logo-img

एमसिसी टेबल गर्ने निर्णयले झलनाथ खनाल आश्चर्यचकित !
भन्छन् : आजको बैठकमा नबोलाउनको पछाडिका कारण खोजौंला

विवादै विवादको भूमरीमा फसेको अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा टेबल गर्न अन्ततः सत्ता गठबन्धनमा सहमति जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको लामो रस्साकस्सीपछि एमसिसी आज बस्ने संसदमा टेबल गर्ने सहमति जुटेको हो । 

यसअघि सत्तारूढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा) एमसिसी यथास्थितिमा संसदमा लैजान नहुने तर्क गरिरहेका थिए । माओवादी केन्द्र र नेकपा समाजवादीले त एमसिसीको विरुद्धमा सडकमा समेत आगो दन्काइरहेको छ । 

सत्ता गठबन्धनमा सहमति जुट्न नसक्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोग खोज्न देउवा थालिसकेका थिए । बरु, गठबन्धन भत्काएरै भए पनि एमसिसी संसदमा लैजाने देउवा रणनीति बुझेपछि माओवादी, नेकपा समाजवादी र जसपा पनि लचिलो बनेका हुन् । 



शुक्रबार बसेकै बैठकबाट एमसिसी संसदमा टेबल गर्ने देउवाको तयारीलाई अन्तिम समयमा माधव नेपालले ब्रेक लगाएका थिए । आफ्नो पार्टीको शनिबार डाकिएको बैठक देखाउँदै नेपालले आइतबारसम्मको समय मागेपछि आजका लागि बैठक सरेको थियो ।

झलनाथ आश्चर्यचकित !

यसअघिका बैठकमा सत्ता गठबन्धनका नेता झलनाथ खनाललाई निम्तो आउँथ्यो । त्यही अनुसार उनी बैठकमा पनि पुग्थे । आफ्ना कुराहरू खरो भाषामा राख्थे ।



तर, आज महत्वपूर्ण भनिएको सत्ता गठबन्धनको बैठकमा उनलाई बोलाइएन । एकाएक सत्ता गठबन्धनले एमसिसी संसदमा पेस गर्ने भन्ने निर्णय गरेपछि भने उनी ‘आश्चर्यचकित’ भएका छन्। 

‘हाम्रो पार्टीले यस्तो निर्णय गरेको छैन । हिजोमात्र स्थायी कमिटीको बैठक बसेको हो । स्थायी कमिटीको बैठकले अहिले टेबल गर्ने भन्ने निर्णय गरेकै छैन । तर, यो कसरी भयो हामी आफैं आश्चर्यचकित भएका छौं’, उनले फरकधारसँग भने ।



साथै, उनले आजको बैठकमा आफूलाई नबोलाइएको पनि बताए । उनले भने, ‘आजको बैठकमा मलाई बोलाइएन । मलाई थाहापत्तो पनि दिइएन । सधैं सधैं त बोलाइन्थ्यो । म पनि जान्थेँ । पार्टीको कुरा राख्थेँ ।’

उनले आफूलाई बैठकमा नबोलाउनुको पछाडि कारण भएको हुनसक्ने बताए । 

‘आजको बैठकमा मलाई आफ्ना कुरा राख्ने अवसर पनि दिइएन । त्यसको पछाडि कारण होला। त्यो विस्तारै बुझौंला’, उनले भने ।

नेकपा समाजवादी लचिलो भएपछि...

नेकपा समाजवादीको शनिबार स्थायी कमिटी बैठक बस्यो । त्यसअघिसम्म एमसिसीबारे समाजवादीले आफ्नो धारणा प्रष्ट राख्दै आएको थियो । तर, शनिबारको बैठकपछि भने दुईथरी धारणा नेकपा समाजवादीले दिएको छ ।

पहिलो- एमसिसी यथास्थितिमा पास हुँदैन र दोस्रो- संसदमा टेबुल गर्नु आपत्तिजनक विषय होइन।  

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले यो निर्णय सुनाएपछि नेकपा समाजवादीभित्रै भाँडभैलो सुरु भयो । खतिवडाले नै दुईपटक निर्णयबारे जानकारी दिनका लागि विज्ञप्ति जारी गरे । जहाँ एमसिसी टेबुल गर्नु आपत्तिजनक विषय नभएको रूपमा पार्टीले लिएको उल्लेख थियो । 

त्यसबारे अझै प्रष्ट धारणा महासचिव वेदुराम भुसालले अर्को विज्ञप्ति जारी गरेर भने । उनले जारी गरेको पहिलो विज्ञप्तिमा एमसिसी संसदमा टेबल गर्न दिने/नदिने विषयमा उल्लेख छैन । उनले जारी गरेको दोस्रो विज्ञप्तिमा भने विज्ञप्तिमा संसदको अवरोध हटेर राजनीतिक सहमति भए टेबल हुन दिने विषयमा सैद्धान्तिक सहमति भएको उल्लेख छ ।

खतिवडाले दुई खाले विज्ञप्ति जारी गरेपछि अन्तिममा महासचिव भुसालले जारी गरेका थिए । उनले जारी गरेको विज्ञप्तिमा एमसिसी प्रतिनिधिसभामा टेबल गर्न दिने निर्णय उल्लेख छ ।

त्यसअघि खतिवडाले जारी गरेको विज्ञप्तिमा यथाअवस्थामा एमसिसी पारित गर्न नसकिने पूर्ववत् पार्टी निर्णयलाई कायम राखिएको उल्लेख थियो । 

यसबारे एमसिसीबारे हार्डलाइन प्रस्तुत गर्दै आएका नेता झलनाथ खनालले भने आपत्ति जनाएका हुन् ।
 

  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १३:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया