राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना नेतृत्वको टोली इन्डोनेसिया जाने
फाइल तस्वीर

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया जाने भएका छन् ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा चैत्र ४ गतेदेखि १० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन शुक्रवार बेलुका इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन् ।

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल शुक्रवार बेलुका ९:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्यहरु सुरेन्द्र कुमार कार्की, उमाशंकर अरगरिया रहने छन् ।

त्यस्तै संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल, राष्ट्रिय सभा अध्यक्षको प्रमुख स्वकिय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधि मण्डलमा रहने संसद सचिवालयले जानकारी दिएको छ ।

सो सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरो : मोविलाइजिङ पार्लियामेन्ट्स टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्ने छन् ।



त्यसैगरी सम्मेलनका विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसदले गरेका गतिविधिको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्नेछन् ।

अध्यक्ष तिमिल्सिनाले गोर्भनिङ काउन्सिलको २०९ औँ सत्रमा पनि भाग लिने कार्यक्रम रहेको छ । सो सत्रमा राष्ट्रियसभा सदस्यद्वय भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटाले पनि सहभागिता जनाउने छन् ।



त्यसैगरी अनिता देवकोटाले महिला संसद् सदस्यहरुको बैठक एवं छलफलमा, उमाशंकर अरगरियाले युवा संसद सदस्यहरुको बैठक एवं छलफलमा भाग लिने संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधि सभा सदस्य सुरेन्द्रबहादुर कार्कीले ‘इन्गेजिङ फर अ युनिभर्सल बन अन न्यूक्लियर टेस्टस्’ विषयमा हुने छलफलमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संघीय संसदका महासचिव भरतराज गौतम ‘एसोसिएसन अफ सेक्रेटरिज् जेनेरल अफ पार्लियामेन्ट्स’ सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधि मण्डल चैत्र ११ गते शुक्रबार बेलुकी ८:४५ बजे नेपाल फर्किने संघीय संसद सचिवालयले जनाएको छ ।

  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १५:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया