[अन्तर्वार्ता] ‘सेतीको पानी मिनिरल वाटरमा परिणत गर्छाैँ, १२ कक्षासम्म निःशुल्क शिक्षा दिनेछौँ’

देशभर यही ३० गते हुने स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । चुनावका लागि दलका नेता र उम्मेदवार मतदातालाई भेट्न व्यस्त छन् । बझाङमा पनि चुनावी रौनक बढेको छ । १३ स्थानीय तह रहेको बझाङमा जयपृथ्वी नगरपालिकामा धेरैको चासो छ । सदरमुकामसमेत रहेको यो नगरपालिकाको नेतृत्वका लागि यसपटक गठबन्धनबाट नेपाली कांग्रेसका नेता चेतराज बजाल छन् । उनी अघिल्लोपटक पनि चुनाव लडेका थिए । जहाँ बजाल एमाले उम्मेदवार वीरेन्द्र खड्कासँग ८० मतले पराजित भए । आसन्न चुनाव उनी गठबन्धनबाट चुनाव लड्न लागेकाले जित हासिल गर्नेमा ढुक्क रहेको दाबी गर्छन् । यसैबीच, तिनै मेयरका प्रत्यासी बजालसँग फरकधारकर्मी रिदम सिंहले निर्वाचन केन्द्रित रहेर कुराकानी गरेका छन् :

यसपालि पनि मेयरका लागि चुनावी मैदानमा हुनुहुन्छ, किन दोहोरिनु चाहनुभएको हो? अनि के गठबन्धनको साथ पाउँछु जस्तो लाग्छ? 

थोरै समयको तयारीका बाबजुद हामीले चुनावी अभियानलाई तीव्र गतिमा बढाइरहेका छौं । गठबन्धनमा जिल्लास्तरमा मात्रै सहमति भएको छैन । आजको आवश्यकतालाई महशुस हुने गरी राष्ट्रियस्तरमा नै गठबन्धन गर्ने पार्टीको निर्णय अनुरूप हामी अगाडि बढिरहेका छौं । गठबन्धनले कसले कसलाई सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा हामीले सोच्न पनि गलत हुन्छ । गठबन्धनबाट कुनै पनि किसिमको घात हुँदैन । त्यसकारण गठबन्धनमा रहेका सबै दलले साझा उम्मेदवारलाई सहयोग गर्छन्/गर्नुपर्छ ।  

यो निर्वाचन मेरा लागि मात्रै होइन जनताका लागि पनि परीक्षाको विषय रहेको छ । म जस्तो दुःख पाएको व्यक्तिलाई जनताले सहयोग गर्नुहुन्छ वा गर्नु हुँदैन भन्ने विषय मुख्य रहेको छ । तर, मलाई विश्वास छ सबै जयपृथ्वी नगरवासीले मलाई जिताउने छन् । मैले राजनीतिमै समय बिताएको ४३ वर्ष भइसक्यो । नैतिक चरित्र नै मेरो धर्म हो । 

मैले मौका पाए भने जनताप्रति वफादार भएर काम गर्नेछु । पाँच वर्षमा नगरको मुहार फेर्ने मेरो योजना छ । त्यहीअनुसार नै अगाडि बढ्छु र यो नगरलाई नमूना बनाएरै छाड्छु । सुखी नगरवासी बनाउनका लागि मसँग एजेण्डा छन् ।  

के–के हुन् त तपाइँको चुनावी एजेण्डा? 



जयपृथ्वी ग्रामिण नगरपालिका हो । अहिले जयपृथ्वीलाई नगरपालिका भन्न पनि सुहाउने अवस्था छैन । यदि हामीले मौका पायौं र गठबन्धनको टिमलाई जनताले पत्याए भने जयपृथ्वी नगरपालिकाको प्रत्येक वडामा पक्की बाटो पुर्याउँछौँ, सेती नदीमा आवश्यक भएको ठाँउमा पुल निर्माण गर्छौं, सबै गाउँमा सडक पुर्याएर गाउँको कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्याउने छौं । वास्तविक किसानका लागि अनुदान, ऋण उपलब्ध गराउने, तालिम प्राप्त दक्ष किसान उत्पादन गर्ने मेरो योजना छ । 

साथै, १२ कक्षासम्म पूर्णरूपमा निःशुल्क शिक्षा प्रदान गर्नेछौं । कक्षा १२ उत्तिर्ण गरेका र इञ्जिनियर, डाक्टर पढ्ने इच्छा भएका विद्यार्थीलाई नगरपालिकाको लगानीमा पठाउँछौं । दक्ष जनशक्ति उत्पादन गर्छौं । त्यस्तै, बझाङका सबै बिरामीलाई जिल्ला अस्पतालबाट दिइने सम्पूर्ण सेवा र औषधि निःशुल्क रूपमा उपलब्ध गराउने मेरो योजना छ । त्यसमा जनताको एक पैसा खर्च हुने छैन ।



बझाङबाहिर रेफर गर्नुपर्ने बिरामीलाई पनि हामीले नगरपालिकाबाट खर्च तिरेर उपचार गराइदिने छौँ । जनताले ओपिडी टिकटको पैसा पनि तिर्न नपर्ने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य छ । आँगनमा नै बग्ने सेती नदीको पानीलाई सदुपयोग गर्छौं । सेतीको पानी शुद्धीकरण गरी मिनिरल वाटरको रूपमा जिल्ला बाहिर डडेल्धुरा, कैलाली, कञ्चनपुर र भारतको दिल्लीसम्म पुर्याउनका लागि नगरपालिकाले पहल थाल्नेछ ।

युवाको स्वरोजगारको लागि के छ तपाइँको योजना?

युवा बेरोजगारी हाम्रो नगरपालिकाको सबैभन्दा ठूलो समस्या हो । समस्या समाधान गर्न र युवालाई स्वरोजगार बनाउनका लागि हामीले विभिन्न रणनीति बनाएका छौं । नगरपालिकाले चाहना राख्यो भने चिलिमेले सेती नदीमा सर्वे गरेको ८७ मेगावाटको जलविद्युत् किनेर पनि युवालाई रोजगारी दिन सकिन्छ । उक्त जलविद्युतमा कम्तीमा १ हजार जनालाई रोजगारी दिन सकिने सम्भावना छ । जीर्ण  बनेका मठमन्दिरलाई हामीले संरक्षण गरेर त्यसलाई पर्यटकीय स्थल बनाएर पनि रोजगारीको अवस्था सिर्जना गर्न सकिन्छ । साथै, अन्य रोजगारी सिर्जना गर्ने क्षेत्रको पहिचान गरेर युवा शक्तिलाई स्वदेशमै रोक्न सकिन्छ ।  

स्थानीय तहमा भष्टाचार, अनियमितता बढ्दै गएको जनगुनासो छ, यदि तपाइँ मेयरमा निर्वाचित भएमा जयपृथ्वीमा त्यो समस्या समाधान होला? 

भष्टाचार एकैपटक घटाउन सकिँदैन । म नैतिक धरातलमा उभिएर काम गर्ने मान्छे हो । जिल्ला विकास समितिमा सभापति भएर काम गर्दा मलाई नेपाली कांग्रेसको भर्ती केन्द्र बनाएको आरोप पनि लाग्यो । ममाथि पनि नातावाद कृपावाद गर्यो भन्ने आरोप लाग्यो होला । तर, पनि चेतराज बजालले भष्टाचार गर्यो भनेर बझाङको कुनै नागरिकको मुखबाट पनि तपाइँले सुन्न सक्नु हुन्न । 

त्यसकारण भ्रष्टाचारविरुद्धको मुद्दामा म खरोरूपमा प्रस्तुत भएर काम गर्ने प्रतिवद्धता गरेको छु । संघीय संरचनामा भष्टाचार अन्त्यका लागि चुनौती धेरै छ । त, मैले मेरो नगरपालिकामा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्नका निरन्तर प्रयास रहनेछ । साथै, म मेरो पारिश्रमिकबाहेक एक रुपैयाँ कसैबाट लिने छैन । यदि कुनै व्यक्तिले मलाई पैसा खुवाउने लोभ देखायो भने ती मान्छे नगरपालिकामा प्रवेश गर्न पाउने छैनन् । किनकी एउटा मान्छे नैतिकवान भयो भने त्यसले धेरैलाई नैतिकवान बनाउन सक्छ भन्ने मेरो मान्यता हो । त्यही मान्यतालाई आत्मसाथ गर्दै म अगाडि बढ्ने छु । 

  • प्रकाशित मिति : वैशाख २३, २०७९ शुक्रबार ११:५५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया