logo-img

एमसिसी सकस : नेकपा एस झनपछि झन ‘लचिलो’

सत्तारुढ गठबन्धन भत्कनै लागेको चर्चा चलिरहँदा बिहीबार दिउँसो नेकपा एस (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरे ।

भेटपछि बाहिरिँदै गर्दा सञ्चारकर्मीको प्रश्नबाट तर्किँदै भनेका नेपालले भनेका थिए, ‘धेरै बोलेर कुरा बिग्रिएको छ ।’

अमेरिकी सहयोग परियोजना (एसिसी)को बारेमा मत बाझिँदा यतिबेला पाँच दलीय गठबन्धन फुटको संघारमा छ । गठबन्धन जसरी पनि जोगाइराख्नपर्ने बलियो मत नेकपा एसले राखिरहेको छ । यसबीचमा एमसिसीकै कारणले गठबन्धन टुट्नसक्ने एकीकृत समाजवादी विस्तारै हार्डलाइनबाट सफ्टलाइनतिर ढल्कन थालेको छ ।



बिहीबार सञ्चारकर्मीसँग नेपालको प्रतिक्रियाले नै केही फरक संकेत गरिसकेको थियो । शुक्रबार पनि सोही संकेतलाई टेवा पुग्नेगरी नेकपा एसकै कोटामा मन्त्री भएकी रामकुमारी झाँक्रीले प्रतिक्रिया दिइन् ।

संसद भवनबाट बाहिरिँदै गर्दा झाँक्रीले प्रधानमन्त्रीकै क्याबिनेटको मन्त्री भएकाले आफ्नो फरक मत नहुने बताइन् । एमसिसी टेबल गर्न प्रधानमन्त्री देउवाले निरन्तर दबाब बढाइरहँदा नेपाल र झाँक्रीका यी अभिव्यक्ति अर्थपूर्ण थिए ।

अनि आइतबारलाई सर्‍यो संसद...



प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बसेकै प्रतिनिधिसभा बैठकमा जसरी पनि एमसिसी सम्झौता टेबल गर्ने ‘मुड’ बनाएर बसेका थिए । अन्तिम समयमा गठबन्धनकै दल नेकपा एस (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक दिन कुर्न अनुरोध गरे ।

संसदको कार्यसूची तय हुनुभन्दा अघि नै नेपालको अनुरोधलाई देउवाले स्वीकार गरेका थिए । सोही अनुसार एउटा मात्र कार्यसूची पेश भएर एमालेको अवरोधकैबीच शुक्रबारको बैठक आइतबारसम्मका लागि सारिएको छ ।



पूर्वनिर्धारित समय अनुसार नै नेकपा एसको बैठक आज बस्यो । बैठकले यथास्थितिमा एमसिसी पारित नगर्ने स्पष्ट निर्णय गरेको छ । तर, एमसिसी संसदमा टेबुल गर्ने विषयलाई भने यो पार्टीले ‘आपत्तिजनक’ विषयमा लिएको छैन ।

‘अवरोध हटाउने कुरामा एमाले जिम्मेवार छ । कानुनत दर्ता भएको पार्टीको अस्तित्वलाई अस्वीकार गर्ने उसको लघुताभाष चिन्तन नै जिम्मेवार छ’ बैठकपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘यसका लागि हामीले उसको दृष्टिकोणको बारेमा चर्चा गर्नुपरेन । हामी कानुनअनुसार बनेका राजनीतिक दलका विरुद्धमा अर्काले सरापेर हुने कुरा होइन् ।’

नेकपा एकीकृत समाजवादीले गरेको यो निर्णयले अबको संसदमा एमसिसी टेबल हुनसक्ने सम्भावना बढाएको छ । यसअघि एमसिसीका विरुद्धमा नेकपा एकीकृत समाजवादीले विरोध प्रदर्शन गर्दै आएको थियो । यथास्थितिमा एमसिसी पारित हुन नहुने निर्णय पनि आजको बैठकमा भएको छ ।

‘फोकस एजेण्डा एमसिसी’

हुन त आजको बैठकमा एमसिसीकै बारेमा निर्णय लिने प्रण नेपालले देउवासामु गरिसकेका थिए । त्यहीकारण पनि आजको बैठकको सुरुदेखि नै एमसिसी र सत्ता गठबन्धनको विषयमा छलफल भयो । प्रवक्ता खतिवडाका अनुसार आजको ‘फोकस एजेण्डा’ नै एमसिसी रह्यो । २५ सदस्यीय स्थायी कमिटीमा आफ्नो धारणा राखेर छलफल भएपछि खतिवडाले ‘यथास्थितिमा नो एमसिसी’ भन्ने निर्णय भएको सुनाएका थिए ।

‘जनताका प्रतिनिधिहरुले यसबारेमा जानकारी नलिई नहुने, आम जनताको बीचमा बहस नगरी नहुने, यसका कानुनी समस्या र थुप्रै समस्या र विरोधाभास रहेको हुनाले र विगतमा सम्झौतालाई अनेक पटक संशोधन गरेका विगतका कुराहरुलाई हेर्दै संशोधन गरेर मात्रै राष्ट्रको हित अनुकुल बनाएर मात्र यसलाई पारित गर्न सकिन्छ भन्ने हाम्रो धारणा रहेको छ । त्यसकारण यथास्थितिमा नो एमसिसी !’ उनले भनेका छन् ।

तर, संसदमा टेबल गर्ने विषय आपत्तिजनक नभएको उनले सुनाए । ‘सहमति जुटाउन र संसदको अवरोध खुलाउनका निम्ति सबै राजनीतिक दलहरुसँग एकै प्रकारले वार्ता गरेर अघि बढ्नेछौं । जबरजस्ती कसैले केही गर्न लागियो भने के गर्ने भन्ने विषय त्यही बेलामा सचिवालयले गर्नेछ’ उनले भनेका छन् ।

त्यस्तै, यो गठबन्धन जोगाउन आफूहरु लागिपर्ने उनले बताए । ‘यो गठबन्धन जोगाउनका लागि अन्तिम तहसम्म प्रयास गर्नेछौं । पाँच दलीय गठबन्धन निर्माण हुँदा एमसिसी योजनामा थिएन । यो पारित गर्नका लागि हामीले एजेण्डा बनाएका थिएनौं’ उनले अघि भनेका छन्, ‘आजपनि एमसिसी गठबन्धनको एजेण्डाभित्र पर्दैन । गठबन्धनभित्रको एउटा दलको एजेण्डाभित्र पर्ने भएको हुनाले यो सहमतिको विषय होइन् । विगतमा धेरै पटक अमेरिकाले एमसिसी सम्झौतालाई संशोधन गरेको तपाई हामीलाई थाहा छ ।’

दबाब बढेपछि लचिलो !

पार्टीभित्रकै नेताहरुबाट दबाब बढेपछि टेबल गर्ने र त्यहीँबाट बहस अघि बढाउने कुरामा अध्यक्ष नेपाललाई दबाब बढेको थियो ।

गठबन्धन धरापमा परिरहेको अवस्थामा एमसिसीकै कारणले सरकार छाड्दा सबैभन्दा बढी घाटा आफूहरुलाई हुने भन्दै नेताहरुले नेपाललाई प्रेसर गरेका थिए । आजको बैठकमा पनि स्थायी कमिटीका केही सदस्यहरुले संसदमा टेबल गर्नुपर्ने माग राखेका थिए ।

उता, माओवादी अध्यक्ष प्रचण्डसँग नजिकको सम्बन्ध बनाएर पार्टी खोलेका नेपाललाई एमसिसी पास गर्ने निर्णय पनि सहज छैन । आजको बैठकमा पनि नेपाल केही अलमलमा परेको जस्तो देखिएका थिए । तर, झलनाथ खनालले भने एमसिसी कुनैपनि हालतमा पास हुन नहुने बलियो मत राखेका थिए ।

सत्ता गठबन्धनमा एमसिसीकै विषयलाई लिएर गडबड भएसँगै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवादमा छन । यदि एमालेसँग कांग्रेस मिलेर अघि बढेको खण्डमा सबैभन्दा बढी क्षती नेकपा एसलाई हुने र अहिले निर्वाचनको समय अघिसम्म एमसिसीबारे ‘हार्डलाइन’ प्रस्तुत गर्न नहुने तर्क नेताहरुको छ ।

  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १७:२५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया