नेपाल बार एशोसिएसनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले अबको बारको नेतृत्वले विकृति, विसंगतिविरुद्ध लडने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताएका छन् ।
शुक्रबार बारको मतदानको मत परिणाम आएसँगै नेपाली कांग्रेसनिकट घिमिरे बारको अध्यक्षमा निर्वाचित भएका हुन् । उनसँगै बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको प्यानल नै विजयी भएको छ ।
गठबन्धनको प्यानलले एमालेनिकट निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीसहितको प्यानललाई पराजित गरेको हो । घिमिरेले ४ हजार ४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी अधिकारीले २४ सय ८२ मत ल्याएका थिए ।
जितसँगै नेपाल बार परिसरमा विजयी टोलीलाई खादा, फूलमाला र अविरले स्वागत गरिएको थियो । स्वागत समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले कानुन व्यवसायलाई मर्यादित र व्यवस्थित पेशा बनाउने प्रतिवद्धता व्यक्त गरे ।
‘हामीले आफ्नो घोषणापत्रमार्फत जुन प्रतिवद्धता व्यक्त गरेका छौँ, विकृति, विसंगतिविहीन, भ्रष्टाचारमुक्त न्यायपालिका हाम्रो प्रमुख उद्देश्य हो । साथै एउटा मर्यादित पेशा, व्यवस्थित पेशा बनाउने पनि हाम्रो अर्को प्रमुख उद्देश्य हो' उनले भने ।
नवनिर्वाचित अध्यक्ष घिमिरेले कानुन व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले भरोसा दिलाउने बताए । उनले तीनवर्षे कार्यकालमा सक्षम न्यायालय र सक्षम कानुनकर्मीको उत्पादनमा जोड दिने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।