logo-img

किताब जात्राले नयाँ दिल्लीबाट सुरु गर्‍याे विश्व यात्रा

भारतको राजधानी नयाँ दिल्लीबाट पठन संस्कृति प्रवद्र्धनको नेपाली अभियान ‘किताब जात्रा’ले विश्व यात्रा सुरू गरेको छ । नयाँ दिल्लीको इन्डिया ह्याबिटेट सेन्टर, लोधीरोडमा बिहीबार किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन भयो ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतका संस्कृति तथा पर्यटनमन्त्री जी. किशन रेड्डीले संयुक्त रूपमा किताब जात्राको पहिलो अन्तर्राष्ट्रिय संस्करण उद्घाटन गरेका हुन् ।

मन्त्री आलेले किताब जात्राले आफ्नो अन्तर्राष्ट्रिय संस्करण भारतबाटै सुरु हुनु संयोगमात्रै नभएर नेपाल–भारत सम्बन्धको ऐतिहासिक निरन्तरताको कडीसमेत भएको बताए । उनले किताब जात्राले सुरु गरेको अन्तर्राष्ट्रिय संस्करणले नेपाली साहित्य, कला, राजनीति र अर्थतन्त्रका अनेकन आयामलाई विश्वसँग जोड्न सिर्जनात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।



भारतीय मन्त्री रेड्डीले नेपाल भारत सम्बन्ध सभ्यताको आदिकालदेखि भएकोमा जोड दिए । उनले गौतम बुद्धको जन्मस्थान नेपाल भएको सन्दर्भलाई बारम्बार दोहो¥याउँदै बुद्धले ज्ञान प्राप्त गरेको भूमि भएको कारण पनि भारतले नेपाललाई ज्ञानको मूलको रूपमा लिएको बताए ।

उनले नेपाल र भारत दुवैको पर्यटन प्रवर्द्धन गर्न भारतले रामायण सर्किटको काम अघि बढाएको जानकारी गराए । त्यसका साथै बुद्ध, महाभारतजस्ता सह–सम्बन्धसहितका धार्मिक सर्किट निर्माणको परिकल्पना गर्न सकिने उनले बताए । उनले विश्वका युवालाई जोड्न किताब जात्राले सुरू गरेको विश्व यात्रालाई थप आयाम दिन भारतमा ‘किताब जात्रा रेल सर्किट’ निर्माणको प्रस्ताव गरे ।

विगत चार वर्षदेखि हरेक वर्ष नेपालमा किताब जात्रा गरिरहेको ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय किताब जात्रा दिल्लीमा बिहीबार दिनभर चल्नेछ । नयाँदिल्ली संस्करणकी संयोजक आशा थपलियाले स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरू भएको जात्रामा पाँच सेसनमा बहस र अन्य साहित्यिक कार्यक्रम हुने बताइन् । ’नेपाल भारत सम्बन्ध’ शीर्षकमा भारतमा रहेको नेपाली दूतावासका कार्यवाहक राजदूत रामप्रसाद सुवेदी र एपीवान एचडी टेलिभिजनका प्रधानसम्पादक टीकाराम यात्रीले बहस गर्नेछन् ।



भारतीय स्तम्भकार तथा लेखक अतुल के ठाकुर, नेपालका लागि भारतका पूर्वराजदूत केभी राजन, पेङ्गुइन र्यान्डम हाउसका वाणिज्य तथा गैराअख्यान सम्पादक मनिष खुराना, एनडिटिभीकी विदेश मामिला वरिष्ठ सम्पादक कादम्बिनी शर्मा र नेपालका वरिष्ठ फोटोपत्रकार विकास रौनियारबीच ‘ब्लोजोमिङ लिटरेरी सिन इन नेपाल एन्ड इन्डियन पब्लिसिङ मार्केट’ शीर्षकमा बहस हुनेछ ।

त्यस्तै, ’नेपालको आर्थिक परिदृश्य– रेमिटेन्स, प्रत्यक्ष वैदेशिक लगानी एवं नेपाल भारत व्यापार’ शीर्षकमा आइएईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र रियान्डा बिज सर्भका अध्यक्ष भरत रिजालले बहस गर्नेछन् । जसको सहजीकरण एपीवान एचडी टिभीका सह–सम्पादक समा थापाले गर्नेछिन् । भारतीय पठन परिदृष्यमा नेपाली साहित्यबारे कलाकार तथा लेखक हरिवंश आचार्य, आख्यानकार अमर न्यौपाने र कवि नवराज पराजुलीले टीकाराम यात्रीका साथमा बहस गर्नेछन् ।



’टेकिङ नेपाल टू दी वर्ल्ड’ शीर्षकमा सिजी कर्प ग्लोबलका मेनेजिङ डाइरेक्टर वरुण चौधरी र टीकाराम यात्रीबीच विमर्श हुनेछ । त्यसपछिको सेसनमा कवि नवराज पराजुली, अमर न्यौपाने, सुनिल तिमल्सिनाका साथमा भारतीय कविहरूको काव्यिक प्रस्तुति हुनेछ ।

किताब जात्राको अन्तर्राष्ट्रिय संस्करणको सन्दर्भमा किताब यात्रा फाउन्डेसनले यसै वर्षदेखि ’किताब यात्रा अनर अवार्ड’ प्रदान गर्नेछ । उक्त अवार्ड यस वर्ष कलाकार तथा लेखक हरिवंश आचार्यलाई प्रदान गरिने निर्णय भएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए । उनले किताब जात्राको विश्वयात्रा युरोपको विभिन्न देशमा गरिने घोषणासमेत उद्घाटन कार्यक्रममा गरे ।

जनजीवनको अभिन्न अंग पठनसंस्कृति बन्नुपर्छ भन्ने ध्येय स्थापित गर्न फाउन्डेसनले आयोजना गर्ने गरेको ‘किताब जात्रा’मा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबीच अन्तरक्रिया गरिने जात्रामा साहित्य, सिनेमा, संगीत, अर्थ, उद्यमलगायतका क्षेत्रका व्यक्तित्वहरू समावेश गरी बहस चलाउने गरिन्छ ।

  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १६:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया