फिल्ममा अभिनय गर्न चाहनेले थिएटरमा अल्मलिनुहुन्न : विपिन कार्की

अभिनेता विपिन कार्कीले फिल्ममा अभिनय गर्न चाहनेले थिएटरतिर नअल्मलिन सुझाव दिएका छन् । उनले आफ्नो अनुभव प्रस्तुत गर्दै थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा अभिनय गर्न चाहनेले फिल्मकै माध्यम समात्न सुझाव दिएका हुन् ।

‘हामीलाई पनि सुरुमा यी दुई विधामा यतिविधि भिन्नता होला जस्तो लागेको थिएन । तर, दुवैमा व्यापक भिन्नता रहेछ । अहिले  छड्केको विन्दु हेर्दा मैले कति धेरै लाउड गरेछु भन्ने महसुस हुन्छ,’ अस्कर इन्टरनेसनल कलेज, कलेज अफ फिल्म स्टडिजका १६ औँ ब्याचका विद्यार्थीसँगको अन्तरक्रियामा विपिनले भने ।

गुरुकूल नाटक घरमा प्रशिक्षण लिएका विपिनले ‘आचार्य’ फिल्ममा सानो भूमिकामा अभिनय गर्दै ठूलो पर्दाको यात्रा सुरु गरेका थिए । ‘लुट’ मा पनि सानो भूमिकामा मै देखिएका उनले ‘छड्के’ गरेको विन्दु नामको भूमिकाले धेरैको मन जितेका थिए । तर पछि रिलिज भएको ‘पशुपतिप्रसाद’मा गरेको ‘भष्मे डन’​को भूमिकाले भने विपिनलाई अभिनयमा बहुआयामिक कलाकारको रूपमा स्थापित गरेका थिए । 

विद्यार्थीसँगको कुराकानीमा उनले आफूले गर्ने चरित्रको तयारीदेखि फिल्ममा चाहिने समर्पणसम्मको चर्चा गरेका थिए । आफूले निर्वाह गर्ने चरित्रमा कसरी डुब्नु हुन्छ भन्ने विद्यार्थीको प्रश्नमा विपिनको जवाफ थियो, ‘सबैका चरित्रमा पस्ने आआफ्नै तरिका हुन्छ । म चाहिँ स्क्रिप्ट कण्ठ पारेर यसको सुरुवात गर्छु । म स्क्रिप्ट कण्ठ पार्छु र यसो हुँदा मलाई चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ । यसपछि चाहिँ म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु ।’

उनले फिल्ममा करियर बनाउन जिन्दगी नै यही भनेर लाग्नुपर्ने पनि विद्यार्थीलाई सुझाएका थिए । अस्कर कलेजले कलेजमा भर्ना भएका विद्यार्थीलाई फिल्म उद्योगका अनुभवीको अनुभव सुनाउन दुई हप्तादेखि फिल्मको विभिन्न विधाका व्यक्तिलाई अन्तरक्रियामा बोलाउँदैै आएको छ ।   





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १२:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया