logo-img

नारामा कृषिप्रधान देश, व्यवहारमा खाद्यवस्तुमा परनिर्भरता

नेपाल कृषिप्रधान देश हो– धेरै वर्ष भयो यो सुन्दै आएको । प्रत्येक सरकारले कृषिक्षेत्रलाई प्राथमिकता दिने नीति ल्याउँछन् । नारामा कृषिलाई समेट्छन् । प्रत्येक वर्षको बजेटमा कृषि क्षेत्रलाई राम्रै रकम छुट्याउँछन् । तर, व्यवहारमा– कृषि प्रधान देशको अवस्था दयनीय छ । 

कृषि प्रधान देशका जनता खाद्य वस्तुको लागि अन्य राष्ट्रमा निर्भर छन् । नेपालमै उत्पादन हुने, उत्पादन गर्न सकिने वस्तुको लागि पनि विदेशको मुख ताक्नुपर्ने अवस्था रहेको छ । दैनिक हजारौँको संख्यामा युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र र मलेसिया जाँदा नेपालका उब्जनी हुने जग्गा बाँझै रहने गरेका छन् । यसले खाद्यान्नमा हुने परनिर्भरतालाई झन् बढाएको छ । 

कृषि प्रधान राष्ट्र नेपाल खाद्यवस्तुमा कति अन्य राष्ट्रमा निर्भर छ भन्ने कुरा भन्सार विभागको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिना (साउन, भदौ, असोज, कात्तिक र मंसिर)मा मात्र खर्बौं रुपैयाँको खाद्यवस्तु नेपालले विभिन्न देशबाट आयात गरेको छ । 



नेपालले आयात गर्ने खाद्यवस्तुमा हरियो धनियाँदेखि प्याज, आलुदेखि गोलभेँडासम्म छन् । अरु त अरु कुनै बेला विश्वका कैयौँ देशमा धान–चामल निर्यात गर्ने नेपाल अहिले करोडौँ रुपैयाँको धान–चामल आयत गरिरहेको छ । मकै, गहुँ, कोदो, भटमास आदिमा समेत नेपाल आत्मनिर्भर बन्न सकेको छैन ।
 
भन्सार विभागको तथ्यांकअनुसार नेपालले पछिल्लो पाँच महिनामा कच्चा भटमास, पाम, सनफ्लावर तेल मात्र ६६ अर्ब ४१ करोड २५ लाख २१ हजार रुपैयाँको आयात गरेको छ । उक्त रकममा सो अवधिमा १ अर्ब २२ करोड २९ लाख ६५ हजार ३२६ लिटर कच्चा तेल नेपाल भित्रिएको छ ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ३३ अर्ब ६६ करोड ५४ लाख ५९ हजार रुपैयाँको ९८ करोड ५७ लाख १९ हजार ६८ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ । २४ अर्ब ६१ लाख ७५ हजार ८७ लाख रुपैयाँको १८ करोड ८१ लाख ७५ हजार ५२५ लिटर कच्चा पाम तेल पनि नेपालले आयात गरेको छ ।

सो अवधिमा ८ अर्ब १२ करोड ९४ लाख ७५ हजार रुपैयाँको ४ करोड ९० लाख ७० हजार ७३४ लिटर कच्चा सनफ्लावर तेल नेपालले विभिन्न देशबाट खरिद गरी ल्याएको छ ।  



चालू आर्थिक वर्षको सुरुवाती पाँच महिनामा नेपालले विभिन्न देशबाट १० अर्ब १५ करोड ७२ लाख ५६ हजार रुपैयाँको २८ करोड ८६ लाख ९० हजार ६६३ केजी मकै आयात गरेको छ । सोही अवधिमा ७ अर्ब १३ करोड ३१ लाख ७४ हजार रुपैयाँको २४ करोड ८० लाख २५ हजार ३३५ केजी धान नेपाल भित्रिएको विभागले जनाएको छ । 

विभागका अनुसार गत साउनयता नेपालमा ५ अर्ब ५२ करोड ६९ लाख ६९ हजार रुपैयाँको २१ करोड ८२ लाख ५५ हजार २२९ केजी आलु विभिन्न देशबाट आएको छ ।



पछिल्लो पाँच महिनामा नेपालले ३ अर्ब ५७ करोड ४६ लाख ३६ हजार रुपैयाँको ५ करोड ६९ लाख २ हजार २३१ केजी सुकेको केराउ आयात गरेको छ । 

नेपालले चालू आर्थिक वर्ष सुरु भएयता ३ अर्ब २५ करोड ३५ लाख ३२ हजार रुपैयाँको ६ करोड ४७ लाख ६७ हजार ५६४ केजी चिनी खरिद गरेको छ । 

भन्सार विभागको तथ्यांकअनुसार सो अवधिमा नेपालले विभिन्न देशबाट ३ अर्ब २१ करोड ७३ लाख ७४ हजार रुपैयाँमा ४ करोड १७ लाख २२ हजार ८२५ केजी स्याउ आयात गरेको छ ।

नेपालले २ अर्ब २८ करोड ५० लाख ६ हजार रुपैयाँमा ९ करोड ४ लाख २९ हजार ८५७ केजी गहुँ पाँच महिनामा खरिद गरेको विभागको तथ्यांकले देखाउँछ । 

सोही अवधिमा नेपालले विभिन्न देशबाट २ अर्ब ९ करोड ८ लाख ६९ हजार रुपैयाँको २ करोड ५८ लाख ३६ हजार १५८ केजी भटमास र ८० करोड १३ लाख ८२ हजार रुपैयाँको २ करोड ५१ लाख २१ हजार २९१ केजी केरा आयात गरेको छ ।

नेपालले पाँच महिनामा ६५ करोड ४५ लाख १० हजार रुपैयाँको ३४ लाख २९ हजार ७१५ केजी बिस्कुट खरिद गरी ल्याएको छ । उक्त अवधिमा ६४ करोड ६२ लाख ३५ हजार रुपैयाँमा २ करोड १४ लाख ७५ हजार १९५ केजी चामल आयात गरेको छ । 

पछिल्लो पाँच महिनामा नेपालले ६० करोड २३ लाख ४१ हजार रुपैयाँको ९ लाख ७५ हजार ३३३ केजी बदाम, ५९ करोड ८१ लाख ७७ हजार रुपैयाँको ५७ लाख २६ हजार ५०५ केजी अनार, ५६ करोड ५६ लाख १५ हजार रुपैयाँको १ करोड २ लाख ८४ हजार ८४८ केजी सुन्तला र ५३ करोड ४ लाख ७० हजार रुपैयाँको १० लाख ९ हजार ७५ केजी चकलेट खरिद गरेको देखिन्छ । 

५३ करोड ६३ हजार रुपैयाँमा ११ लाख ६९ हजार ३४३ केजी मरिच, ३९ करोड ५५ लाख ८० हजार रुपैयाँमा ५१ लाख १६ हजार ३५२ केजी कागती र ३७ करोड ९८ लाख १५ हजार रुपैयाँको १५ लाख ४० हजार ७२२ केजी दालमोठ, पापड तथा भुजिया विभिन्न देशबाट पछिल्लो पाँच महिनामा नेपाल भित्रिएको छ । 

यस्तै, सो अवधिमा ३७ करोड ४१ लाख ८४ हजार रुपैयाँको ३२ लाख ७३ हजार ६३० केजी लसुन, २१ करोड ७८ लाख ४१ हजार रुपैयाँको ५० लाख ४१ हजार ७०२ केजी प्याज, १८ करोड ६६ लाख ६५ हजार रुपैयाँको १ करोड ३२ लाख ८० हजार ७१६ केजी गोलभेँडा नेपालले आयात गरेको देखिन्छ ।
 
नेपालमा विभिन्न देशबाट ३१ करोड १७ लाख ८८ हजार रुपैयाँको ७ लाख ६ हजार ६३१ केजी कुरकुरे, कुरमुरे, लेज र चिजबल्स, २८ करोड ६६ लाख ८ हजार रुपैयाँको १२ लाख ३८ हजार ६० केजी नरिवल र १५ करोड ४० लाख ७० हजार रुपैयाँको ६ लाख ९२ हजार ३६० केजी अंगुरसमेत भित्रिएको छ ।
 
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २७ करोड ९६ लाख ३३ हजार रुपैयाँको १ लाख ६६ हजार २२५ केजी सुकमेल, ७ करोड ५० लाख ९२ हजार रुपैयाँको २१ लाख ९१ हजार ३११ केजी मेवा र ४३ करोड ८७ लाख ६४ हजार रुपैयाँको ८७ लाख ७३ हजार ४४४ केजी आँप तथा अम्बा नेपालले खरिद गरेको छ । 
 
मासुजन्य वस्तु 

नेपाल मासुजन्य वस्तुमा पनि आत्मनिर्भर हुन सकेको छैन । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा नेपालले विभिन्न देशबाट ३३ करोड ९ लाख २० हजार रुपैयाँको खसी खरिद गरी ल्याएको छ । उक्त मूल्यमा ३६ हजार ८७३ वटा खसी नेपाल भित्रिएका छन् । यस्तै, सोही अवधिमा नेपालले १३ लाख १२ हजारमा २२० वटा भेडा खरिद गरेको छ । 

नेपालले विभिन्न देशबाट ३ करोड ८९ लाख १७ हजार रुपैयाँमा ५१ हजार ३०० केजी सुँगुर, भेडा र भैँसीको ‘फ्रोजन मिट’ खरिद गरेको छ ।  

चालू आर्थिक वर्षको सुरुवाती पाँच महिनामा नेपालले ६८ करोड ४९ लाख ६५ हजार रुपैयाँमा २५ लाख ६ हजार ४३७ केजी सी फुड आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । 

  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार २०:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया