दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म बिस्तार, उच्चशिक्षामा लगानी गर्न प्रोत्साहित गरिने

सरकारले दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म बिस्तार गर्ने भएको छ । सरकारको आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म बिस्तार गर्ने भएको बताएकी हुन् । 

उनले प्रदेश र स्थानीय तहसँगको सहकार्यलाई सामुदायिक माध्यमिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिने पनि बताइन् । त्यस्तै, सरकारले मदरसा शिक्षालाई आधुनिक शिक्षा प्रणालीसँग आवद्ध गर्न कानूनी व्यवस्था गरिने, गुरुकुल, गुम्बा, मदरसा लगायतले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा दिँदै आएको अनुदानलाई विद्यार्थी संख्या र सञ्चालित तह कक्षासँग आवद्ध गर्ने भएको छ । 

त्यस्तै दलित, अल्पसंख्यक, लोपोन्मुख जातजाति, पिछडिएको क्षेत्र, दुर्गम तथा हिमाली क्षेत्र र आर्थिक रुपले विपन्न परिवारका बालबालिका तथा विशेष आवश्यक्ता भएका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न प्रदेश तहमा आवासीय विद्यालय सञ्चालन गर्ने घोषणा गरेको छ । 

त्यस्तै शहीद एवं बेपत्ता परिवार, आन्दोलनका घाइते एवं अपांग भएका र द्वन्द्व पीडित परिवारका बालबालिकाहरूलाई शिक्षामा विशेष अवसर सुनिश्चित गरिने, उच्च शिक्षामा विद्यार्थी भर्ना र पहुँच अभिवृद्धिका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिने, प्राविधिक शिक्षालयको नक्सांकन गरी सबै स्थानीय तहमा बिस्तार गरिने, कक्षा ९ देखि स्नातक तहसम्मका पाठ्यक्रममा परिमार्जन गरी प्राविधिक तथा व्यवसायिक विषयलाई समावेश गर्ने नीति अघि सारेको छ । 

कक्षा ९ देखि स्नातक तहसम्मका पाठ्यक्रममा परिमार्जन गरी प्राविधिक तथा व्यावसायिक विषयलाई समावेश गर्ने, शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग र रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नका लागि पढ्दै कमाउँदै कार्यक्रमलाई थप बिस्तार गरिने, नेपालमा सञ्चालित विश्वविद्यालयहरूसँगको समन्वय प्रभावकारी बनाइने बताएको छ । 

राष्ट्रपति भण्डारीले विश्वविद्यालयको शिक्षण गुणस्तर, अनुसन्धानमा गरेको योगदान, शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीको रोजगारीसँगको आबद्धता लागयतका सूचकका आधारमा विश्वविद्यालयको रेटिङ गरी विश्वविद्यालयलाई दिइने अनुदान निर्धारण गर्ने नीति लिइने बताइन् । 



विश्वविद्यालयलाई क्रमशः सेन्टर अफ एक्सलेन्सका रुपमा विकास गर्दै लगिने उनले बताइन् । उनले विशिष्टिकृत विषयमा उच्च शिक्षा प्रदान गर्ने र विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्ने गरी उच्चशिक्षामा लगानी गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको पनि बताइन् ।

राष्ट्रपति भण्डारीले प्रत्येक प्रदेशमा कम्तिमा दुई मेडिकल कलेज प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिने पनि बताइन् । उनले सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने र चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी संख्या वृद्धि गरिने पनि बताइन् ।



  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार २१:१६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया