सरकारले स्वास्थ्यसम्बन्धी कुन-कुन कार्यक्रमलाई छुट्यायो बजेट ?

सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

आइतबार संसदमा आव २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् ।

‘आगामी आवमा ६५५ स्थानीय तहमा निर्माणाधिन आधारभूत अस्पतालको निर्माण सम्पन्न गरिनेछ । स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यका लागि रु. १० अर्ब विनियोजन गरेको छु,' उनले भने ।

उनले ज्येष्ठ नागरिकलाई विशिष्टिकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाइने पनि बताए । उनले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको पनि उल्लेख गरे । 

'ज्येष्ठ नागरिकलाई विशिष्टिकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाएको छु' उनले भने, 'सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छु ।'

त्यसैगरी मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका व्यक्तिहरु, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्तिहरु र मेरुदण्ड पक्षघात बिरामीलाई औषधी उपचार खर्चबापत् मासिक ५ हजारका दरले उपलब्ध गराउन १ अर्ब ५० करोड रुपैयाँ रकम छुट्याएको उनले बताए । 



मानव विकास सुचांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण खर्च उपलब्ध गराउने पनि सरकारले घोषणा गरेको छ ।

सरकारले गर्भवती महिलाहरुलाई पोषण कार्यक्रम, स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सुविधा उपलब्ध गराइने र खोप कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ ।



त्यस्तै, सरकारले लुम्बिनी प्रदेशको राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् र मधेश प्रदेशको सप्तरीमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत् सुपर स्पेसलिटी सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल स्थापना गर्ने कार्य अघि बढाउने सरकारले घोषणा गरेको छ । त्यस्तै, सरकारले शिक्षक अस्पताल निर्माण कार्य अगाडि बढाइने भएको छ । सिकलसेल एमोनिया अनुसन्धान तथा उपचार केन्द्र स्थापना गरिने गरिने उनले बताए ।

उनले रुपन्देहीको सैनामैना, नवलपरासीपूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने बताए ।

'मृगौला रोगीको नि:शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाइने छ । सबै प्रादेशिक अस्पतालहरुमा डायलाइसिस सेवा उपलब्ध गराउन डायलाइसिस मेशिन खरिद गर्न रु. २० करोड विनियोजन गरेको छु' उनले भने, 'विपन्न मृगौला रोगी नागरिकहरुलाई निशुल्क मृगौला प्रत्यारोपण गर्न रु. १० करोड विनियोजन गरेको छु ।’

उनले पूर्ण अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य सेवा सहितको पुर्नस्थापना केन्द्र स्थापना गरिने पनि बताए ।
 

  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १८:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया