४० वर्षपछि कुवेतविरुद्ध नेपालको गोल

नेपाल र कुवेत एकअर्काका लागि नौलो प्रतिस्पर्धी होइनन् । यी दुई हालसम्म नौ खेल आमनेसामने भइसकेका छन् । जसमा कुवेत आठ खेलमा विजयी हुँदा एक खेल बराबरीमा सकिएको छ । 

पछिल्लोपटक यी दुईले एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत गएराति प्रतिस्पर्धा गरे । उक्त खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ ले पराजित भयो । नेपाल पराजित भए पनि त्यो गोल भने उसका लागि विशेष बनेको छ । किनकि त्यो कुवेतविरुद्ध नेपालले ४० वर्षपछि गरेको गोल थियो । 

कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि थप गरिएको समयमा युवा फरवार्ड दर्शन गुरुङले एक गोल फर्काए । सन्तोष तामाङको क्रसमा दर्शनको प्रहार कुवेती डिफेन्डरबाट डिफ्लेक्ट भएर आएको बललाई फेरि उनैले जाली चुमाउँदा नेपालले ४० वर्षपछि कुवेतविरुद्ध गोल गर्न सफल भयो । 

४० वर्ष अघि अर्थात् सन् १९८२ मा भारतको दिल्लीमा सम्पन्न एसियन गेममा  यमबहादुर (वाइबी) घलेले कुवेतविरुद्ध गोल गरेका थिए । कुवेतविरुद्धको यो पहिलो भेटमा नेपाल ३–१ ले पराजित भएको थियो । घलेले मानबहादुर मल्लको पासलाई सदुपयोग गरेका थिए । यो नेपालले एसियन गेममा गरेको पहिलो र एक मात्र गोल हो ।

त्यसयता नेपालले कुवेतविरुद्ध सात खेल खेले पनि गोल गर्न भने सकेको थिएन । खेलको ३४ औँ मिनेटमा गौतम श्रेष्ठलाई प्रतिस्थापन गर्दै वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका दर्शनको त्यो गोलले नेपाललाई हारबाट बचाउन नसके पनि त्यो ऐतिहासिक बन्न पुगेको छ । 





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १२:२४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया