अघिल्लो चुनावमा ‘क्लिन स्विप’ गरेको धनकुटामा एमालेले टुंग्यायो उम्मेदवार, यसपालि जोगाउन सक्ला विरासत ?

नेकपा एमालेले यही ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावका लागि धनकुटाका सबै पालिकामा उम्मेदवार टुंगो लगाएको छ । एमालेले धनकुटाका धनकुटा, सहिदभूमि, छथरजोरपाटी र साँघुरीगढीमा हालकै मेयर/अध्यक्षलाई दोहोर्‍याउने निर्णय गरेको हो । अन्य तीन पालिकामा भने एमालेले नयाँ अनुहारलाई टिकट दिएको छ ।
 
एमालेले धनकुटा सदरमुकाम रहेको धनकुटा नगरपालिकाको मेयरमा हालका मेयर चिन्तन तामाङलाई उठाउने निर्णय गरेको छ । उपमेयरमा एमालेले भीमादेवी खनाललाई अघि सारेको छ । उनी नयाँ अनुहार हुन् । 

त्यस्तै, पाख्रिबास नगरपालिकाको मेयरमा भीमबहादु राई र उपमेयरमा नम्रता गौतमलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले धनकुटाका नेता नैन रुचालले फरकधारलाई बताए । राई र गौतम नयाँ उम्मेदवार हन् ।

महालक्ष्मी नगरपालिकाको मेयरमा नयाँ अनुहार ल्याउँदा उपमेयरमा  पुरानैलाई दोहोर्‍याउने एमालेले निर्णय गरेको छ ।  यो नगरपालिकाको मेयरमा दीपक बुढाथोकी र उपमेयरमा मञ्जुकुमारी कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको नेता रुचालले बताए । 

एमालेले छथर जोरपाटी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पुरानैलाई दोहोर्‍याएको छ । यो पालिकाको अध्यक्षमा शेरबहादुर लिम्बू र उपाध्यक्षमा गोमा कार्कीलाई उठाउने निर्णय भएको जनाइएको छ । 

सहिदभूमिमा पनि पुरानैलाई अघि सारिएको नेता रुचालले बताए । उनका अनुसार सहिदभूमि गाउँपालिकाको अध्यक्षमा मनोज राई र उपाध्यक्षमा रत्नेश्वरी राईलाई पार्टीले टिकट दिएको छ । 

एमालेले साँघुरीगढी गाउँपालिका अध्यक्षमा कुमारजंग याख्खालाई दोहोर्‍याएको छ भने उपाध्यक्षमा नयाँ अनुहारका रूपमा मुना राईलाई अघि सारेको छ । चौबिसे गाउँपालिकामा एमालेले अध्यक्षमा राजकुमार चेम्जोङ र उपाध्यक्षमा टंकमायाँ पांंगनीमगरलाई दोहोर्‍याउने निर्णय गरेको छ ।  



 यस्तो थियो ०७४ को मत परिणाम 

अघिल्लोपटकको स्थानीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेले धनकुटा जिल्लाका अधिकांश वडासहित सबै पालिका जितेर ‘क्लिन स्विप’ गरेको थियो । धनकुटामा सात स्थानीय तह र ६० वटा वडा रहेका छन् । तीमध्ये ०७४ को चुनावमा एमालेले सबै स्थानीय तह र ४३ वडा जितेको थियो । त्यस्तै, नेपाली कांग्रेसले नौ, माओवादी केन्द्रले पाँच, तत्कालिन संघीय समाजवादी फोरमले दुई र तत्कालिन नयाँ शक्ति पार्टीले एउटा वडा जितेका थिए । 
 
०७४ को निर्वाचनमा धनकुटाको सहिदभूमि गाउँपालिका अध्यक्षमा एमालेका मनोज राई दोब्बर बढी मतअन्तरले निर्वाचित भएका थिए । उनले ४०५४ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका भरतसिंह राईले १५७९ र कांग्रेसका तीर्थ राईले १५०१ मत प्राप्त गरेका थिए । सो पालिकामा एमालेले उपाध्यक्ष पनि जितेको थियो । सातवटा वडा रहेको सहिदभूमिमा एमालेले वडा नम्बर २, ३, ४, ५, ६ र ७ जितेको थियो । कांग्रेसले १ नम्बर वडामात्र जित हात पारेको थियो ।
 
त्यस्तै, चौबीसे गाउँपालिकामा एमालेबाटै अध्यक्ष र उपाध्यक्षसहित चार वटा वडा जितेको थियो । अध्यक्षमा एमालेका खजिन्द्र राईले ३७८२ मत प्राप्त गर्दा कांग्रेसका हर्क चेम्जोङले ३२७९ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका दलबहादुर मगरले ९८९ मत ल्याएका थिए । सो पालिकाको वडा नम्बर १, ३, ५ र  ८ जितेको थियो । कांग्रेसले ४ र ६ नम्बर वडा जित्दा माओवादी केन्द्रले २ नम्बर वडा र तत्कालिन संघीय समाजवादी फोरमले ६ नं. बडा जितेको थियो । 



त्यस्तै, छथर जोरपाटी गाउँपालिकामा पनि एमालेले अध्यक्ष, उपाध्यक्ष र पाँच वडा वडा जितेको थियो । अध्यक्षमा एमालेका शेरबहादुर लिम्बूले प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मत (३३४९) ल्याएर निर्वाचित हुँदा उपाध्यक्षमा एमालेकै भीमकला श्रेष्ठ ३२९८ मतसहित विजयी भएकी थिइन् । 

अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर लिम्बूले १५३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधव बहादुर भट्टराईले १४५१, नेपाली कांग्रेसका निर्मल प्रसाद ओझाले ४१६ मत प्राप्त गरेका थिए । एमालेले सो पालिकाको १, ३, ४, ५ र ६ नम्बर वडा जितेको थियो । माओवादी केन्द्रले २ नं. बडा मात्र जितेको थियो । 

सदरमुकामसमेत रहेको धनकुटा नगरपालिकाको मेयर, उपमेयरसहित अधिकांश वडा एमालेले जितेको थियो । मेयरमा एमालेका चिन्तन तामाङले ४९३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिनेश राईले ४८१९ र माओवादी केन्द्रका गणेशबहादुर विष्टले २५३७ मत प्राप्त गरेका थिए । उपमेयरमा नेकपा (एमाले) कै शकुन्तला बस्नेत ५४६४ मतसहित विजयी भएकी थिएन् । 

धनकुटा नगरपालिकाका वडा नम्बर १, २, ४, ७ र १० नम्बर वडा एमालेले जितेको थियो । त्यस्तै तत्कालिन नयाँ शक्ति पार्टीले ३ नम्बर वडा, कांग्रेसले ५ र ६, माओवादी केन्द्रले ८ र ९ नम्बर वडा जितेको थियो ।

त्यस्तै पाख्रिबास नगरपालिकामा भने एमालेले मेयर, उपमेयरसहित १० वटै वडामा ‘क्लिन स्विप’ गरेको थियो । मेयरमा एमालेका बृषबहादुर राई ४४३९ मतसहित निर्वाचित हुँदा उपमेयरमा देवकला पौडेल तिम्सिना ४४२६ मतसहित विजयी भएकी थिइन् । 

मेयर पदका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इन्दिरा थापाले १६२८, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामबहादुर गुरुङले १५६५ र माओवादी केन्द्रका कृष्णबहादुर कटुवाल १००६ मत प्राप्त गरेका थिए । 

महालक्ष्मी नगरपालिकामा एमालेले मेयर, उपमेयर र अधिकांश वडा जितेको थियो । मेयरमा एमालेका पर्शुराम नेपाल ४८९७ मतसहित निर्वाचित हुँदा उपमेयरमा एमालेकै मञ्जुकुमारी कार्की (अधिकारी) ४५३४ (दोब्बर) मतसहित विजयी भएकी थिइन् । मेयरका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अग्निप्रसाद पौडेलले ३१५६ र माओवादी केन्द्रका रामबहादुर नेपाल १७४६ मत प्राप्त गरेका थिए ।

एमालेले सो नगरपालिकाका १, ५, ६, ७, ८ र ९ नं. वडा जितेको थियो । नेपाली कांग्रेसले २, ४ र माओवादी केन्द्रले ३ नम्बर वडा जितेको थियो । त्यस्तै, उक्त निर्वाचनमा साँघुरीगढी गाउँपालिकाको अध्यक्षमा कुमारजंग याख्खा ४४४९ मत र उपाध्यक्षमा विन्द्र राई ४२०९ मतसहित विजयी भएकी थिइन् । 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितेन्द्र राईले ३३३३, माओवादीका जगतबहादुर राई ६९५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मध्वज राईले ४७९ मत ल्याएका थिए । 
सो निर्वाचनमा एमालेले साँघुरीगढी गाउँपालिकाको वडा नम्बर १, २, ३, ७, ८, ९ र १० नम्बर वडा जितेको थियो । कांग्रेसले ५, ६ र तत्कालिन संघीय समाजवादी फोरमले ४ नम्बर वडा जितेका थिए । 

अघिल्लो निर्वाचनमा क्लिन स्विप गरेको एमालेलाई यसपालि भने धनकुटामा केही अप्ठ्यारो पर्नसक्छ । गठबन्धनका उम्मेदवारसँग चुनाव लड्नुपर्ने भएकाले एमालेलाई यसपटक विरासत जोगाउन समस्या भइरहेको हो । साथै, माधवकुमार नेपाल पक्ष पार्टीबाट अलग भएकाले पनि त्यसको असर एमालेलाई चुनावमा पर्नसक्छ । 

  • प्रकाशित मिति : वैशाख ११, २०७९ आइतबार ११:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया