[एमाले पोलिटब्यूरो बैठक] वाम एकताको जवाफमा अ‍ोलीः नेपालमा अरु कुनै कम्युनिस्ट पार्टी छैनन्

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठकलाई पछिल्लो समय महत्त्वका साथ हेरिएको थियो । सोमबारको बसेको बैठकमा वाम एकताको विषयमा प्रस्ताव आउने अनुमान पनि यसअघि भएको थियो । यस्तो किन भने केही समय यता नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले सार्वजनिक रुपमा फेरि वाम एकताको विषयमा बोल्न थालेका छन्, लेख्न थालेका छन् । 

सोमबार बबरमहलमा भएको पोलिटब्यूरो बैठकमा पनि यो विषयमा भुसालले प्रस्ताव राखे । 

भुसालले देशमा वाम एकता अहिलेको आवश्यकता भएको बताएका थिए । उनले एमाले कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको बताउँदै वाम एकतालाई एमालेले नै अग्रसरता दिनु पर्ने र यो अहिलेको आवश्यकता भएको बताए ।

‘एमाले वाम एकताको मूल प्रवाह हो, नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण नै छैन,’ बैठकमा भुसालले भनेका थिए, ‘निर्वाचनमा वामपन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यकता छ ।’ उनले बहुसंख्यक कम्युनिस्ट सदस्य तथा कार्यकर्ताले अहिले पनि वाम एकता चाहेको भन्दै कम्युनिस्ट पार्टीहरुबीच एकताको पहल गर्न एमाले अग्रसर हुनु पर्ने प्रस्ताव गरेका थिए ।

तत्काललाई चुनावी एकता गरेर अगाडि बढ्न सकेको खण्डमा नेपालमा कम्युनिस्ट आन्दोलनलाई थप बलियो बनाउन सकिने र यसले निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने उनको प्रस्तावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने सहमति जनाएनन् ।

बैठकको समापनमा बोल्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा नेकपा एमालेवाहेक अरु कुनै पनि पार्टी वामपन्थी वा कम्युनिस्ट नभएको जिकिर गरे ।



‘अहिलेको आवश्यकता एकता होइन,’ ओलीले पोलिटब्यूरो बैठकमा भुसालको प्रस्तावलाई जवाफ दिएका थिए । 

ओलीले नेपालमा कम्युनिस्ट पार्टी भनेको नै नेकपा एमाले मात्र भएको पनि जिकिर गरेको नेकपा एमालेका एक पोलिटब्यूरो सदस्यले फरकधारलाई बताए । ‘नेपालमा अरु कोही कम्युनिस्ट पार्टी छैनन्,’ ओलीको भनाइलाई ती पोलिटब्यूरो सदस्यले उद्धृत गरे, ‘हामी मात्र कम्युनिस्ट पार्टी हौँ, त्यसैले अहिले एकताको पक्षमा वकालत गर्नु ठिक होइन ।’



ओलीले वाम एकता अहिलेको आवश्यकता नभए पनि स्थानीय निर्वाचनमा आवश्यकताका आधारमा विभिन्न ठाउँमा विभिन्न दलहरुसँग साझा उम्मेदवार बनाउने वा गठबन्धन गर्ने विषयमा भने पार्टी सकारात्मक हुनु पर्ने बताएका थिए । बैठकमा एमालेले स्थानीय तहमा कम क्षति होस् भन्नका लागि गठबन्धनको ढोका खुल्ला राख्नु पर्ने नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले राखेका थिए । 

‘गठबन्धन गर्ने विषयमा ओलीले सकारात्मक जवाफ दिए,’ ती पोलिटब्यूरो सदस्यले फरकधारलाई बताए, ‘तर, एकताको विषयमा ओली नकारात्मक देखिए ।’

ओलीले बैठकमा एउटा कम्युनिस्ट पार्टीको गैरकम्युनिस्ट पार्टीहरुसँग कुनै एकता हुन नसक्ने जवाफसमेत दिएका थिए । ‘नेपालमा भएका अरु सबै पार्टी गैर कम्युनिस्ट पार्टी हुन्,’ ओलीको भनाइलाई ती नेताले उद्धृत गरेका छन्, ‘कम्युनिस्ट पार्टीको गैरकम्युनिस्ट पार्टीसँग कुनै हालतमा पनि एकता हुन सक्दैन ।’

ओलीले गैरकम्युनिस्ट पार्टीहरुमा केही सदस्यहरु चाहिँ कम्युनिस्ट भएको पनि बैठकमा उल्लेख गरेका थिए । ‘त्यहाँ केही कम्युनिस्ट सदस्यहरु छन्,’ उनले भनेका छन्, ‘ती सदस्यहरुलाई जतिसक्दो छिटो एमालेमा प्रवेश गराऔँ, निर्वाचन अगाडि नै एमाले प्रवेश अभियानलाई थप बलियो बनाउन सकिन्छ ।’

ओलीले अहिले एकता नभएर नेकपा माओवादी केन्द्रलाई रित्याउने रणनीति बनाउनु पर्ने पनि बैठकमा बोलाएका थिए । ‘प्रचण्ड कम्युनिस्ट होइनन्, उनीसँग अहिले एकता गर्ने होइन,’ उनले बैठकमा भनेका थिए, ‘अहिले प्रचण्डको भाँडो रित्याउने हो ।’

यसअघि विभिन्न ठाउँमा चुनावी अभियानमा पुगेका ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कडा प्रहार गर्दै आएका छन् । सोमबारको पोलिटब्यूरो बैठकमा पनि उनले प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि प्रहार गर्न बाँकी राखेनन् । 

उनले प्रचण्ड र नेपालकै कारण दुई तिहाइको सरकार ढलेको र आफू सत्ताबाट बाहिर भएकोसमेत बताए । ‘कम्युनिस्टको दुई तिहाइको सरकारलाई ढाल्नेहरुसँग एकता हुनैसक्दैन,’ ओलीले भने ।

  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १७:३८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया