शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेल आजबाट सुरु हुँदैछन् । जारी लिगमा १२ औँ चरणका खेल मंगलबारबाट समाप्त भएसँगै एन्फाले यही हप्ताको अन्तिमसम्म शीर्ष डिभिजन लिग सकाउने गरी तालिका सार्वजनिक गरेको हो ।
एन्फाले यस चरणका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्दैछ । समापनको खेलबाहेक अन्य ६ खेल दिउँसो १ बजे हुनेछन् । आज दुई खेल हुँदै छन् ।
आज एन्फामा ‘ए’ डिभिजन लिगको हैसियत गुमाइसकेको च्यासल युथ क्लब र सातदोबाटो युथ क्लब भिड्दा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा आमनेसामने हुनेछन् ।
शुक्रबार पनि दुई खेल हुनेछन् । दुवै खेल १ बजे हुनेछन् । जावलाखेल र संकटा क्लब दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दा दोस्रो डिभिजनमा घटुवा भइसकेको ब्रिगेड ब्वाइज क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ ।
अन्तिम दिन तीन खेल हुने छन् । एन्फामा एनआरटी फुटबल क्लब र नेपाल पुलिस १ बजे खेल्दा सोही समय त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने छन् ।
यता, लगातार शीर्ष डिभिजन लिग च्याम्पियन भइसकेको मछिन्द्र फुटबल क्लब एपिएफ फुटबल क्लबको चुनौती सामना गर्दै अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ । खेल साढे ४ बजे दशरथ रंगशालामा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।