काठमाडौंको कीर्तिपुरको गाउँब्लकमा लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले काठमाडौंको कीर्तिपुरको गाउँब्लकमा रहेका भूमिविहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेका छन् । 

कीर्तिपुर नगरपालिका वडा नम्बर ५– पाँगामा गाउँब्लकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै मन्त्री श्रेष्ठले यही चैत १५ भित्र थप पाँच जिल्लामा रहेको गाउँब्लकमा लालपुर्जा  वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिइन् । 

आगामी आर्थिक वर्षभित्र देशभरका सबै गाउँब्लकमा लालपुर्जा वितरण गर्ने गरी कार्यक्रम र बजेट व्यवस्था गर्न लागिएको पनि उनले बताइन् । 

मन्त्री शशि श्रेष्ठले लेखेर र भाषण गरेर मात्रै नागरिकले अधिकार प्राप्त गर्न नसक्ने भन्दै इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई आग्रह गरिन् । 

राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाइ गर्न पनि स्थानीय तहका पदाधिकारीलाई उनले सुझाब दिइन् ।
 
संविधानमा भएको व्यवस्थाअनुसार भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम अगाडि बढाइएको र जिल्ला आयोग गठनको काम भइरहेको पनि मन्त्री श्रेष्ठले बताइन् ।  

विशेष गरी काठमाडौं उपत्यका र देशका विभिन्न भागमा समेत रहेका स्वबासी र बेनिसाको समस्या समाधान गर्न पनि आफूूले प्रक्रिया सुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरी, हरुवा चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको बताइन् । 



मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि शहिद, वेपत्ता परिवारका छोराछोरी,  हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडी बढाइसकेको जानकारी पनि दिनुभयो ।

मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकका करिब १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ ।



मन्त्री श्रेष्ठले यसअघि महोत्तरी, सप्तरी, धनुुषा, सुनसरी र चितवन जिल्लाका विभिन्न गाउँब्लकमा रहेका भूूमि विहिनहरुलाई लालपूर्जा वितरण गरिसक्नुभएको छ । 

  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार २०:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया