काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली किन ?
फाइल तस्बिर

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरिएको बताएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्नुपरेको बताए । सवारीसाधनको जोर-बिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको उनले बताए ।

‘भीडभाडजन्य क्रियाकलाप र गतिविधिको कारणबाट कोभिडको संक्रमण फैलावटमा मद्दत गरिरहेको र यसलाई न्यूनीकरण गर्नलाई समस्या भएको भन्ने विश्लेषण हो । यसका साथै अत्यावश्यक काममा हिँड्डुल गर्ने कुरा त आफ्नो ठाउँमा स्वभाविक रूपमा छ । तथापि, संक्रमणको यो स्तरको वृद्धि हुँदा पनि सामाजिक रुपमा त्यसले अझ पनि मानिसको आवत्जावत्, हिँड्डुल, भीडभाड अझ पनि नघटिरहेको अवस्था देखिएपछि यो सवारी साधनको व्यवस्थापनको पाटोबाट यसलाई जोर-बिजोरको हिसाबले गएको हो र यसले अत्यावश्यक काममा जानुपर्नेबाहेक अन्य मान्छेहरूको गतिविधिलाई, भीडभाडजन्य गतिविधि, क्रियाकलापलाई केही हदसम्म निरुत्साहित गर्छ भन्ने यसको मक्सद हो’ उनले भने ।

सवारी साधनमा जोर-बिजोर प्रणाली लागू भए पनि उपचारलगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा नपार्ने उनले स्पष्ट पारे । यसको निम्ति प्रशासन छलफलमा रहेको उनले जानकारी दिए । सवारी साधनको चापका कारण भीडभाड न्यूनीकरण नभएको र संक्रमण बढिरहेको सहायक प्रजिअ अधिकारीले बताए । सवारी साधन कम चल्दा भीडभाडजन्य गतिविधि कम हुने उनले उल्लेख गरे ।

‘अत्यावश्यक काम पर्ने, उपचारका लागि जाने, अत्यावश्यक सेवा प्रवाहको लागि जानेको हकमा चाहिँ समस्या छैन । त्यस विषयमा हामी छलफल पनि गर्दैछौँ । अन्य हिँड्डुल गर्ने, घुमफिर गर्ने, बजार घुम्ने, यो बेलामा आवश्यक छैन, यो बेलामा गतिविधि नगर्दा पनि हुने खालका गतिविधि पनि सवारी साधनको चापसँगै भीडभाड न्यूनीकरण नभएको अवस्था विद्यमान छ । उपलब्धताले नै मानिसहरुको भीडभाड अझ वृद्धि भएको भन्ने नै हो । जति सवारी साधन भए त्यति मानिसको चहलपहल अझै बढ्दै गएको र संक्रमणको वृद्धि यो स्तरसम्म आइपुगेको छ है भन्ने अझ पनि मानिसमा धारणा नबनिसकेको देखियो । त्यसकारण अत्यावश्यक काममा हिँड्ने नागरिकलाई अहिले पनि अप्ठ्यारो, बाधा छैन । सवारी साधनको सीमिततालाई भीडभाडजन्य गतिविधिमा निरुत्साहन हुन्छ, नियन्त्रण हुन्छ भन्ने हाम्रो बुझाइ हो,’ उनले भने ।

प्रशासनले दिएको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन गरिरहेको सहायक प्रजिअ अधिकारीको भनाइ छ । आदेशको पालना गर्ने पहिलो जिम्मेवारी र भूमिका नागरिककै हुने भएकाले आदेश पालना गर्न पनि उनले आग्रह गरे ।





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १४:०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया