विचार
प्रधानमन्त्री ओलीलाई प्रश्नैप्रश्न

प्रधानमन्त्री केपी शर्मा ओली ज्यू,

साँच्ची तपाईंले के जवाफ दिँदा बुद्धिजीवी थला पर्छन् भन्नुभएको हो ? तपाईंलाई थाहा त छ, तपाईंले जवाफ दिने प्रश्नहरु के हुन् ? तपाईं बुझ्नु त हुन्छ, प्रश्न किन उठिरहेका छन् ? आफ्नै शासनले जन्माएका कठोर प्रश्नहरुको सामना गर्न तपाईं साँच्चै तयार हुनुहुन्छ ?

भर्खरै युनिभर्सल पिस फाउन्डेसनले तपाईंलाई एक लाख डलरको पुरस्कार (बक्सिस ?) किन दिएको होला ? के मुलुकको प्रधानमन्त्रीले कुनै मिसनरी संस्थाको कार्यक्रममा तीन दिनसम्म धर्ना कसेर बस्न सुहाउँथ्यो ? मन्त्रीपरिषदबाट अनुमति नलिई त्यस्तो विवादित पुरस्कार लिन मिल्थ्यो ? पुरस्कारको नियत सार्वजनिक भैसकेपछि आत्मालोचना गरेर फिर्ता गर्नुको साटो अर्को कोषको नाममा गैरकानूनी चिजलाई कानूनी करार गर्न पाइन्छ ? जिम्मेवारी र हैसियत प्रधानमन्त्रीको उपभोग गर्ने तर काम स्वच्छन्द व्यक्ति जस्तो गर्ने कुरोको कतै छेकछन्द मिल्छ त ?

छेकछन्द त ‘नयाँ युग’ आएको पाल्सी पोस्टरमा आफ्नो फोटो टाँसेर विज्ञापन गर्दा नि मिलेको हो र प्रधानमन्त्रीज्यू ? नांगै उभिँदा पनि लुगा लाएको देख्ने चाटुकारबाहेक नयाँ युगको आभास पाउने कुनै एउटा नेपाली भेट्नुभएको छ ? जनताको करोडौं रुपैयाँ खर्च गरेर टाँसिएको तपाइँकै तश्विर हो त त्यो नयाँ युग भनेको ? शिक्षा र स्वास्थ्यसेवा जस्ता चिज निशुल्क गर्दा पो सामाजिक सुरक्षा हुन्थ्यो कि भन्ने किन लागेन तपाईंलाई ? नेपालका अधिकांश श्रमिक अनौपचारिक क्षेत्रमा छन् र उनीहरु तपाईंको तश्विरवाला सामाजिक सुरक्षा कार्यक्रममा समेटिँदैनन् भन्ने अर्थशास्त्रीका कुरा सुन्नुभएको छ ? अनि थप एउटा इन्सुरेन्स कम्पनी खोलेर कसरी दिनुहुन्छ श्रमिकलाई सामाजिक सुरक्षा ?

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा कता पुग्यो कुन्नि ? तपाईंले शासन गर्न थालेको ९ महिना बित्यो भन्ने ख्याल छ कि छैन प्रधानमन्त्रीज्यू ? हिजोआज तपाईंको वातानुकुलित गाडी खाल्डाखुल्डी भएका बाटामा पनि हिँड्छन् कि सबै खाल्डा पुरिइसके ? चुनाव जित्नेबित्तिकै हेलिकप्टर चढेर रसुवागढी गएको याद आउँछ कि नाइँ ? चीनको रेल आउँछ भनेर सिउर हल्लाएको बिर्सनुभो कि ? भारतले रेल गुडाइदिने आशमा मोदीको जयजयकार मनाएका यादहरु राष्ट्रवादको धुलोमा उडेर बिलाए कि ताजै छन् ? अनि घरघरमा पाइपबाट ग्यास पुर्याउने गफ हिजोआज फुर्छ कि फुर्दैन कुन्नि ? गोबरग्यास उद्घाटन गरेर घरघरमै ग्यास पुर्याउन शुरु गरिएको भाषण कतिजनाले पत्याए जस्तो लाग्छ तपाईंलाई ?

समृद्धि त पानी नपाएर प्याकप्याक परेको पानीजहाज भैसक्यो नि होइन र ? बरु यति छोटो समयमा यति धेरै काण्डहरु तपाईंकै पालामा किन भएको होला नि ? निर्मला हत्याकाण्डमा प्रहरीले शव धोइपखाली गरेको भिडियो हेर्नुभयो त ? निर्मलाका बलात्कारी र हत्यारा पत्ता लाउन नसकेर कहिले के कहिले के नाटक गरिरहेको प्रहरी तपाईंकै हो नि हई ? कि आम जनताको पनि हो ? दर्जनौं प्रदर्शन, प्रहरीको गोलीले एक किशोरको हत्या, एक अर्धचेत, अरु घाइते, कलाकारहरुका अनेक कलाकृति, कविका कविता आदिआदि अनेक तरिकाले निर्मलाका निम्ति न्याय मागेर महिनौं बित्दा तपाईंलाई किञ्चित लज्जावोध हुँदैन प्रमज्यू ?



ए साँच्ची, वाइडबडी जहाजको कुरो चैं के हो ? टेन्डर नै ननिकाली अरबौंको जहाज झोले कम्पनीबाट सिधै किनेको कुरो छ नि ? अझ बिक्रीकर्ता भनिएको कम्पनीले भाडामा दिएको भनेको छ त ? महालेखा, अख्तियार, लेखा समिति सबैतिर प्रश्न उठ्दा तपाईं किन मौन ? अनि उडाउने गन्तव्य, योजना केही स्पष्ट नभै जहाज किन्न मात्र किन त्यत्रो हतार परेको होला ? यो किन्ने कुरामा कमिशनले ठूलो हुटहुटी पार्छ रे, हो ? नत्र अरबौं हालेर किनेको जहाज थन्किएर किन बसेको छ ? घाटा बेहोर्दै नयाँ जहाज ग्राउन्ड गरिराख्नुको तर्क के होला ? जाबो दुईवटा जहाज किनेर उडाउने टुँगो नहुनेले निजगढ विमानस्थललाई अन्तराष्टिय उडानको हब बनाउने गफ छाँटेपछि कसैले पत्याउँछ त ? लाखौं रुख काटेर, छँदाखाँदाको जंगल मासेर त्यो अर्को ठूलो परियोजनाको परिकल्पना गर्नेले कुनै ढंगको कुरो नि सोच्या होला कि कमिशन मात्र प्रमज्यू ?

परनिर्भरता घटाउँदै लैजाने कुरो पनि पो थियो क्यारे हई ? परनिर्भरता कसले हटाइदिन्छ प्रमज्यू ? विश्वबैंक र एडिबीको ऋणले ? चीन र भारतको रेलले ? कि नेपालको झण्डा फहराएको पानीजहाजले ? किसान त अपमानित छ हैन र यो देशमा ? आफ्ना छोराछारीलाई कृषिमा उत्पादनशील काम गरेर इज्जत बढ्छ भनेर कसैले भन्नसक्छ त तपाईंको शासनमा ? बरु झोलामा खोला र फाइलमा कृषि प्रोजेक्ट गर्नेहरु नै तपाईंको शासनमा धेरै सुरक्षित छन् अरे भन्ने सुनिन्छ नि ? शिक्षा र स्वास्थ्यलाई पनि खुला हाटबजारमा छाडेपछि हाइसन्चो हुन्छ भन्ने तपाईंजस्ता नेतालाई त उहिले नै थाहा थियो होला, कि कसो ? निजिकरणलाई थप विकास गर्नमा आफ्नो योगदानको कदर गरिदिउन् भन्ने पनि तपाईंको इच्छा हो क्यारे, हैन त ?



संघियता पटक्कै मन नपरे पनि संघियता संस्थागत गर्ने पहिलो सरकारको प्रधानमन्त्री हुँदा कस्तो लागिरहेको छ त ? घरिघरी रिस उठ्छ होला हई ? प्रदेशलाई भन्दा धेरै बजेट आफ्नै कार्यालयमा राखेर तपाईंले संघियता कमजोर पार्न खोजेको नै हो नि, हैन र ? प्रदेशहरुलाई पंगु बनाइसकेपछि अब अर्को स्टेप के हो त प्रमज्यू ? कति कुरा जाल गरेर गर्नु भन्दा भनेरै गर्नु ठिक हो नि होइन र ? सिडिओहरुलाई शक्तिशाली बनाउँदैहुनुहुन्छ रे हो ? तपाईं जस्तो शक्तिशाली प्रमले मूख्यमन्त्री र प्रदेश संसदलाई टेर्ने कुरो आउँछ त ? केन्द्रलाई बलियो बनाउने र अझ आफ्नै खोपीलाई बलियो बनाउने काम कतिको फाइदाजनक होला ? मन्त्रीहरुलाई भन्दा सचिवहरुलाई निर्देशन दिन सजिलो भएको कि बालुवाटारमा शक्ति केन्द्रित गरेको ? परम्परागत केन्द्रमै सबै शक्ति राख्ने भए प्रदेश किन चाहियो ? संघियता खारेज गर्ने नै अन्तिम चाहना हो तपाईंको ?

भारतविरोधी राष्ट्रवाद चैं कहाँ पुग्यो त प्रमज्यू ? भारतसँगको व्यापारघाटा कति घट्यो ? निर्यात वृद्धि गर्न कस्ता कदम चालिए ? कृषिउत्पादन बढाउन के के नीति बनाइए ? विदेशी ऋण, अनुदान र विदेशी ठेकेदारको चलखेल मात्र किन बढिरहेको हो मुलुकमा ? मोदीको सिको गर्दै ज्याकेट विज्ञापनमा फोटो छापेपछि भारतसँगका सबै समस्या समाधान भएका हुन् ? वैदेशिक रोजगारीमा जाने युवालाई यतै रोक्ने कुरो थियो, के गर्ने भैयो त त्यसका लागि ? कि नेपाली श्रम बेच्न थप बिदेशी बजारको खोजी भैरहेको छ ?

तपाईंलाई थाहा छ, तपाईं प्रधानमन्त्री बनेको गणतन्त्र कसले ल्यायो ? तपाईंको बयलगाडा अमेरिका पुगिसक्यो कि गणतन्त्र सम्हाल्ने क्षमता पुगेन ? भ्रष्टाचार किन बढिरहेको छ ? सुशासनको कथा किन हास्यास्पद भएको ? कर्मचारी समायोजन गर्न समेत नसक्ने तपाईंको सरकार तपाईंको पोस्टरमै खोज्ने हो त ? जनतामा मात्र होइन तपाईंकै पार्टीका कार्यकर्तामा पनि यतिछिटो तपाईंप्रति मोहभंग किन भएको ? तपाईंका मुखाले प्रवक्ताले अपेक्षा गरे झैं मिडियाले लेखेरै तपाईंको बढाईं गरिदिनुपर्ने हो ? मिडियाप्रति उनको र तपाईंको चुटकिलो प्रहार कतिजनाले गम्भिरपूर्वक लिएका होलान् ?

तपाईं आत्तालिएकै हो त ? त्यो पनि बुद्धिजिवीसँग ? बुद्धिजीवी र बौद्धिक फरकफरक हुन् भन्ने तपाईं बुझ्नुहुन्छ ? आफ्नै वरिपरी रहेको बुद्धिजीवीको ठूलो फौज देख्नुभएको छैन ? कोट काटून कि तपाईंको कुएँत्रो लागेको कोटमा रफ्फु भरुन्, आफ्नै वरिपरी मडारिने बुद्धिजीवी किन नदेख्नुभएको ? तपाईं होइन, तपाईंले हाल नेतृत्व गरेको व्यवस्था (जो पञ्चायतकालदेखि नै तात्विक भिन्न भैसकेको छैन)को विरोधमा उभिने बौद्धिक कति छन् भन्ने ठान्नुभएको छ ? त्यस्ता एकाध बौद्धिकले तपाईंले सुखभोग गरेको व्यवस्थालाई कहिल्यै बोकेर हिँडे ?

प्रधानमन्त्री ज्यू, के तपाईंले आफैंलाई चिन्नुभएको छ ? आफ्नो टाउकोमा झुण्डिएका प्रश्नहरुको सामना गर्ने क्षमता छ त तपाईंसँग ? जनताका आँखामा भएका प्रश्न खुट्याउन सक्नुहुन्छ ? कुन प्रश्नको जवाफ दिन्छु भन्ने भ्रममा हुनुहुन्छ तपाईं ? के तपाईं ब्युँझै त हुनुहुन्छ ?

twitter: @yugpathak

  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार ११:४०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया