो । 

उत्तर कोरियाका लागि अमेरिकी पूर्व विशेष प्रतिनिधि जोसेफ युन भन्छन्, ‘उक्त भेटमा किमले ट्रम्पसँग भेट गरेर आफूलाई स्थापित गर्न बाहिर आएको सन्देश दिन खोजेका थिए । उनले आफूलाई एक क्षेत्रीय नेताको रूपमा स्थापित गर्न चाहन्थे ।’ 

ट्रम्पसँग मात्र होइन, चिनियाँ राष्ट्रपति सी चिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनलगायत विश्व नेताहरूसँग किम पटकपटक शिखर सम्मेलनमा सहभागी भएका छन् । यी भेटवार्ताले केही ठोस परिणाम दिएका छन् तर परमाणु कार्यक्रम स्थगित गराउने विषयमा भने खासै प्रगति भएको छैन । उनले पछिल्लो दश वर्षमा आफ्नो र उत्तर कोरियाको कद उचो बनाउँदै लगेका छन् । 

‘किमजोङउनिजम्’ को निर्माण
 
जनवरीमा कोरियाको वर्कस् पार्टीको आठौं कांग्रेसमा किमलाई महासचिवको रूपमा समर्थन गरिएको थियो । सरकारी मिडियाका अनुसार किमको पिता र हजुरबुबाको तस्बिरहरू आयोजना स्थलबाट हटाइएको थियो । 

विशेषज्ञ तथा दक्षिण कोरिायको एकीकरण मन्त्रालयले तस्बिर हटाइनुलाई एक विशेष संकेतको रूपमा व्याख्या गर्दै आएका छन् । उनले आफू आफ्ना पूर्वजहरूको समान हैसियतमा पुगेको सन्देश दिन खोजेका थिए । 

दक्षिण कोरियाको जासूस एजेन्सीले आफ्ना सांसदहरूलाई जानकारी दिइसकेका छन्- उत्तर कोरियाले आन्तरिक रूपमा ‘किमजोङ्गउनिजम्’ को कार्यान्वयन सुरु गरिसकेको छ । राज्यका मिडियामा किमको उत्कृष्ट कामदेखि मूर्तिपूजाका कुराहरू समेत आउन थालेका छन् । 

यसै महिना उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सी (केसिएनए)ले किमलाई ‘वैचारिक तथा सैद्धान्तिक ज्ञानको साथसाथै उज्ज्वल मार्ग देखाउने उत्कृष्ट शिक्षक’ को संज्ञा दिएको थियो । सेजोङ इन्स्टिच्युटस्थित सेन्टर फर नर्थ कोरियन स्टडिजका निर्देशक चोओङ्ग सेओङ्ग-चाङ्ग ‘किमजोङ्गउनिजम्’ लाई जानीबुझी ल्याइएको एउटा रणनीति बताउँछन् । किम जोङ्ग इल र किम इल सुङ्गको विचारधाराभन्दा ‘किमजोङ्गउनिजम्’ फरक भएको देखाउन उनले चाहेका छन्। 
 
‘किमजोङ्गउनिजम्’ले जनतालाई प्राथमिकता दिएको छ । किमका पिताले सैन्य विस्तारलाई सबैभन्दा बढी प्राथमिकता दिएका थिए । किमको नीतिले देशभक्ति र उत्तर कोरिया राज्य निर्माणलाई आव्हान गरेको छ । 

सेन्टर फर अ न्यु अमेरिकन सेक्युरिटीका वरिष्ठ अधिकारी डुयोन किम भन्छन् ‘किम आफ्नो बाटो आफै बनाउने कोसिस गरिरहेका छन् । उनकाे ध्यान पिता र हजुरबुबाको छायाँबाट आफूलाई बाहिर निकाल्ने प्रयासमा केन्द्रित छ ।’ 

चोओङका अनुसार किमले अहिले जुन प्रयास गरिरहेका छन् त्यो नयाँ भने होइन । किमका हजुरबुबाले आफ्नो शासनको सुरुवातमै बिनासर्त मार्क्सवाद-लेनिनवादलाई स्वीकारेका थिए । उनले आफ्नो शासनको सुरुवाती १० वर्षपछि स्वतन्त्र नीति अवलम्बन गरेका थिए । किम जोङ इलले पनि किम इल सुङको भन्दा आफ्नो विचारधारलाई बढावा दिएका थिए । 

तर किम पूर्वजभन्दा केही भिन्न देखिएका छन् । उनको पिता र हजुरबुबाले आफ्नो देश भित्रका कमीकमजोरीलाई स्वीकारेका थिएनन् । उनीहरूले उत्तर कोरियालाई स्वर्गको रूपमा वर्णन गर्थे । किमले भने देशभित्र समस्या रहेको स्वीकारेका मात्र छैनन्, समस्या समाधान गर्ने वाचा पनि गरेका छन् । 

आउँदो दशक किमजोङउनवादको लागि निकै महत्वपूर्ण हुनेछ, किनकि कडा अन्तर्राष्ट्रिय प्रतिबन्धका वाबजुद किमले देशभित्र आफूले गरेका वाचा पूरा गर्नुपर्नेछ । विकास गर्नुपर्नेछ । आफ्ना पूर्वजको विपरीत उनले मिश्रित बजार अर्थव्यवस्थालाई प्रोत्साहन गरेका छन् । यो नीतिले व्यक्तिलाई मुनाफा कमाउने अनुमति प्रदान गर्छ, तर लाभलाई सीमित गर्छ ।
 
अहिले किमजोङउनवादमा सबैभन्दा ठूलो चुनौती बनेर उभिएको छ- कोरोना महामारी । महामारीका कारण उत्तर कोरियाको अन्तर्राष्ट्रिय सीमा लगभग दुई वर्षदेखि बन्द अवस्थामा छ । यसले सबै प्रकारको व्यापार र मानवीय सहायतामा प्रभाव पारेको छ ।
 
दक्षिण कोरियाली सकारकारका अनुसार उत्तर कोरियामा बर्सेनि लगभग १० लाख टन खाद्यान्नको अभाव हुने गर्छ । अहिले खाद्यान्न अभाव मात्र होइन, उत्तर कोरियाभित्र खाद्यान्नमा चर्को मूल्यवृद्धि भइरहेको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा दैनिक आवश्यकता पूरा हुन सकेको छैन । 

‘अहिले उत्तर कोरियाले सबैभन्दा कठिन समयको सामना गरिरहेको छ । यो अप्ठ्याराे कहिलेसम्म चल्छ उत्तर कोरियालाई नै थाहा छैन,’ चोओङले भने । 

रोकिएला त उत्तर कोरिया ?
 
उत्तर कोरियाले गत अक्टुबरपछि कुनै पनि किसिमको मिसाइल परीक्षण गरेको छैन । उत्तर कोरियाले रणनीति फेरेको हुनसक्ने धेरैको अनुमान छ । तर यो अनुमान ठिक विपरीत पनि हुन सक्ने विशेषज्ञको बुझाइ छ । 

केही विशेषज्ञले उत्तर कोरियाको हालको मौनतालाई आगामी वर्ष चीनमा हुने शीतकालीन ओलम्पिक र कम्युनिस्ट पार्टीको कांग्रेससँग जोडेर हेरेका छन् । 

‘चीन बेइजिङ ओलम्पिक अगाडि आफ्नो क्षेत्रमा कुनै गडबढी भएको हेर्न चाहँदैन । चीन आफ्नो कांग्रेसको अघि कोरियाली प्रायद्वीपमा अस्थिरता चाहँदैन । यसैकारण मलाई लाग्छ अहिले उत्तर कोरियाले कुनै मिसाइल परीक्षण गरेको छैन । यदि परीक्षण गर्‍याे भने चीन रिसाउँछ,’ उत्तर कोरियाको लागि अमेरिकी पूर्व विशेष प्रतिनिधि जोसेफले भने । 

उत्तर कोरियाले सन् २०२२ को जनवरीबाट किमको निर्धारित योजना कार्यान्वयन गर्न सुरु गर्ने अनुमान धेरैको छ । सामरिक परमाणु हतियार, हाइपरसोनिक मिसाइल, एक ठोस इन्धन भएको आइसिबिएम, एक परमाणु क्षमताको पानी जहाज, पानीभित्र प्रहार गर्न सकिने परमाणु हतियार लगायतका कार्यक्रम आगामी वर्षबाट कार्यान्वयनमा जानेछन् । 

अमेरिकासँग उत्तर कोरियाको परमाणु कार्यक्रम स्थगन गर्ने वार्ता रोकिएको छ । ठिक विपरीत परमाणु हतियार निर्माण कार्यक्रम अघि बढ्दै छ । अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी (आइएइए) र अन्य संस्थाको रिपोर्ट अनुसार उत्तर कोरियाले योङब्योनमा रहेको एक परमाणु भट्टीको रिएक्टरमा गतिविधि सुरु भएको छ, जुन डिसेम्बर २०१८ बाट बन्द गरिएको थियो ।


 
‘इतिहास हेर्ने हो भने उत्तर कोरियाले परमाणु तथा व्यालेस्टिक मिसाइल कार्यक्रमको विकासलाई त्यो समयमा तीव्रता दिँदै आएको छ जुन समयमा अमेरिकासँग वा यस्तो कार्यक्रमा सहभागी हुन कुनै सम्झौताबाट ऊ बाध्य भएको हुँदैन,’ ओपन न्युक्लियर नेटवर्ककी निर्देशक लौरा रकवुडले भनिन् । 

ट्रम्पले सिंगापुरमा किमसँगको सम्मेलनमा भाग लिन केही सर्त मान्‍न सहमत भएका थिए । जबकि उत्तर कोरियाप्रति अमेरिकी नीतिमा परमाणु निशस्त्रीकरणलाई प्रमुख प्राथमिकता दिइएको थियो । सम्भावित परमाणु निशस्त्रीकरण कार्यक्रममा जानुअघि हतियार नियन्त्रण सम्बन्धमा कुराकानी गर्नु बढी फाइदाजनक हुने विश्वास लौराको छ । 

तर दुर्भाग्य, यो समय उत्तर कोरिया वासिङ्टनको एजेन्डामा सबैभन्दा माथि छैन । यस क्षेत्रमा अमेरिकाले ध्यान दिनुपर्ने चीन, ताइवान, उत्तर कोरिया लगायत थुप्रै मुद्दा छन् । तर अमेरिका पछिल्लो समय ताइवानमा केन्द्रित भएको छ । ताइवानसँग मिलेर चीनलाई कमजोर पार्ने प्रयास गर्दैछ । जसको फाइदा उत्तर कोरियाले उठाइरहेको छ, ऊ परमाणु विकासमा लागिरहेको छ ।

उत्तर कोरियासँग गम्भीर भएर वार्तालाई अघि नबढाउँदाको परिणाम खतरनाक हुनेतर्फ विशेषज्ञहरूले अमेरिकाको ध्यानाकर्षण गरिरहेका छन् । किनकि उत्तर कोरियाले अत्याधुनिक परमाणु हतियार विकास कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । 

‘उत्तर कोरियाको लागि चुनौती प्रत्येक महिना बढ्दै छन् । र, हामी पाँच वर्षपछि जुन चुनौतीको सामना गर्छौं त्यो निकै अलग हुनेछ,’ पान्डाले भने । 

यी मुद्दाहरू उठिरहँदा एउटा कुरा भने निश्चित छ- किमले केही समयको लागि विश्वसँग सिँगौरी खेल्न एक तानाशाहको रूपमा आफूलाई तयार पारिसकेका छन् ।

‘जबसम्म किमको शारीरिक स्वास्थ्य ठिकठाक रहन्छ, मलाई लाग्छ उनी आउँदो केही दशकसम्म आफ्ना योजना कार्यान्वयनमा लागि नै रहनेछन्,’ सेन्टर फर अ न्यु अमेरिकन सेक्योरिटीका डुयोनको निस्कर्ष छ । 

(सिएनएनबाट साभार) 
 

  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार ७:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया