एमसिसी संसदमा टेबल गर्नु आपत्तिजनक विषय छैन : नेकपा एस

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले विवादित अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा टेबल गर्ने विषयलाई आपत्तिजनक नमाने निष्कर्ष निकालेको छ । पार्टीको आज बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ‘जबरजस्त टेबुल’ गर्न भने नदिइने बताए । प्रधानमन्त्री शेरबहादुर देउवा निरन्तर संसदमा एमसिसी टेबल गर्न दौडधूप गरिरहेका छन् । सत्तारुढ गठबन्धनकै दल एकीकृत समाजवादीले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको थिएन ।

केही दिन अघि बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा पनि अध्यक्ष माधवकुमार नेपालले देउवासँग पार्टीको बैठकसम्मका लागि समय मागेका थिए । त्यसपछि आज बसेको बैठकले यथास्थितिमा एमसिसी पारित गर्न नसक्ने तर संसदमा टेबल भने गर्ने बताएको हो ।

‘टेबल गर्ने कुराको विषयमा आपत्तिजनक विषय मानेका छैनौं । संसदमा यदी छलफल गर्नुपर्ने हो भने टेबुल नगरी पारित हुँदैन । तर यसका पूर्व केही विषय प्रष्ट हुनुपर्छ । जबरजस्त टेबुल हुनेछैन । त्यसको पक्षमा हाम्रो पार्टी लाग्ने छैन् । एउटा सहमति बन्नुपर्नेछ । संसदको अवरोध हट्नुपर्नेछ’  बैठकपछि प्रवक्ता खतिवडाले भने, ‘अनि मात्र टेबल गर्ने वातावरण निर्माण हुनसक्छ भन्ने पार्टीको धारणा छ । सबैभन्दा पहिले जबरजस्ती टेबल गर्न नदिनका निम्ति हाम्रो कोसिस रहन्छ । सहमति जुटाउन र संसदको अवरोध खुलाउनका निम्ति सबै राजनीतिक दलहरुसँग एकै प्रकारले वार्ता गरेर अघि बढ्नेछौं । जबरजस्ती कसैले केही गर्न लागियो भने के गर्ने भन्ने विषय त्यही बेलामा सचिवालयले गर्नेछ ।’





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १५:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया