अफगानिस्तान सामग्री पठाएर मानवीय सहायता गर्न समक्ष छौँ भन्ने सन्देश दिन्छौँ : परराष्ट्रमन्त्री
फाइल तस्वीर

ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार (भोलि) विमानमार्फत अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी गराएका हुन् ।

उनले अन्तर्राष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार सुनेपछि आफूले नेपाल सरकारले तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पारे । मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दाबीसमेत गरे ।

उनका अनुसार भोलि नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ । नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीमा औषधोपचार, लत्ता कपडा र अन्य अतिआवश्यकीय घरायसी सामान रहेका छन् ।

सामानचाहिँ हामीले भोलि हवाईजहाजमा लिएर जान्छौं र त्यहाँ भोलि संयुक्त राष्ट्र संघलाई नेपाली जनताको तर्फबाट अफगानिस्तानको जनताका लागि हस्तान्तरण गर्ने कार्यक्रम छ । मलाई लाग्छ– नेपालको इतिहासमा सबभन्दा पहिलोचोटि प्लेन नै लिएर सामान लिएर एउटा छिमेकी राष्ट्रको, छिमेकीभन्दा नि एउटा दक्षिण एशियाली संगठनको सदस्य राष्ट्रको नाताले पनि हामीले एउटा ठूलो सहयोग प्रदान गर्नेछौँ’ उनले भने ।

मन्त्री खड्काले यो सहायता सामग्री वितरणपछि नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न समक्ष भन्ने सन्देश जाने स्पष्ट पारे । उनले नेपालले विपद्मा आफूले सहायता लिने तर अरूलाई सहायता नदिने छवि सुधारका लागि पनि अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउने सोच आफूले अघि सारेको बताए ।



'संकट परेको बेला नेपालले पनि निकै ठूलो स्केलमै पनि सहयोग गर्न सक्छ भन्ने एउटा सन्देश पनि दिन्छ । जसले गर्दाखेरी नेपालको इमेज अरुबाट लिने मात्र होइन हामीले अरूलाई पर्दाखेरी दिन सक्ने क्षमता छ र त्यो संस्कार छ । हामी मनका धनी छौं । र विश्वका कुनै पनि भेगका जनता धेरै ठूलो समस्यामा पर्नु भयो भने उहाँहरूलाई सहयोग गर्नुपर्ने दायित्वको एउटा नयाँ सुरुवात हो–यो,’ उनले भने ।

नेपालले पठाउने सो सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नु परेको पनि मन्त्री खड्काले बताए । उनले त्यसका लागि संयुक्त राष्ट्र संघ, भारत सरकार, नेपालस्थित विभिन्न देशका राजदूतको ठूलो सहयोग रहेको पनि स्मरण गरे ।



संयुक्त राष्ट्र संघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरीको समस्या आउने जनाएको छ । लाखौंको संख्यामा बालबालिका खानाको अभावमा मर्ने उसले चेतावनी दिँदै मानवीय सहायताका लागि विश्व समुदायलाई अपिल गर्दै आएको छ ।

  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १८:३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया