अघिल्लाे सरकारकाे कमजाेरीका कारण मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा : विनोद चौधरी

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष ०७९–०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 

कोभिड महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्धजस्ता कुराले मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको सांसद चौधरीले बताए । उनले बजेटको बेला मात्रै अर्थतन्त्रबारे छलफल गर्ने, तर अन्य समयमा गम्भीरतापूर्वक छलफल नगर्ने मानसिकता रहेको बताए । 

सरकारको विकास बजेट खर्च गर्ने प्रशासनिक निकायहरुको काम गर्ने क्षमता कमजोर हुँदा १० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको उनको आरोप छ । अघिल्लो सरकारले नै अर्थतन्त्र समस्यामा ल्याएकोप्रति टिप्पणी गर्दै उनले विभिन्न प्रकारका प्रयोगले थोत्रो भइसकेको गाडीको ड्राइभर बदलिँदैमा गाडीले तीव्र गति नलिने बताए । अहिलेको अर्थतन्त्रमा समस्या आउनुमा वर्तमान सरकार र अर्थमन्त्री दोषी नभएको पनि जिकिर गरे । 

चौधरीले पछिलो समय भारतसँग बढ्दै गएको व्यापार घाटा कम गर्न नेपालमा उत्पादित भएको विद्युत् निर्यात गर्नुपर्ने बताए । विदेशी रअ मेट्रियलमा आधारित वस्तुको नेपालले निर्यात गरेर व्यापार घाटामा रहेको ठूलो खाडल पुर्न नसक्ने उनले बताए । 

सांसद चौधरीले उच्च व्यापार घाटा कम गर्न सरकारले कम्तीमा पनि १५ हजार मेगावाटभन्दा बढी विद्युत् बजारको मूल्यमा भारत निर्यात गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए । सरकारले नीति तथा कार्यक्रममार्फत जलविद्युत्मा छुट्टै नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 

सेयर बजारमा धेरै लगानीकर्ताको पुँजी डुबेकाले आगामी बजेटले क्यापिटल मार्केटमा तरंग ल्याउने किसिमको नीति ल्याउनुपर्ने उनले बताए । बैंकहरुमा तरलता अभावको कारणले ७ प्रतिशत हाराहारीमा रहेको बैंक ब्याजदर बढेर १५ प्रतिशत पुग्ने स्थितिमा पुगेको उनको भनाइ छ । 



चौधरीले राष्ट्र बैंकसँग भएको ५ सय अर्बभन्दा बढी पुँजी बजारमा ल्याउन माग गरे । सरकार आफ्नो विकास खर्च पनि गर्न नसक्ने, थुप्रेर बसेको पैसा पनि बजारमा ल्याउन नसक्ने भएकाले राष्ट्र बैंकले यसको अन्त्य गर्न सक्नुपर्ने उनले बताए । 



  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १८:२२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया