आयुर्वेद सेवामा बढ्दै आकर्षण, घट्दै सरकारको अपनत्व

आयुर्वेद सेवामा नागरिकहरूको आकर्षण बढ्दै गएको छ । प्रदेश आयुर्वेद औषधालय कर्णाली प्रदेशको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा वर्षेनी सेवाग्राहीहरू बढेका हुन् ।

आर्थिक वर्ष २०७५/०७६ मा २२ हजार ९० नागरिकहरूले सेवा लिएका छन् भने आर्थिक वर्ष २०७६/०७७ मा २८ हजार ३ सय ५५ जनाले सेवा लिएका हुन् ।

गत आर्थिक वर्ष २०७७/०७८ मा भने ३० हजार ४ सय ३६ नागरिकहरूले सेवा लिएको प्रदेश आयुर्वेद औषधालयको तथ्यांक रहेको छ ।

नागरिकहरूको आयुर्वेद सेवामा आकर्षण बढ्दै गए पनि सरकारको अपनत्व भने घट्दै गएको छ। संघीय सरकार मातहत हुँदा भेरी अञ्चल आयुर्वेद औषधालय सुर्खेतका नाममा सञ्चालन भएको उक्त औषधालय संघीयतापछि सुर्खेत आयुर्वेद औषधालयका नाममा सञ्चालनमा रहेको थियो ।

कर्णाली प्रदेश सरकारको २०७६ भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश आयुर्वेद औषधालय नामाकरण गरिएको हो । तर, उक्त आयुर्वेद औषधालय नाम मात्रको प्रदेश आयुर्वेद औषधालय रहेको छ ।

सुर्खेत जिल्लामा मात्रै कार्यक्षेत्र भएको र दरबन्दी समेत प्रदेश सरकारले काटिदिएको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले जानकारी दिए । 



उनका अनुसार ४१ दरबन्दी आवश्यक पर्ने भन्दै प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ भएकाे छैन ।

हाल प्रदेश आयुर्वेद औषधालयमा ८ जनाको दरबन्दी रहेको छ । आठ जनामध्ये एक जना मात्रै आयुर्वेद चिकित्सक रहेको रिजालले बताए । 



प्रदेश सरकारले आयुर्वेद औषधालयलाई चिकित्शालयका रूपमा विकास गर्न सके नागरिकहरूका लागि हित हुने उनकाे भनाइ छ ।

कार्यालय प्रमुख रिजालले कार्यालयबाट ओ.पी.डी सेवा, ४४ प्रकारका औषधिहरू निशुल्क वितरण गरिएको, प्रयोगशाला सेवा, क्षारसुत्र (पायल्स, फिस्टुला) जेष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रवर्द्धन कार्यक्रम, निशुल्क आयुर्वेद स्वास्थ्य शिविर, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम स्तनपायी आमाका लागि निशुल्क स्तन्यवर्धक औषधि वितरण सेवाहरू दिइरहेको बताए । 

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय सेवा दिने र जेष्ठनागरिक, अपागंता भएका व्यक्तिहरूलाई कार्डमा समेत रकम नलाग्ने उनले सुनाए । 

‘आयुर्वेद उपचार पद्धति मात्रै होइन’, उनले भने, ‘यो जीवनपद्धति समेत हो । त्यसैले नागरिकहरूले आयुर्वेद सेवा लिनुपर्छ ।’ 

आफूहरूले रोगीहरू बढाउनुभन्दा सेवाग्राहीहरू बढाउन चाहेको उनकाे तर्क छ । उनले आयुर्वेदले व्यक्तिको प्रकृति र अवस्था हेरी सोही अनुसारको औषधि परिचालन गर्ने जानकारी दिए। 

सुर्खेतका सिम्ता गाउँपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका, भेरीगंगा नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र र वीरेन्द्रनगर नगरपालिकामा प्रदेश आयुर्वेद औषधालयका नामबाट सेवा दिएको उनकाे भनाइ छ ।

प्रदेशभर १८ स्थानीय तहमा आयुर्वेद संस्था विस्तारित भए पनि अझै ५१ वटा स्थानीय तहमा सेवा विस्तार गर्न बाँकी रहेको रिजालले बताए ।

  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १५:४९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया