जनकपुरधाम उपमहानगरमा बालविकास शिक्षक तथा कर्मचारीको धर्ना दोस्रोे दिन पनि जारी

जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू आज दोस्रो दिन पनि उपमहानगरको कार्यालयअगाडि धर्ना दिएका छन् ।

उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले तोकिएको पारिश्रमिक उपलब्ध गराउन उपमहानगरसँग माग गरे पनि नगरप्रमुख लालकिशोर साहले सुनुवाइ नगरेपछि उनीहरू बुधबारदेखि धर्नामा बसेका हुन् ।

सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन जनकपुरधाम उपमहानगरपालिका तयार नभएपछि बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू हिजाे बिहान १० बजेदेखि ४ बजेसम्म धर्ना दिन सुरु गरेका छन् ।

संघीय सरकारले गत जेठ महिनामा ल्याएको बजेटमार्फत् गत साउन महिनादेखि लागू हुनेगरी बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो । सरकारको उक्त निर्णयअनुसार धनुषाकै गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिकालगायत अधिकांश स्थानीय तहले तलब वितरण गरिसकेका छन् ।

तर, जनकपुरधाम उपमहानगरपालिकाले भने तोकिएको तलब उपलब्ध गराउन आनाकानी गरेपछि आन्दोलनबाहेक अर्को कुनै विकल्प नरहेको बालविकास शिक्षक संघर्ष समितिकी जिल्ला सहसंयोजक संजु यादवकाे भनाइ छ ।

बालविकासका शिक्षकले मासिक ६ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको यो विभेदलाई यथाशीघ्र सच्याउनु पर्ने आफूहरूको माग रहेको उनले बताइन् ।



यादवले लेखापालको मासिक तलव १८ हजार ५ सय र बालविकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार हुनुपर्ने मागसमेत गरिन् । उनले आफूहरूकाे माग पूरा नगरिए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी समेत दिएकी छन् । 

जनकपुरधाम उपमहानगरपालिकाभित्रका ५१ वटा सामुदायिक विद्यालयमा १४९ जना बालविकासका शिक्षकहरु कार्यरत छन् ।



  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १२:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया