पिकअपको ठक्करबाट रौतहटमा दुई युवकको मृत्यु

रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट दुईजना युवकको मृत्यु भएको छ । ठक्करबाट एकजना नेपाल प्रहरीका असई र एक जवान घाइते भएका छन् ।

चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको  स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्साहा चौकमा ठक्कर दिँदा दुईजना पैदलयात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा बृन्दाबन नगरपालिका–६ स्थानीय हर्साहा गाउँका वर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ वर्षीय हरिकुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी, गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी चौकी हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अन्सारी घाइते भएका छन् । असई यादवको गरुडास्थित सामुदायिक अस्पताल र जवान अन्सारीको वीरगञ्नमा उपचार भइरहेको डिएसपी भण्डारीले बताएका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा  स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट  भरतपुर जाने क्रममा राति मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए ।

ठक्कर दिने गाडी चालक मौलापुरका सञ्जय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्डे पक्राउ परेका छन् । मृतकका आफन्तहरूले दुवै शव हर्साहा चौकमा राखेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै बिहीबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।



सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी चन्द्रनिगाहपुरबाट गौर जाने गाडीहरूलाई वैकल्पिक बाटोको प्रयोग गराइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  



  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार १०:४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया