राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एक मत खस्न बाँकी, आजै मतगणना हुने

सुदूरपश्चिम प्रदेशमा मतदान कार्य लगभग सम्पन्न भएको छ । राष्ट्रियसभा सदस्यका लागि बुधबार बिहान ९ बजेबाट सुरु भएको मतदानमा दिउँसो २ बजेसम्म दुई सय २६ जनाले मतदान गरेका छन् । प्रदेशमा दुई सय २७ मतदाता हुन् ।

 प्रदेश निर्वाचन कार्यालय, धनगढीका कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार अहिलेसम्म ५२ जना प्रदेशसभा सदस्य तथा एक सय ७५ स्थानीय तहका प्रतिनिधि (मतदाता) मध्ये एक सय ७४ जनाले मतदान गरिसकेका छन् । ‘दिउँसो तीन बजेसम्म मतदानको अवधि छ,’ उनले भने, ‘दार्चुलाको महाकाली नगरपालिकाका मेयर मतदानका लागि आउन बाँकी छन् ।’ 

कोरोना संक्रमणलाई दृष्टिगत गरी स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गराइएको उनले बताए । सुदूरपश्चिम प्रदेशबाट तीन जना राष्ट्रियसभा सदस्यका लागि ६ जनाको उम्मेदवारी छ । नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तीन दलीय गठबन्धनबाट तीन जना र प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट तीन जना उम्मेदवार रहेका छन् ।

गठबन्धनबाट अन्यतर्फ कांग्रेसका नारायणदत्त मिश्र (कैलाली) महिलातर्फ नेकपा (एकीकृत समाजवादी) का मदनकुमारी (गरिमा) शाह (कैलाली) र दलिततर्फ नेकपा माओवादी केन्द्रका जगत पार्की (डडेल्धुरा) उम्मेदवार रहेका छन् ।

त्यस्तै, नेकपा एमालेबाट अन्यतर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीका सन्तोषकुमारी शर्मा थापा र दलिततर्फ बैतडीका नरेश विक उम्मेदवार रहेका छन् ।

प्रदेशमा खुला, महिला र दलिततर्फको राष्ट्रियसभा सदस्यको एक–एक सिट आगामी फागुनदेखि रिक्त हुँदै छ ।



सुदूरपश्चिम प्रदेशमा ८८ वटा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षसहित एक सय ७५ र ५२ जना प्रदेशसभा सदस्य रहेका छन् । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएका कारण र प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित झपटबहादुर बोहरा (अछाम) एमालेमा प्रवेश गरेपछि दुई स्थान (मत) रिक्त छन् ।

प्रदेशमा मतदाता संख्या र मतभारका दृष्टिकोणले गठबन्धनसँग पूर्ण बहुमत छ । प्रदेशसभा र स्थानीय तहको गरी गठबन्धन दलको मतख्या १४४ रहेको छ भने मतभार ३८३२ रहेको छ ।



राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०६५ को दफा ५६ मा प्रदेशसभा सदस्यको मतभार ४८ र गाउँपालिका/नगरपालिका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखको मतभार १८ हुने व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एस) का सबैभन्दा बढी सदस्य रहेका छन् । नेकपा (एस) का १४, माओवादी केन्द्रका १३, कांग्रेस १२ र जसपा र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक सदस्य रहेका छन् । मतसङ्ख्याका आधारमा प्रदेशसभा गठबन्धन दलको कुल संख्या ४० रहेको छ ।

प्रदेशसभा सदस्य मतभारका दृष्टिले सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) को मतभार ६७२ रहेको छ । त्यस्तै, माओवादी केन्द्रको ६२४, कांग्रेसको ५७६ र एमालेको मतभार ५२८ रहेको छ । जसपा र लोसपाको मतभार ४८/४८ रहेको छ । प्रदेशसभामा सत्ता गठबन्धन दलको कुल मतभार १९६० रहेको छ । 

प्रदेशका ८८ वटा स्थानीय तहका १७५ मतदातामध्ये कांग्रेसका ७४ मतदाता रहेका छन् । त्यस्तै, एमालेका ७१, माओवादी केन्द्रका १७ र नेकपा (एस) का १३ जना मतदाता रहेका छन् । गठबन्धन तीन दलको स्थानीय तहमा कुल मतदाता सङ्ख्या १०४ रहेको छ ।

स्थानीय तहमा मतभारका दृष्टिले पनि कांग्रेस सबैभन्दा अगाडि रहेको छ । प्रदेशमा स्थानीय तहमा कांग्रेसको मतभार १३३२ रहेको छ भने एमालेको १२७८ रहेको छ ।

त्यस्तै माओवादी केन्द्रको ३०६ र नेकपा (एस) को २३४ रहेको छ । स्थानीय तहमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि गठबन्धन तीन दलको मतभार १८७२ रहेको छ ।

  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १४:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया