बझाङकी हेवनले जितिन् ‘मिस एण्ड मिस्टर टिन इन्टरनेशन नेपाल’ को फोटोजेनिक उपाधि

‘मिस एण्ड मिस्टर टेन इन्टरनेशनल नेपाल २०२१’ को फोटोजेनिकतर्फ बझाङकी हेवन उपाध्याय विजेता बनेकी छन् । मंगलबार काठमाडौंमा सम्पन्न कार्यक्रममा २५ प्रतियोगीलाई पछि पार्दै फरक क्षमता भएकी हेवनले फोटोजेनिकतर्फको उपाधि हात पारेकी हुन् । 

समग्रमा उनी सो कार्यक्रममा उपविजेता बनेकी छन् ।

 समाजमा फरक क्षमता भएका व्यक्तिले केही पनि गर्न सक्दैन भन्नेहरूका लागि हेवन बलियो उदाहरण बन्न सक्ने उनका बुबा रमेश उपाध्यायले बताए ।

‘अझै पनि समाजमा फरक क्षमता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण फरक छ । उनीहरूलाई अपहेलना गर्ने, घृणा गर्ने र कार्य बोझका रूपमा लिने परिपाटी कायमै छ, यस्तो अवस्थामा हेवन उदाहरणीय पात्र बन्न सक्छिन् । उनले हासिल गरेको उपलब्धिले खुसी छौं,’ रमेशले भने ।

हेवनकी आमा शान्ति उपाध्याय समाज बदल्न स्वयम् आफू नै जाग्नुपर्नेमा जोड दिन्छिन् । उनले आफ्नो छोरीले हासिल गरेको उपलब्धिले समाजमा रहेको विभेदको खाल्डो केही हदसम्म पुर्नेमा सहयोग पुग्नेमा पनि विश्वास व्यक्त गरिन् ।



‘समाज बदल्नुपर्छ भन्ने कुरा धेरैको मुखबाट सुनिन्छ, समाज बदल्न आफूहरूबाट नै सुरु गर्नुपर्छ भनेर मुखले मात्रै ठीक्क पार्ने परिपाटी छ । तर, वास्तविक रूपमा व्यवहारमा कसैले पनि देखाएको हुँदैन,’ शान्तीले भनिन्, ‘फेरि बझाङ जस्तो दुर्गम बस्तीमा छोराछोरीबीच हुने विभेदको ठूलो खाल्डो छ । यसलाई चिर्नका लागि पनि आफूहरूले एउटै छोरीमा चित्त बुझाएका हौँ । अहिले छोरीको प्रगति गरेको देख्दा खसी छु ।’

हेवनकी आमा शान्ती स्वास्थ्यकर्मी र बुबा रमेश शिक्षण पेसामा आवद्ध छन् । जन्मजातै बोल्न र सुन्न नसक्ने हेवन नक्सालस्थित सांकेतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् । 



यसअघि हेवन ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेतासमेत बनेकी थिइन् । 

  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ७:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया