मधेस आन्दोलनको १५ वर्ष : मधेसीले के पाए के गुमाए ?
फरकधार / ५ माघ, २०७८

आज २०७८ माघ ५ गते । आजभन्दा ठीक १५ वर्षअगाडि २०६३ माघ ५ गते सिरहाको लहानबाट मधेस आन्दोलनको सुरुआत भएको थियो । सो आन्दोलनमा मधेसका लागि सहादत दिने पहिलो सहिद बनेका थिए, रमेश महतो । महतोले सहादत प्राप्त गरेसँगै मधेस आन्दोलन चर्किएको थियो । सो दिन नेपालको इतिहासमा खासगरी मधेसी जनताको मानसपटलमा बलिदानी दिवसको रुपमा दर्ज भएको छ । 



मधेसीको पहिचान, स्वाभिमान र आत्मसम्मानका लागि रमेशले दिएको बलिदानीलाई आन्दोलनको सूत्रपातकारुपमा सम्झिइँदै आइएको छ । माघ ५ गतेको घटनाले सिर्जना गरेको मधेस आन्दोलन नेपाललाई संघीय मुलुकमा रुपान्तरण गर्न कोसेढुंगा साबित भयो । बितेको १५ वर्षमा मधेस र देशले माघ ५ को जगमा धेरै कुरा पाएको छ । 

यसले नेपालको राजनीतिमा नवीन युगको सू​त्रपात गरेको छ, जसमा उत्पीडित र सीमान्तकृत समुदायको प्रतिरोधको राजनीतिले नयाँ उचाइ र नयाँ आत्मविश्वासका साथै मुलुकले संघीय स्वरुप प्राप्त गरेको हो । मधेसीको पहिचान राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमासमेत स्थापित भएको छ । देश र मधेसको ऐतिहासिक राजनीतिक परिवर्तनका लागि वीर मधेसीहरुको बलिदानीलाई उच्च सम्मान गर्दै हरेक वर्ष बलिदानी दिवस मनाइँदै आएको छ । 



प्रथम मधेस विद्रोहको आज १५औँ वर्ष । २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान जारी भयो । संघीयता र समावेशीताविनाको संविधानको विरोधमा मधेसीहरुले माइतिघरमा २ गते संविधान जलाए । संविधान जलाउने मधेसीहरु पक्राउ परे । त्यसैको निहुँमा माघ ३ गतेबाट मधेस बन्द भयो र ५ गते प्रदर्शनका क्रममा सिरहाको लहानमा रमेश महतोको प्रहरीको गोलीले मृत्यु भयो । त्यसपछि मधेस आन्दोलनमय भयो । माघ ५ लाई मधेसीहरुले मधेस बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् र मधेस विद्रोहको सम्झना गर्ने गरेका छन् । २१ दिनसम्म चलेको मधेस विद्रोहमा ५४ जना सहिद भए । 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुईपटक जनताको नाममा सम्बोधन गरेपछि विद्रोह रोकियो । प्रदर्शन रोकिएको महिनौँपछि सरकारले उपेन्द्र यादव नेतृत्वको फोरमसँग २२ बुँदे सम्झौता गर्यो । 

नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम र तत्कालै गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टीको नेतृत्वमा दोस्रो मधेस आन्दोलन पनि सुरु भयो । दोस्रो संविधान सभाबाट संविधान जारी गर्न लाग्दा तेस्रो मधेस आन्दोलन भयो । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वमा तयारीका साथ तेस्रो मधेस आन्दोलन भएको थियो । प्रदर्शनकारीहरु ठूलो संख्यामा मारिन थालेपछि प्रदर्शनकारीहरुले नेपाल–भारतको सीमा क्षेत्रमा बसेर नाका अवरुद्ध गरे । यसलाई भारतीय नाकाबन्दीका रुपमा पनि चिनिन्छ ।

मधेस विद्रोहको यस १५ वर्षको अवधिमा मधेसीले के गुमाए र के पाए भन्ने कुराको विश्लेषण पनि आवश्यक छ । 

मधेसीले के गुमाए ?

मधेस विद्रोहमा मधेसमा बसोवास गर्ने सम्पूर्ण जात, समुदाय आन्दोलनमा होमिएका थिए । तर, १५ वर्षको बीचमा मधेसमा जातीय ध्रुवीकरण बढेको छ । मधेस विद्रोहपछिको ‘थरुहट आन्दोलन’ले मधेस आन्दोलनको शक्तिलाई कमजोर बनाएको छ । यहाँसम्म कि माओवादी र एमाले–कांग्रेस थरुहट आन्दोलनमा बाडिँदा अहिलेसम्म पनि थारुहरुले थरुहट आन्दोलनका लागि दुईवटा शब्द प्रयोग गर्छन् । कांग्रेस–एमाले निकटहरुले ‘थरुहट आन्दोलन’ र माओवादी निकटहरुले ‘थारुवान आन्दोलन’ । 

मधेस आन्दोलनमा होमिएका थारुहरु पुनः थरुहट आन्दोलनमा होमिए । थारुहरुको पहिचान संकटमा पर्न लागेको वक्तव्य एमाले र माओवादीका नेताहरुले दिएका थिए । त्यसपछि घीनभूत रुपमा थारुहरुले आन्दोलन अगाडि बढाए । उनीहरु आफू ‘मधेसी’ नभई ‘थारु’ हुँ भन्दै आन्दोलनमा उत्रिए । मधेसभित्रको थारु र गैरथारु बीच तनाव उत्पन्न हुँदा राज्यले न त थारुको माग सम्बोधन गर्यो न त मधेसीको नै ।  

त्यस्तै, धार्मिक अल्पसंख्यक मुस्लिमलाई पनि राज्यले अलग्यायो । जबकि पहिलो मधेस विद्रोहमा सुरक्षाकर्मीबाट चारजना मारिएका थिए । तेस्रो मधेस आन्दोलनमा पनि तीनजना मारिएका थिए । 

प्रथम मधेस विद्रोहपश्चात् मधेसीबहुल भूगोल खुम्चिएको छ । पहिलो मधेस विद्रोहको नारा ‘एक मधेस एक प्रदेश’ थियो । तर, हाल मधेसको भू–भाग ७ वटा प्रदेशमा रहेको छ । जसमा एउटा प्रदेशबाहेक अन्य कुनै प्रदेशमा मधेस विद्रोह पक्षधरको शासन छैन । तत्कालीन २२ र हालको २३ जिल्लामा रहेको मधेसलाई ८ जिल्लामा खुम्च्याइएको छ ।

समावेशी मर्मलाई समाप्त पार्नेगरी सबैलाई समावेशी कोटामा ल्याइएको छ । अर्थात् ‘सबैका लागि आरक्षण, कसैका लागि पनि होइन’ भन्ने सिद्धान्त । मधेसको आधुनिक राजनीति संघीयताको मागबाटै सुरु भएको हो । तर, संघीयता आएपनि अधिकांश अधिकार केन्द्रमै राखिएको छ । स्रोतसाधन पनि केन्द्रकै नियन्त्रणमा छ ।

प्रथम मधेस विद्रोह हुँदा आत्मनिर्णयसहितको मधेस प्रदेश माग गर्ने पक्षधर निकै बलियो भएर आएका थिए । सोहीअनुसार राजनीतिक दल सक्रिय भए र प्रथम संविधान सभामा ठूलो संख्यामा मधेसी समुदायको प्रतिनिधित्व भएको थियो । तर, अहिले संख्या घटेको छ ।

२०६१ सालमा सशस्त्र संघर्षबाट मधेस स्वतन्त्र देश बनाउन जयकृष्ण गोइतले आन्दोलन सुरु गरेका थिए । मधेस विद्रोहताका त्यो शक्ति बलियो थिएन । यति गुमाउँदा पनि मधेस विद्रोहपछि मधेसीहरुले केही उपलब्धि पनि हासिल गरेका छन् ।

सन् १८१६ र १८३६ को सन्धिको आधारमा मधेसको भू–भाग नेपालमा गाभियो । सन्धिमा मधेसीसँग नेपाली शासकले बदला नलिने वा विभेद नगर्ने उल्लेख भएको थियो । तर, व्यवहारमा मधेसीले न्याय महसुस गर्न नपाएपछि मधेसमा संघर्ष सुरु भयो ।

मधेसमा भकारी फोर आन्दोलन, मधेसीलाई दबाउने प्रवृत्तिका विरुद्ध ‘मोछ उखाड’ आन्दोलन भयो । त्यसपछि किसान आन्दोलन र स्वतन्त्र मधेस आन्दोलन पनि भए । तर, ती सबै आन्दोलन कुनै निष्कर्षमा पुगेनन् । संघर्ष जारी रह्यो ।  २०१० सालताका तराई कांग्रेसको स्थापना मधेस राजनीतिको मध्यकालीन समय मान्न सकिन्छ । यसपछि २०४७ बाट मधेस आधुनिक राजनीतिमा प्रवेश गर्यो । जसले निरन्तर र संशक्त संघर्ष गर्न सिकाएको छ ।

मधेस विद्रोहको १५ वर्षमा मधेसीहरुले आफ्नो अधिकार र राज्यका विभेदका विरुद्ध संघर्ष गर्न सिकेका छन् । सामान्य अधिकार पाउन पनि आन्दोलन चाहिन्छ भन्ने मानोविज्ञान मधेसीमा बसेको छ । मधेस विद्रोहको यस १५ वर्षमा मधेसीमा राजनीतिक सचेतना बढेको छ । राजनीतिक विषयवस्तु बुझ्न थालेका छन । सत्ताका आयामहरुलाई पनि पहिचान गरेका छन् । त्यस्तै राजनीतिकर्मीहरुले पनि सत्ताको स्वाद भोग गरेका छन । जसकारण उसले सत्ता साझेदारीमा जोड दिँदै छन् । 

युवावर्गमा पनि राजनीतिक सचेतना बढेकोले अहिले गाउँघर टोलमा कुनै पनि घटनामाथि बहस हुने गरेको छ । 

मधेस विद्रोहअघि कतिपयले आफूलाई मधेसी भन्न रुचाउँदैनथिए । काठमाडौंमा मधेसी भाषा बोल्न पनि डराउँथे । तर, आज मधेसीहरुले गर्वका साथ भन्छन् म मधेसी हुँ । झन् प्रदेश २ को नाम नै मधेस प्रदेश दुई तिहाइभन्दा बढी मतले प्रदेशसभाबाट स्वीकृत भएको छ । मधेसको पहिचान अब अन्तर्राष्ट्रियस्तरमा पनि चिनिएको छ । 

मधेस विद्रोहले नेपालको पहिचान फेरेको छ । माउन्ट एभरेस्टको देश मात्र होइन, प्लेन ल्याण्ड मधेसको देश भनेरसमेत नेपाल चिनिन थालिएको छ ।

बेलायत र भारतका पुस्तकालयमा धुलोमैलो खाएर बसेका मधेसका दस्ताबेज अब विश्वका अधिकांश पुस्तकालयमा पाउन थालिएको छ । मधेस विद्रोहपश्चात् आधुनिक र वैकल्पिक राजनीति एकसाथ हिँड्न थालेको छ । दोस्रो मधेस आन्दोलनताका मधेसी मुलधारका राजनीतिक दलले मधेसका सशस्त्र समूहलाई देखाएर बार्गेनिङ शक्ति बढाएका थिए । आफूहरुले भनेको जति कुरा नमाने सशस्त्र समूहले मधेस कब्जा गर्ने तर्क उनीहरुले गर्थे । जसको आडमा केही हदसम्म मधेसी राजनीतिक दलले ठूलै भाग पाए ।

अहिले पनि मधेसमा अर्को वैकल्पिक राजनीतिक शक्ति बनेको छ । तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि तेस्रो मधेस आन्दोलनताका गरेको ३६ पटकको वार्तामा कैयौँपटक डा. सिके राउतको चर्चा गरेका थिए । मधेसमा राजनीतिक दलहरु संगठित एवं सशक्त भएका छन् । लोकतन्त्र तथा संवैधानिक प्रक्रियालाई अपनाएका छन् । सामाजिक परिवर्तनहरु पनि आएका छन् । समावेशी र संघीयता कार्यान्वयन भएको छ । यही नै मधेसीका लागि १५ वर्षमा भएको मूल उपलब्धि हो ।

के भन्छन् सहिद परिवार ?

मधेस आन्दोलनका सहिद दिलीप यादवका पिता रामनरेश यादव आफू विदेशमै कार्यरत छँदा आफ्ना १६ वर्षीय छोरालाई गुमाएको थाहा पाएपछि नेपाल फर्के । पाँच सन्तानमध्ये एक्लो सहाराको रुपमा रहेको छोराले मधेस आन्दोलनमा बलिदानी दिए पनि अहिलेसम्म कुनै मधेसी नेता आफूकहाँ सोध्न समेत नआएको उनको गुनासो छ । उनका अनुसार मधेस आन्दोलनको समयमा सहिद भएकाहरुको परिवारलाई ५० लाख दिने घोषणा गरिए पनि नेपाल सरकारले दिएको १० लाखपछि अरु एक रुपैयाँको सहयोग नपाएको उनी बताउँछन् । सहिदहरुकै कारण मधेस सरकार गठन भए पनि मधेस सरकारले आफूहरुप्रति केहि नसोचेको यादवको गुनासो छ ।

यसैगरी अर्का सहिद नितु यादवकी आमा राजकुमारी देवी यादव पनि मधेस आन्दोेलनमा आफ्नो सन्तानलाई गुमाउँदा पनि सरकारले कुनै किसिमको सहयोग नगरेको गुनासो गर्छिन् । आफूहरुलाई कुनै किसिमको प्रत्यक्ष आर्थिक सहयोग नचाहिएको, तर जीवित रहेका आफ्ना एक सन्तान र बुुहारीलाई जागिर लगाइदिए आफ्नो बुढेसकाल सुखसँग कट्ने उनको अपेक्षा छ । 

के भन्छन् मुख्यमन्त्री ?

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग मधेस आन्दोलनमा सहिद भएकाहरुको परिवारलाई घोषणा गरिएअनुरुप ५० लाख किन दिनुभएन ? भन्ने प्रश्न गर्दा उनले केही कथित मिडियाले ५० लाख दिने भन्ने हल्ला फिँजाएको प्रतिक्रिया दिए । 

२०६३ सालयता मनाइँदै आएको बलिदानी दिवस प्रदेश सरकारले यस वर्ष सप्तरीको राजविराजमा विशेष समारोहको आयोजना गरेर मनाएको छ । बलिदानी दिवसका क्रममा मधेसका ५८ सहिद परिवारलाई प्रदेश सरकारले ३–३ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरेको छ । 

मधेस आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा पहिलोपटक सिरहाको लहानमा, दोस्रोपटक पर्साको वीरगन्जमा र तेस्रोपटक धनुषाको जनकपुरधाममा बलिदानी दिवस मनाएको मधेस सरकारले यसपटक भने सप्तरीको सदरमुकाम राजविराजमा मनाएको छ ।

बलिदानी दिवसको अवसरमा सहिद परिवारहरुलाई जनही ३ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । उनले सहिद परिवारलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले सो रकम प्रदान गरिएको जानकारी दिए ।

मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुलाई पनि आर्थिक सहयोग उपलब्ध गराइएको मन्त्री साहले बताए । उनले घाइतेको अवस्था हेरी २५ हजारदेखि ३ लाखसम्म रकम प्रदान गरिएको जानकारी दिए ।

११७ जनाको सहादत

मधेस आन्दोलनका क्रममा हालसम्म ११७ जना सहिद भएको तथ्यांक छ । २०६३–०६४ मा ५४ जना, २०७२–०७३ मा ५६ जना, २०७३ मा ५ जना (सप्तरी) र २०७४ मा २ जनाले सहादत प्राप्त गरेका छन् । 

२०६३ सालको मधेस विद्रोहको क्रममा जनकपुरधाममा मात्रै जनकपुरधाम उपमहानगरपालिका–१४ का कारी ठाकुर, गणेशमान चारनाथ नगरपालिकाका ब्रम्हदेव ठाकुर, जनकपुरधाम–४ का राजेश ठाकुर र धनुषाधाम नगरपालिकाका बाबुनारायण यादवले सहादत प्राप्त गरे । २०७२ सालको मधेस विद्रोहको क्रममा लक्ष्मीनिया गाउँपालिका–१ अरेरवाका दिलीप यादव, जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाका नितु यादव र क्षीरेश्वरनाथ नगरपालिकाका सञ्जय चौधरीले सहादत प्राप्त गरेका थिए । 

  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार २१:३६:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया