logo-img

कृषिमन्त्री यादव भन्छन्– रासयनिक मल दिन कुनै देश तयार भएन, प्रांगरिक मल प्रयोग गरौँ

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले रासयनिक मलको अर्को विकल्प प्रांगरिक मल भएको बताएका छन् । 

बुधबार नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एसोसिएनको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रमा बोल्दै मन्त्री यादवले अहिले मल राष्ट्रिय समस्या भएकोले यसको समाधान जिटूजीबाट हुनसक्ने, तर अहिलेको विकल्प भनेको प्रांगरिक मल नै भएको बताएका हुन् । 

उनले धेरै देशलाई जिटुजी माध्यमबाट मल दिन पत्राचार गरिए पनि कुनै देश त्यसका लागि तयार रहने स्थिति नदेखिएको बताए । मन्त्री यादवले मलखादलगायतका कृषिसम्बन्धी समस्याको अर्को समाधान भनेको चकलाबन्दी रहेको समेत बताए । उनले अन्तर्राष्ट्रिय बजारमा पनि मलखादको अभाव रहेकाले किसानको मागअनुसारको पूर्ति गर्न नसकेको बताए । 



मन्त्री यादवले भने, ‘मलको कुरा राष्ट्रिय समस्या हो । मलको बारेमा समस्या के हो भने विगतमा आजभन्दा १२ महिना पहिले ३, साढे ३ सय डलरमा मेट्रिकटन पाउँथ्यो । केही दिनपछि ४ सय ६५ मा ठेकेदारहरुले ल्याए । अहिले अचानक ११ सय डलर मेट्रिकटन भइसक्यो । अब ठेकेदारले लिएका मलहरु आउने निश्चित छैन ।’ 

यसको निदान भनेको अब सरकारले जिटुजी नै गर्नुपर्ने उनले बताए । ‘जसरी तेलको जिटुजी गरिएको छ । सबै देशलाई जिटुजीबाट दिन प्रचार गरिएको छ । कुनै देशले त्यसरी दिने अवस्था छैन,’ उनले भने, ‘मलखाद कारखाना लगाउन निजी र सरकारी क्षेत्रमा कुरा भइरहेको छ । मलखादको अर्को विकल्प भनेको अहिले प्रांगरिक मल नै हो ।’ 

त्यसका लागि प्रदेश, स्थानीय सरकारले त्यहीँ उत्पादन गर्ने, त्यही बिक्री गर्ने कार्यविधि बनेको उनले बताए । त्यसअनुसार गाउँ र प्रदेश सरकारलाई अघि लिएर बढ्ने सरकारको योजना रहेको उनले सुनाए । 
 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १८:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया