'बालधामी'हरूको कथा : स्कुल छाडेर देउताको शरणमा

जिल्लाको केदारस्युँ गाउँपालिका भैरवनाथका धनशेर विष्ट अहिले १९ वर्षका भए । १३ वर्षको उमेरदेखि उनी गाउँघरमा ‘धामी’ को काम गर्दै आएका छन् । गाउँलेले बाठपाला देउता चढेको भन्दै उनलाई पूजाआजा गरेर धामी (देवता आउने) बनाए ।

धामी बनेपछि उनले १० कक्षासम्म मात्र पढ्न पाए । ‘साथीहरूले झै स्कुल जान, रमाइलो गर्न, हाँस्खेल गर्ने मर्न छ । तर, के गर्नु रहर सबै पूरा नहुँदा रहेछन् । देवताले रोजेपछि सबै रहर मारेर धामी भएको छु । देवताले चाहेको नगरौं भने पनि देवता रिसाउने डर हुन्छ,’ विष्टले भने, ‘हामीहरू विद्यालय खण्डमा छुवाछुत हुने भएकाले देउताले सहँदैनन्, त्यसैले स्कुल पनि छाडिदिएँ । अहिले सबै चाहना मारेर देउताकै भक्तिमा लागेको छु ।’

धनशेर मात्र होइन बझाङमा धेरै किशोर ‘धामी’ बनेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ का राजु मण्डेल पनि पढाइ प्रभावित पारेर लामो समयदेखि गाउँमा धामीको काम गर्दै आएका छन् ।

भातेखोलाका २१ वर्षीय कृष्णराज उपाध्यायले पनि कक्षा ९ मै पढाइ छोडेर धामीको काम गरिरहेका छन् । ‘देउताले रोजिसकेपछि उसको नियम मान्नुपर्ने रहेछ, नभए देउता रिसाएर अनिष्ट हुन्छ,’ मष्टो देवता चढेको भन्दै धामी बनाइएका उपाध्यायले भने, ‘छोइछिटो होला भनेरै ९ कक्षा पढ्दै गर्दा मैले स्कुल छोडे । एक्लै कतै जाने स्वतन्त्रतासम्म रहँदैन, कतै जानुपरे एकजनालाई सँगै लैजानुपर्छ ।’  

बझाङमा गाउँपिच्छे नै धामी छन् । यकिन तथ्यांक नभए पनि जिल्लाभरीमा डेढदेखि २ हजार जति धामी हुनसक्ने थलाराका रमेश खड्काको अनुमान छ । उनी पनि धामी नै हुन् । २२ वर्षको उमेरमा धामी भएका खड्काका अनुसार जिल्लाभर ३ देखि ४ सयसम्म बालक धामी बनाइएका छन् ।  

जिल्लाका धेरै बालक ‘धामी’ बस्दा विद्यालय जानबाट बञ्चितका साथै आफ्नो स्वतन्त्रताको अधिकारको पनि प्रयोग गर्न सकेका छैनन् । ‘देवताले रोजेको व्यक्तिले विद्यालय जान हुँदैन’ भन्ने गलत सामाजिक मान्यताका कारण बालधामीहरू शिक्षा पाउनबाट बञ्चित भइरहेका सामाजिक अगुवा बताउँछन् ।



‘सानो उमेरमा नै यसरी शिक्षाबाट वञ्चित हुँदा उनीहरूको भविष्य संकटमा पर्ने हुन्छ । विद्यालय जानबाट रोकिएका यस्ता बाल धामीको जिल्लाभरिको संख्या संकलन गरी उनीहरूका लागि छुट्टै पद्धति लागू गरेर भए पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने अवश्यकता छ,’ नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले भने । 

जिल्लामा धेरै संघसंस्था तथा स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि खासै परिवर्तन हुन नसकेको स्थानीय बताउँछन् । गाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन भए पनि अन्धविश्वास र यर्थाथ केहो भनेर बुझाउन नसक्दा ‘बालधामी’को संख्या बढ्नुको सट्टा बढिरहेको दुर्गाथलीका स्थानीय कृष्णराज जोशीले बताए । 



जिल्लामा यो समस्या कम नभएपछि ‘धामी’हरूलाई शिक्षाको पहुँचमा ल्याउन स्थानीय तहले भने तयारी थालेको बताएका छन् । जिल्लाभरका ‘बालधामी’ हरूलाई एकै ठाँउमा राखेर उनीहरूलाई वैकल्पिक शिक्षा दिन खोजेको भएपनि त्यसमा पनि समस्या रहेको मष्टा गाउँपालिका शिक्षा शाखा प्रमुख पृथु जोशीले बताए । 

केही स्थानीय तहले ‘बालधामी’ को पढाइलाई निरन्तरता दिने प्रयास गरेका छन् । ‘बालधामीलाई शिक्षाको पहुँचमा ल्याउनका लागि प्रयास भइरहेको छ ।  स्थानीय तहबाट हुने सहकार्य तथा बाल धामीहरूको पढाइको लागि आफूहरूले विभिन्न विकल्प अपनाए पनि धामीहरूकै आन्तरिक समस्याका कारण ती विकल्प सफल हुन सकेका छैनन्,’ छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले भने, ‘अझै पनि बालधामीहरूले पढ्ने  इच्छा देखाएमा आफूहरू उनीहरूका लागि छुट्टै कक्षा व्यवस्थापनका लागि पहल गर्न सक्छौँ ।’  

छात्रा पनि पढ्ने विद्यालयमा ‘बालधामी’हरूलाई पठाउँदा विरामी हुने भएकाले उनीहरूलाई नियमित विद्यालय पठाउन समस्या भइरहेको अभिभावक बताउँछन् । पटकपटक अभिभावकलाई ‘बालधामी’ भएका किशोरलाई विद्यालय पठाउन आफूहरूले आग्रह गरिरहेका जयपृथ्वी नगरपालिका–१, कैलाशमा रहेको नारायण माध्यमिक विद्यालयका शिक्षक दिनेश शाहीले बताए ।

‘हामीले स्कुल पढाउन लगाउनुपर्छ भनेर अभिभावकसँग छलफल गरेका थियौं/गरिरहेकै छौं । तर, अभिभावकले स्कुल पठाउँदा विरामी हुन्छन् भनेपछि बालधामीहरूले पढाइलाई निरन्तरता दिन सकेका छैनन्,’ शाहीले भने । 
 
डाक्टरभन्दा धामीमा विश्वास !

जिल्लाका धेरै क्षेत्रमा अझै पनि धामीझाँक्रीप्रतिको विश्वास कम हुन सकेको छैन । गाउँमा कोही बिरामी भएमा स्थानीयले स्वास्थ्य चौकाभन्दा धामीझाँक्रीलाई बढी प्राथमिकता दिने गरेको धुली स्वास्थ्य चौकीका इन्चार्ज रवीन्द्र बोहराले बताए । 

‘सिकिस्त भइसकेपछि मात्र स्वास्थ्य संस्था पुग्ने गरेका छन्, यहाँ सबैले लाङ्गा देवतालाई मान्छन् । महिनावारी र सुत्केरी भएकी महिलालाई छोएमा घरमा अनिष्ट हुने अन्धविश्वासका कारण प्रायः सबै स्थानीयले देवताको सेवाचाकरीमा नै समय बिताउने गर्छन्,’ उनले भने ।

  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १३:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया