रिक्साचालक मुख्तार मियाँ हत्याकाण्ड : हत्याको कारण झगडा, पाँच आरोपित पक्राउ

भारतीय नागरिक मुख्तार मियाँको हत्याको कारण खुलेको छ । एउटै घरमा बस्ने अर्का भारतीय नागरिक सपन मण्डलसँग भएको झगडाका कारण उक्त हत्या भएको खुलेको हो । 

पर्साको छपकैया बस्ने उनीहरूबीच केही दिनअघि सामान्य विषयमा झगडा भएको थियो । पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार अनुसन्धानका क्रममा हत्याको मुख्य कारण झगडापछिको रिसइबी नै भएको प्रहरीले निष्कर्ष निकालेको छ ।  
अनुसन्धानका क्रममा घटनाको अर्को कारण आर्थिक रहेको पनि देखिएको खनालले बताए । 

यस्तै, हत्या घटनामा संलग्न आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सपन मण्डलसँगै पर्साको छपकैया बस्ने भारतको बिहार पूर्वी चम्पारण मोतीहारी घर भएका ३० वर्षीय सुनिल कुमार, बाराको परवानीपुर गाउँपालिका–५ का २२ वर्षीय निकेश पटेल, पर्साकै छपकैया बस्ने भारत बिहार घर भएका ३५ वर्षीय नाजिर हुसैन र छपकैया बस्ने ५० वर्षीय बाबर हुसैन रहेका रहेका छन् । 

घटनाको मुख्य अभियुक्त सपन भएको निष्कर्ष प्रहरीको छ । उनी पनि भारतीय नागरिक नै हुन् । उनको घर भारतको बिहार राज्यमा छ । तर, केही वर्षयता उनी पर्साकै छपकैयामा बस्दै आएका थिए ।

मुख्तारको हत्या घटनामा संलग्न आरोपीबाट प्रहरीले रिक्सा बरामद गरेको छ । आरोपितमध्येका सुनिलको एक थान अटो, घटनामा प्रयोग भएको फलामको रेन्ज, आरोपीहरूको दुई थान मास्क, दुई थान सर्ट र रगत लागेको एउटा ज्याकेट र रगत लागेको एक जोर जुत्ता पनि बरामद गरेको छ । 

घटना विवरण



२१ पुसको साँझ । मुख्तार मियाँ घर आएनन् । फोन गर्दा पनि उठेन । उनी प्रदेश–२–०३–००१ ह ६६९ नम्बरको इ–रिक्सा चालक थिए । 

घर नआएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा खबर आयो–‘मुख्तार मियाँ बेपत्ता छन् । खोजी गरिदिनुपर्यो ।’ लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खोजतलासका लागि टोली खटियो । 



टोलीले त्यस दिन मुख्तारलाई फेला पार्न सकेन । भोलिपल्ट २२ पुसमा पनि प्रहरी टोली खोजीमा जुट्यो र उनलाई मृत अवस्थामा फेला पार्यो । उनको शव वीरगञ्ज महानगरपालिका–२३ इटियाहीस्थित नारायणी बयोधा अस्पतालको पछाडिपट्टिको नहरमा भेटियो ।

पर्सा प्रहरी प्रवक्ता खनालका अनुसार शव हेर्दा मुख्तारको मृत्यु प्राकृतिक ठान्न सकिने थिएन । त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो ।

र, आपराधिक घटनाको अनुसन्धानमा प्रहरीले पहिलो चरणमा लिने भनेको बयान हो । सोहीअनुसार शंकास्पद व्यक्तिहरुको बयान लिने क्रममा मुख्तारको घरका सदस्यहरूबाट केही दिनअघि सपन मण्डलसँग झगडा भएको जानकारी प्रहरीले पायो ।  

अनि अनुसन्धानको सुइ सोझिया,े सपनतिर । सपन मुख्तारका छिमेकी पनि हुन् । प्रहरीले उनलाई पक्राउ गर्यो । प्रहरीको सोधपुछपछि सपनले घटनामा आफ्नो संलग्नता स्वीकार गरे । उनले घटनामा आफूबाहेक अन्य पाँचजना पनि संलग्न रहेको जानकारी दिए ।

प्रहरीले सपनसहित पाँचजनालाई पक्राउ गरेको छ । एकजना भारतीय नागरिक भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ । 
उनीहरूविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको आरोपमा मुद्दा दर्ता गराई जिल्ला अदालत पर्साबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ । 
 

  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १८:११:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया