प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्ने मोबाइल एप ‘खुल्दुली’

पोखरा– किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्न स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले ‘खुल्दुली’ मोबाइल एप सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) र जर्मन विकास सहयोग (जिडिसी) को सहयोगमा एप निर्माण भएको हो ।  

किशोरकिशोरीमा स्वास्थ्यसम्बन्धी सही सूचना प्रदान गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्ने उद्देश्यले बनाइएको सो एपको पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक खेम खड्काले आज पोखराबाट शुभारम्भ गरे । एपमार्फत किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना सजिलो, विश्वसनीय, गोप्य र जोखिमरहित ढंगले लिन सकिने भन्दै निर्देशक खड्काले किशोरकिशोरीको स्वास्थ्य तथा जीवन समृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

किशोरावस्थाका युवामा कलिलै उमेरमा विवाह हुने, छिटो तथा अनिच्छित गर्भाधारण हुने, यौन रोग, एचआइभी एड्स, लागुऔषध, कुपोषणजस्ता समस्या आउने गरेको वास्तविकतालाई दृष्टिगत गरी ती सबै समस्याबारे सही सूचना प्राप्त गर्न सहयोग गर्ने उद्देश्यका साथ एप तयार गरिएको युएनएफपिएका पैरवी तथा सञ्चार अधिकृत सन्तोष क्षेत्रीले बताए । 

उनका अनुसार नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा रहेको एप एन्ड्रोइड सिस्टममा सञ्चालित सम्पूर्ण मोबाइलको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । डाउनलोड भएपछि इन्टरनेट सुविधा नभए पनि एप हेर्न सकिने क्षेत्रीले जानकारी दिए । 





  • प्रकाशित मिति : पुस १५, २०७५ आइतबार १९:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया