स्थानीय निर्वाचन : विराटनगरमा ६ जनाले गरे उम्मेदवारी दर्ता

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रदेश १ राजधानी विराटनगरमा यो समाचार तयार पार्दासम्म आधा दर्जनले उम्मेदवारी दर्ता गराएका छन् । 

वडा नम्बर ८, ९ र १० मा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । विराटनगर १० को अध्यक्षमा माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनी  २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

२०७४ सालको निर्वाचनअघि नेकपा एमालेमा आबद्ध रहेका उनले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका थिए ।

वडा नम्बर १० को खुला सदस्यमा मोहनप्रसाद साह र वीरेन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, विराटनगर ९ को अध्यक्षमा नेपाल सद्भावना पार्टीको तर्फबाट किशोरकुमार कलवार र खुला सदस्यमा गणेशकुमार मोदीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वडा नं. ८ को अध्यक्षमा फुल मोहम्मदले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

हालसम्म विराटनगरको मेयर र उपमेयरका लागि उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । प्रदेश १ को एक मात्रै महानगरपालिका रहेको विराटनगरमा प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसले अझैसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

सत्ता गठबन्धनको केन्द्रीय सहमतिबमोजित विराटनगरको मेयर कांग्रेसले पाएको छ । उपमेयर जसपालाई दिने तयारी भएको छ । तर, दुवै दलले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । कांग्रेस विराटनगरमा अहिलेसम्म गठबन्धन नगर्ने पक्षमा देखिएको छ ।





  • प्रकाशित मिति : वैशाख ११, २०७९ आइतबार १४:५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया