सुदूरपश्चिम सरकारमा कांग्रेस पनि भयो सहभागी, नवनियुक्त मन्त्रीले लिए शपथ

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराइएको हो । 

यसअघि सत्तारुढ दलहरू कांग्रेसलाई सत्तामा सहभागी गराउने पक्षमा थिएन । मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसका डा. रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीमा नियुक्त गरेका हुन् । 

यस्तै, आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ । उनीहरूले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो । यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुमारी चौधरी फिर्ता भएकी छन् भने एकीकृत समाजवादीकै कुलवीर चौधरी नियुक्त भएका छन् ।

अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरा फिर्ता भएकी छन् भने अमर साउद नियुक्त भएका छन् । सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजवादीले फिर्ता बोलाएको छ । नवनियुक्त मन्त्रीलाई शपथ खुवाइएको छ । 

स्थानीय चुनावमा केन्द्रको गठबन्धन सुदूरपश्चिममा असर पर्ने भएपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको जनाएको छ । प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का दश जना सांसद छन् । अब सुदूरपश्चिममा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भएको छ । एकीकृत समाजवादीले भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीबाहेकलाई हेरफेर गरे पनि माओवादी केन्द्रले फेरेन ।





  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार २०:२०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया