नेपाल खेलकुद महासंघले पहिलो चरणमा सक्यो ६ प्रदेशको अधिवेशन

नेपाल खेलकुद महासंघले पहिलो चरणमा प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । ७ फागुनमा प्रजातन्त्र दिवसको अवसर पार्दै उपत्यका विशेष प्रदेश अधिवेशन सुरु गरेर महासंघले अधिवेशनहरु सुरु गरेको थियो ।

२१ फागुनमा सुखानीका सहिदहरुको सम्झनामा प्रदेश १ को अधिवेशन गर्दै महासंघले प्रदेश अधिवेशनहरु सम्पन्न गरेको हो ।

अब महासंघले लुम्बिनी र गण्डकी प्रदेशमा अधिवेशन गर्न बाँकी छ । महासंघका अनुसार १० चैतमा लुम्बिनी प्रदेश र १९ चैतमा गण्डकी प्रदेशमा महासंघले अधिवेशन गर्दैछ । त्यस्तै, २८ फागुनमा विभिन्न खेल संघहरुको अधिवेशन गर्ने पनि महासंघले जनाएको छ ।

शनिबार झापामा भएको प्रदेश १ खेलकुद महासंघको अधिवेशनलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । झापाको बिर्तामोडमा भएको अधिवेशनले राजकुमार थापाको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।

यो अधिवेशनले उपाध्यक्षमा धनकुटाका भोगेन्द्र थापा, सुनसरीका टिका शिवाकोटीलाई चयन गरेको छ । त्यस्तै, मोरङका जितन थापा सचिव चयन भएका छन् । खोटङका सिताराम श्रेष्ठ, ताप्लेजुका दिल कुमार सुनुवार सहसचिव चयन भएका छन् । मोरका हेमन्त सुवेदी कोषध्यक्ष भएका छन् ।

अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई महासंघका अध्यक्ष कृष्ण बस्नेत पर्शुरामले पद तथा गोपनीयताको सपथ पनि शनिबार नै गराएका छन् ।



यसअघि महासंघले बागमती, सुदूरपश्चिम, कर्णाली, मधेश प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ । महासंघका अध्यक्ष रहेका रमेश पौडेल नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएपछि अध्यक्ष तथा संयोजकको जिम्मेवारी पाएका पर्शुराम बस्नेतले महासंघको नयाँ नेतृत्वले राजनीतिमा मात्र नभएर खेलकुद क्षेत्रमा पनि नयाँ तरंग ल्याउने बताएका छन् ।

‘हामीले एउटा कार्यतालिका बनाएर अगाडि बढिसकेका छौँ,’ उनले भने, ‘नेपाल खेलकुद महासंघले खेल क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका राष्ट्रका गहनाहरुलाई पहिचान गरेर सम्मान मात्र गर्दैन, यसले खेल क्षेत्रको मर्यादा बढाउने पनि काम गर्नेछ ।’



उनले प्रदेशहरुमा अधिवेशनबाट चयन तथा निर्वाचित भएको नयाँ कार्यसमितिले ती क्षेत्रमा खेलकुदको जगलाई थप बलियो बनाउने विश्वास आफूले लिएको बताएका छन् । ‘हामीले सबै प्रदेशमा कार्यसमिति बनाएर खेलकुद क्षेत्रमा नयाँ तरंग ल्याउने छौँ,’ उनले भने ।

शनिबार झापामा भएको प्रदेश अधिवेशनमा विशेष सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडीले पदका लागि नभएर पदका लागि आफ्नो यात्रा अगाडि बढाउनु पर्ने बताएका थिए ।

अधिवेशनमा नेकपा एमालेका नेताहरु भानुभक्त ढकाल, गोकुल बाँस्कोटालगायतले पनि सम्बोधन गरेका थिए ।

  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १०:४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया