\
सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ ।
बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् ।
उनले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले प्रविधिसँग लक्षित वर्गलाई जोड्न एसएमएस गेटवे सेवा शुभारम्भ गरिएको बताए । मन्त्री कार्कीले एसएमएस गेटवे सेवा शुभारम्भ गरेर समापन र चियापानको कार्यक्रम मात्र गर्ने नभइ यसको कार्यान्वयनमा पनि सरकारले ध्यान दिने बताए । उनले सरकारले सकेसम्म जनतालाई प्रविधिसँग जोडेर सेवा दिनुपर्ने बताउनु भयो ।
‘राज्यले जनतालाई सकेसम्म सेवा प्रदान गर्दै जानुपर्दछ । अवसर दिनुपर्दछ । त्यो अवसरबाट समाजले लाभ लिनुपर्दछ । समाजले लाभ लिँदा राज्य नै लाभान्वित हुन्छ । जुन उत्साहका साथ उद्घाटन गरेका छौँ काम गर्ने बेलामा यस्तै उत्साहका साथ अघि बढ्छौँ । कार्यान्वयनमा पनि त्यही समर्पणका साथ अघि बढ्छौँ’ उनले भने ।
मन्त्री कार्कीले सरकारले दिएको सेवाबाट नागरिक लाभान्वित हुँदा राज्य नै लाभान्वित बन्ने बताए । उनले एसएमएस गेटवे सेवा शुरु भएको दुई, तीन महिनाभित्रबाट जनता कति लाभान्वित हुन्छन् भन्ने कुराको लेखाजोखा गरिने बताए ।
कुनै पनि सरकारी निकायले सूचना प्रविधि विभागको पूर्वाधार (सफ्टवेयर) प्रयोग गरी दूरसञ्चार प्रदायक (हाल नेपाल टेलिकम) र एनसीएलमार्फत् सेवाग्राहीलाई एसएमएस पठाउने प्रणाली नै एसएमएस गेटवे हो ।
यसबाट सम्बन्धित निकायले आफ्ना सेवाग्राहीलाई सस्तो दरमा सूचना वा जानकारी पठाउन सक्छन् । सेवाग्राहीले पनि सम्वद्ध सरकारी निकायलाई एसएमएस पठाउँदा लाग्ने शुल्क सस्तो हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।