परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाँक्रीको आग्रह
फाइल फाेटाे

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम काम गरिरहेको बताएकी हुन् ।

शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडिबी)का प्रतिनिधिसँगको छलफलमा उनले मन्त्रालयलाई एडिबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गरिन् ।

मन्त्री झाँक्रीले भनिन्, ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौं भन्ने पक्षमा छौं । एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ ।’

उनले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउदै यसले संघीयता अनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन् ।

छलफलमा मनिलास्थित एडीबीका प्रतिनिधि केनिची याकोयामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्नेमा जाेड दिए ।



उनले सहरीकरणको गुजरात मोडल अनुसार अब बन्ने सहरीकरणका परियोजना बनाउन सुझाव पनि दिए । 

हाल एडिबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए ।



कार्यक्रममा सहरी विकासमन्त्री र एसियाली विकास बैंक एडिबीका मनिलास्थित केन्द्रीय कार्यालयका महानिर्देशकबीच नेपालमा एडीबीको लगानीमा भइरहेका कामहरूको समीक्षा र भविष्यमा कुन–कुन योजनामा सहकार्य गर्न सकिन्छ भन्नेबारे छलफल भएको हो ।

छलफलमा एडिबीका महानिर्देशक र नेपालस्थित एडिबीका प्रतिनिधि तथा शहरी विकास मन्त्रालयको तर्फबाट मन्त्री रामकुमारी झाँक्री, सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली,मन्त्रालयका सह-सचिव प्रकिर्ण तुलाधर, मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहोरा लगायतको सहभागिता रहेको थियो ।
 

  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १४:१७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया