धनुषामा निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदान सकिएको ३ घण्टापछि गणना थालिने
फरकधार / २९ बैशाख, २०७९

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि धनुषामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । केही स्थानमा मतदान केन्द्र निर्माणको काम जारी रहेको छ भने अधिकांश मतदान स्थलमा मतदान केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको छ । 

मतदान केन्द्रमा महिला र पुरुषका लागि अलग-अलग व्यवस्थापन भइरहेको छ । मौसम खराब हुने सम्भावनालाई दृष्टिगत गर्दै अधिकांश स्थानमा टेन्टसमेत निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

निर्वाचन आयोगले मतदान केन्द्र व्यवस्थापनका लागि प्रदान गरेको रकमभन्दा बढी खर्च गरेर पनि कतिपय मतदान अधिकृतले मतदान केन्द्रको व्यवस्थापन गरेको उनले बताए ।  



निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पनि पूरा भइसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।



जिल्लाका १८ वटै स्थानीय तहका मतदान केन्द्रहरुमा मतपेटिका, मतपत्र लगायतका सामग्रीहरु पुगिसकेको उनले बताए ।  धनुषा जिल्लामा ३२७ मतदान स्थलमा ५९६ मतदान केन्द्र रहेका छन् । 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदानस्थलमा म्यादी प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए । उनले सशस्त्र प्रहरी र नेपाली सेना पनि छुट्टै परिचालन गरिएको जानकारी दिए । 

जिल्लाका मतदानस्थलहरुको सुरक्षाका लागि २ हजारको संख्यामा नेपाल प्रहरी र ३ हजार १२१ म्यादी गरि कूल ५ हजार १२१ सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । 

जिल्लामा सुरक्षाकर्मीको अभाव भएपछि थप सुरक्षाकर्मी प्रधानमन्त्री कार्यालय र क्षेत्रीय कार्यालयबाट मगाइएको उनले जानकारी दिए । 

प्रवक्ता क्षेत्रीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मतदानस्थलसहित प्रत्येक पालिकामा सिभिल ड्रेसमा प्रहरी र मानवअधिकारसहितको अनुगमन टोली तथा स्वयंसेवकहरु परिचालन गरिसकिएको बताए ।  

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाइएको छ भने निजी तथा सार्वजनिक सवारी पूर्ण रूपमा बन्द गरिएको तथा भोलि पास लिएका सवारी साधन मात्र सञ्चालन हुने उनले बताए । 

राति ९ बजेदेखि मतगणना गर्ने तयारी

धनुषाका मुख्य निर्वाचन अधिकृत प्याकुरेलले मतदान सम्पन्न भएलगत्तै राति ९ बजेदेखि मतगणना गर्ने तयारी रहेको जानकारी दिए ।

प्याकुरेलले मतदान सकिएपछि राति ९ बजेबाट मतगणना सुरू गर्ने तयारी भएको जानकारी दिए । उनले छिटोमा राति ९ बजेदेखि र ढिलोमा राति १२ बजेदेखि मतगणना सुरू हुने बताए ।  

उनले भने, ‘साँझ ५ बजे मतदान सम्पन्न भइसकेपछि कागजपत्र मिलाउँदा २ घण्टासम्म लाग्न सक्छ । त्यसपछि सबै मतपेटिकाहरू मतगणना हुने केन्द्रसम्म आएको १ घण्टापछि मतगणना प्रारम्भ हुन्छ । ’

मुख्य निर्वाचन अधिकृत प्याकुरेलले मतदाता नामावलीमा नाम र क्रम संख्या भेटिएपछि एक जना मतदातालाई मतदान गर्न कम्तिमा पनि ३ देखि ५ मिनेट समय लाग्न सक्ने आंकलन गरेका छन् । 

मदिरा निषेध, सीमानाका बन्द

भोलि हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले मदिरा निषेध गर्नुका साथै भारतसँग जोडिएका सीमानाका बन्द गरेको छ ।

स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले मदिरा निषेध गर्नुका साथै भारतसँग जोडिएका सीमा नाका बन्द गरेको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्था अनुसार यस्तो आदेश जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभए सम्मका लागि धनुषा जिल्ला भरी सबै प्रकारका मादक पदार्थ (मदिरा) को बिक्रीवितरण र सेवन कार्य निषेध गर्नुका साथै मंगलबार राति १२ बजेदेखि ३० वैशाखसम्मलाई जिल्लाका भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

बिहीबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी टयाङ्कर, दमकल, दूरसञ्चार सेवा/शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारीसाधन तथा अनुमति प्राप्त सवारीसाधन बाहेकका सवारीसाधन सञ्चालनमा निषेध गरिएको उनले जानकारी दिए ।

१०६३ मतदानस्थल ‘अतिसंवेदनशील’ सूचीमा

स्थानीय तह निर्वाचन २०७९ मा मधेस प्रदेशका अधिकांश मतदानस्थल ‘अतिसंवेदनशील’ सूचीमा रहेका छन् । 

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले गरेको वर्गीकरण अनुसार अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा परेका हुन् । 

मधेस प्रदेशमा १ हजार ६३ मतदानस्थललाई अति संवेदनशील सूचीमा समावेश गरिएको छ भने संवेदनशील मतदान स्थल ८८८ वटा रहेका छन् । त्यस्तै, सामान्य मतदानस्थलको संख्या २१२ रहेको छ ।

सप्तरीमा २०८, सिरहामा १७०, धनुषामा १८३, महोत्तरीमा ११०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् ।

त्यस्तै, सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ । 

सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदानस्थल सामान्य सूचीमा रहेको छ । 

मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मसाउद आलम खाँले विगतमा भन्दा अहिले सुरक्षा चुनौती बढी रहेको बताए ।

खुला सिमानाका कारण र स–साना हातहतियारले सुरक्षा चुनौती रहेको बताउँदै उनले यसका लागि सो क्षेत्रहरुमा मंगलबार राति १२ बजेदेखि नै पूर्णरूपले आवतजावत बन्द रहेको जानकारी दिए । उनले प्रदेशका सबै जिल्लाहरुमा प्रहरीले सतर्कतापूर्वक काम गरिरहेको बताए ।

३३ लाखभन्दा बढी मतदाता 
स्थानीय तह निर्वाचनका लागि मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएका छन् ।

यस प्रदेशमा १७ लाख ९७ हजार ९४५ पुरुष, १५ लाख ३३ हजार १५८ महिला र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

प्रदेशभर २ हजार १६३ मतदानस्थल 

मधेस प्रदेशभर २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिए ।

सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र निर्धारण गरिएको छ । 

त्यस्तै, सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत १ जना, सहायक मतदान अधिकृत १ जना, सहायक कर्मचारी २ जना, सहयोगी कर्मचारी २ जना र मतदान अधिकृतले नियुक्त गरेका स्वयंसेवक ३ जना गरि कुल ९ जना कर्मचारी खटिसकेका छन् । यस हिसाबले धनुषामा मात्रै ५९६ मतदान केन्द्रमा ५ हजार ३६४ कर्मचारी खटेका छन् ।

  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १७:५४:१०,   अन्तिम अपडेट : बैशाख २९, २०७९ बिहीबार १८:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया