सुदूरपश्चिम : भारतबाट फर्किने बढेसँग दैनिक उकालो लाग्न थाल्यो कोरोना संक्रमणदर

भारतको दिल्ली, कर्नाटक, गुजरातलगायतका सहरमा कोरोना भाइरसको नयाँ भेरियन्ट अमिक्रोन संक्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको संख्या पनि बढेको छ ।

कैलालीसँगै जोडिएको गौरीफन्टा नाकामा राखिएको सशस्त्र प्रहरी पोस्टका अनुसार ३ दिनयता दैनिक रूपमा भारतबाट नेपाल आउनेको संख्या बढेको हो । पुस महिनामा गौरीफन्टा नाकाभएर ६ हजार ५ सय ८ जना भित्रिएका छन् ।

सुदूरपश्चिम मनाइने माघी पर्वलाई लक्षित गरी पनि धेरै आइरहेका छन् । तीन दिन अगाडि दैनिक २ सय ५० देखि ३ सय आएको तथ्यांकले देखाएको छ । ३ दिनयता दैनिक ३ सयदेखि ५ सयसम्म भित्रिरहेको सशस्त्र प्रहरीको तथ्यांकले देखाएको छ । मंगलबार मात्र गौरीफन्टा नाकाबाट ५ सय ४० जना भित्रिएका छन् ।

पछिल्लो ३ दिनमा गौरीफन्टा नाकामा राखिएको स्वास्थ्य हेल्थ डेस्कमा ६० जनामा एन्टिजन परीक्षणमा पोजिटिम रिपोर्ट आएको छ । हेल्थ डेस्कमा खटिएका ल्याब टेक्निसियन जयराज ढुङगानाका अनुसार पुस १९ गते १ सय ९६ जनाको एन्टिजन टेस्ट भएकोमा ८ जनामा पोजिटिभ देखिएको हो ।

यस्तै, पुस २० गते ३ सय ९५ जनामा एन्टिजन परीक्षण गरिएकोमा २३ जनामा पोजिटिभ देखिएको हो । यस्तै, पुष २१ गते २ सय ६५ जनामो एन्टिजन परीक्षण गरेकोमा २३ जनामो पोजिटिभ देखिएको हो ।



एन्टिजन पोजिटिभ देखिएकाहरुलाई धनगढी उपमहानगरपालिकाको कनरीमा रहेको आइसोलेसनमा राख्ने गरेको ढुङ्गानाले बताए । ‘भारतबाट आएको सबै व्यक्तिहरूको एन्टिजन परीक्षण हुन्छ’, उनले भने ‘लक्षणसहित भए सेती प्रादेशिक अस्पतालमा लिइन्छ भने लक्षण नभएकाहरू कनरी आइसुलेसनमा लिने गरेका छ ।’

गौरीफन्टा नाकामा १८ जनाको टोली खटाइको छ । २ जना कार्यालय सहयोगी, ३ जना तथ्यांक अपडेट र १४ जना स्वस्थ्यकर्मीको टोली रहेको छ । स्वस्थ्यकर्मीको टोली सिफ्टअनुसार काम गर्ने गरेको छ । पछिल्लो समय सीमा चेक जाँचमा पनि कडाइ गरेको छ ।



भारतको बैंग्लोरुबाट आएका गौरीफन्टा नाकामा भेटिएका जंगबहादुर बोहराले जति भारतमा स्वास्थ्य क्षेत्रमा कडाइ गरको छ, त्यति नेपालमा नगरिएको बताए । उनको घर डडेल्धुराको प्रशुराम नगरपालिकामा हो ।

‘भारतमा कोरोना संक्रमण फैलिन नदिनका लागि जुन रूपमा कडाइ गरेको छ । नेपालमा त्यति गरेको देखिदैन्’, बोहराले भने, ‘भारतका नागरिक सचेत भएको हुँदा पनि हुन सक्छ । नेपालमा धेरै लापरवाही गरेको देखिन्छ ।’

 प्रदेशमा फेरि बढ्न थाल्यो कोरोना

सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना संक्रमण उकालो लाग्न थालको छ । भारतबाट नेपालीहरु फर्कने क्रम बढेसंगै संक्रमण उकालो चढेको छ ।  प्रदेशमा बुधबारमात्रै ५५ जना संक्रमित थपिएका छन् ।

एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ र आरटी पीसीआर विधिबाट नौ गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारमात्रै ४० जना संक्रमित थपिएका थिए । योसँगै सुदूरपश्चिम प्रदेशभरि सक्रिय संक्रमितको संख्या १६२ पुगेको छ

प्रदेशको कैलालीमा सबैभन्दा बढी ९२, कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझाङ, बाजुरा र डडेल्धुरामा एक/एक जना सक्रिय संक्रमित रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या पनि बढ्न थालेको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ५३ जना पुगेपछि त्रास फैलिएको छ । कञ्चनपुरमा परीक्षणको नतिजा पोजिटिभ आएकामध्ये एक जना महाकाली अस्पतालको आइसोलेशनमा छन् ।

बाँकी सबै होम आइसोलेशनमा छन् । हालसम्म कञ्चनपुरमा नौ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये आठ हजार ८ सय २३ जना निको भएका छन् । कोरोना संक्रमणका कारण कञ्चनपुरमा २ सय ५ जनाको मृत्यु भएको छ ।

सीमा नाकामै खोप

भारतबाट आएकालाई गौरीफन्टा सीमामै खोप लगाउने व्यवस्था गरिएको छ । धनगढी उपमहानगरपालिकाले सीमामै कर्मचारी खटाएर मंसिर ९ गतेबाट खोप लगाइरहेको हो ।

‘भारतबाट आएका व्यक्तिले खोप लगाएको छैन् भने खोप लगाउने गरेका छौँ’, सीमामा खटिएका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले भने, ‘मंसिर मात्र एक हजार ७२ जनाको खोप लगाएका छौँ ।’

सीमा भेरोसेल र एस्ट्राजेनेका दुवै प्रकारका खोप लगाइरहेको हो । ‘पहिलो खोप लगाएकाहरूलाई दोस्रो खोप र कुनै पनि खोप नलाएकाहरूलाई पहिलो खोप लगाइरहेको हो ।’

पुस २१ गते सम्म एक हजार ४ सय ३४ जनाले खोप लगाएका छन् ।

  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १९:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया