logo-img

नेपाल रेल्वेका नयाँ कर्मचारी नहटाए चरणबद्ध आन्दोलन गर्ने निष्कासित कर्मचारीको चेतावनी

नेपाल रेल्वेका पुराना कर्मचारीले नयाँ कर्मचारीलाई अहिले दिइरहिएको तालिम तत्काल रोक्न धनुषाका प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् । पुराना रेल्वे कर्मचारीको संघर्ष समितिले नयाँ कर्मचारीको तालिम स्थगित गरी सात दिनभित्र उनीहरुलाई नहटाइए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

ज्ञापनपत्र बुझ्दै धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पूर्वकर्मचारीलाई अदालत र श्रम कार्यालयमा न्यायका लागि गुहार गर्न आग्रह गरे । 

रेल्वेका पुराना कर्मचारीहरुले बुधबार तालिम स्थलमा विरोध प्रदर्शन गरेका थिए । पुराना कर्मचारीलाई विनाजानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि उनीहरु आन्दोलित भएका हुन् ।



पुराना कर्मचारीलाई हटाएर नयाँ ५५ जनालाई नियुक्त गरी जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरूले तालिमस्थलमै गएर विरोध जनाएका हुन् ।

नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना निकालेर नवनियुक्त महाप्रबन्धकले हटाएपछि उनीहरूले आफूहरूलाई पुनः समायोजन गर्न माग गरेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दैनिक ज्यालादारीमा कामकाजमा नियुक्त गरिएका कर्मचारीलाई कुनै समन्वय नै नगरी हटाउनु आफूहरूलाई कदापि मान्य नहुने उनीहरुले बताएका छन् ।



रेल्वे सञ्चालनका लागि पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईले १५१ जना ज्यालादारी कर्मचारीलाई नियुक्त गरे पनि उनीहरुलाई नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले हटाएका थिए । 
झाले रेल्वे सञ्चालनका लागि ५५ जनालाई ज्यालादारीमा नियुक्त गरी तालिम दिइरहेका छन् ।

नेपाल रेल्वेले गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेसन मास्टरका लागि ५५ जनालाई तालिम दिइरहेको छ ।



  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १८:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया