विश्वकप लिग-२ सिरिज :
ओमानविरुद्ध नेपालले ध्यान दिनुपर्ने तीन कुरा

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानविरुद्ध खेल्दैछ । खेल अमेरिकाको मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । 

नेपाल ओमानलाई पराजित गर्दै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । जारी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ओमानविरुद्ध १३ रनले पराजित हुँदा अमेरिकासँग बराबरी खेलेको थियो । 

ओमान पनि आज जित निकाल्दै सुखद अन्त्यको लक्ष्यमा रहनेछ । यसअघि ओमानले अमेरिकासँग ११४ रनको पराजय बेहोर्दा हुँदा नेपाल र अमेरिकालाई समान १३ रनले हरायो ।  

नेपाल र ओमान चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुईले हालसम्म पाँच एकदिवसीय अन्तर्राष्ट्रियमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले एक र ओमानले चार खेल आफ्नो पक्षमा पारेका छन् । 

विश्वकप लिग–२ मा ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा छ । नेपाल १४ खेलबाट १३ अंकका साथ छैटौँमा छ । लिग–२ आगामी वर्ष भारतमा हुने विश्वकपको सिँढी पनि हो । यो प्रतियोगिताको शीर्ष तीनमा रहने टोलीले विश्वकप छनोट खेल्न पाउने छन् । 

ओमानविरुद्ध नेपालले सुधार गर्नुपर्ने तीन पक्ष



बलिङ

नेपालको मुख्य हतियार बलिङ हो । नेपालले दुवै खेलमा राम्रो बलिङ गरेको छ । तर, यसमा सुधार गर्नुपर्ने केही पक्ष अझै बाँकी छन् । अमेरिका र ओमानको ब्याटिङ शीर्षक्रममा बढी निर्भर छ । मध्यक्रम र तल्लोक्रम ब्याटिङ दुवै टोलीको कमजोरी हो । त्यसैले नेपालले पावर प्लेमा राम्रो बलिङ गर्दा पूरा खेलमा हाबी हुनसक्छ । नेपालले अमेरिकासँग पावर प्ले अर्थात् पहिलो १० ओभरमा एक विकेट र ओमानविरुद्ध दुई विकेट लिएको थियो । 



सुरुवातमा उत्कृष्ट सुरुवात दिलाउन सके मध्यक्रमका ब्याटरलाई दबाब बढ्नेछ । दबाबमा विकेटको सम्भावना बढी हुन्छ । नेपालले विपक्षीलाई सस्तैमा समेट्न लगातार विकेट लिन सक्नुपर्छ । नेपालले पावर प्लेमा उत्कृष्ट सुरुवात गर्नसके मध्यक्रम र तल्लोक्रम कमजोरीको फाइदा उठाउन सक्नुपर्छ ।

त्यस्तै, ओमानसँग हार बेहोर्दा डेथ ओभरमा कमजोर बलिङ गरेको नेपालले अन्तिम १० ओभरमा तीन विकेट लिँदै ६९ रन खर्चिएको थियो । अमेरिकाविरुद्धको खेलमा भने नेपालले त्यसमा केही सुधार गर्दै अन्तिम १० ओभरमा ५९ रन खर्चिएर पाँच विकेट हात पारेको थियो । आज ओमानविरुद्ध जित हात पार्ने हो भने नेपालले पावर प्ले र डेथ ओभरमा उत्कृष्ट बलिङ गर्नुपर्छ ।   

विकेट टेकर चौथो प्रमुख बलर नहुनु नेपालको कमजोरी बनेको छ । नेपालले प्रमुख चौथो बलरको रूपमा स्पिनर सुशन भारीलाई खेलाउँदै आएको छ । भारी दुवै खेलमा विकेटविहीन मात्र छैनन्, आफ्नो  स्पेल नै पूरा गर्न पाएका छैनन् । 

भारीले ओमानसँग चार ओभर र अमेरिकासँग तीन ओभर मात्र बलिङ गरेका थिए । यसले नेपालको बलिङ आक्रमण कमजोर मात्र बनाएको छैन विपक्षीलाई रन बनाउन सहज पनि भइरहेको छ । नेपालविरुद्ध ओमानका जीशान मक्सूद र अमेरिकाका स्टिभन टेलरले शतकीय पारी खेलेका थिए । 

नेपाली टिम पार्टटाइम बलरमा बढी निर्भर रहेको छ । नेपालले चौथो बलरको रूपमा प्रमुख खेलाडी खेलाउन सक्नुपर्छ, जसले पूरै १० ओभर स्पेल पूरा गर्दै टोलीलाई विकेट निकालेर दिन सकोस् । 

सधैं प्रमुख तीन बलरले उत्कृष्ट बलिङ गर्छन् भन्ने हुँदैन । नेपाललाई प्लेइङ–११ मा सन्दीप लामिछाने, करण केसी र सोमपाल कमीलाई साथ दिने चौथो बलरको आवश्यकता देखिन्छ । भारीको स्थानमा ओमानविरुद्ध किशोर महतो राम्रो विकल्प हुनसक्छन् ।

ब्याटिङ

ब्याटिङ नेपालको परम्परागत समस्या हो । नेपालले ओमानसँग पराजय बेहोर्नुको प्रमुख कारण नै कमजोर ब्याटिङ हो । नेपाले अमेरिकाविरुद्ध केही सुधारिएको ब्याटिङ गरे पनि त्यसमा सुधार गर्नुपर्ने ठाउँ छन् । मुख्यतः नेपालको ओपनिङमै समस्या देखिँदै आएको छ । उसले ओमानविरुद्ध मात्र सात रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । 

अमेरिकाविरुद्ध नेपालको ओपनिङ जोडीले ५६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । तर, यसको मतलब यो होइन कि नेपालको ओपनिङ समस्या समाधान भएको छ ।नेपालले आज पनि अमेरिकाविरुद्धको जस्तै उत्कृष्ट ओपनिङ साझेदारी गर्दै टोलीको पारी उकास्न सक्नुपर्छ ।  

नेपालले दुवै खेलमा राम्रो फिनिसिङ गर्न चुकेको छ । अमेरिकासँग नेपाल एक समय ३०० भन्दा बढी रन बनाउने अवस्थामा थियो । तर, फिनिसिङमा चुक्दा नेपालले अन्तिम १० ओभरमा ५८ रन जोड्दा ५ विकेट गुमायो ।

नेपालको तल्लोक्रममा आदिल अन्सारी, करण केसी र सोमपाल कामी जस्ता आक्रामक ब्याटर छन् । उनीहरू एकै ओभरमा खेललाई बदल्न सक्ने हार्ड हिटर हुन् । नेपालको ब्याटिङमा गहिराइ छ । त्यसैले नेपालले राम्रो अन्त्य गन सक्नुपर्छ ।   

नेपाली ब्याटर सेट भएपछि ठूलो पारी खेल्न चुक्दै आएका छन् । कुनै पनि नयाँ ब्याटरलाई क्रिजमा रन बनाउन कठिन हुन्छ । त्यसैले एक एन्डबाट राम्रो रन बनाउन सक्नुपर्छ । त्यसले अर्को ब्याटरलाई पनि खेल्न सहज हुन्छ ।

ओमानविरुद्ध देव खनाल ३४ र रोहित पौडेल २० रनपछि आउट भएका थिए ।​अमेरिकाविरुद्ध रोहित ६२, आसिफ ६१ र देव ५४ रनमा आउट भए । आसिफ पूर्ण रूपमा फिट नभएको कारण उनलाई खेल्न कठिन भएको थियो । रोहित र देवले सेट भएपछि ठूलो पारी खेल्न आवश्यक देखिन्छ । 

कुनै पनि टोलीले विशाल योगफल बनाउन शीर्षक्रमका चारमध्ये एक ब्याटरले ठूलो पारी खेल्नै पर्छ । एक ब्याटरको उत्कृष्ट प्रदर्शनलाई अन्यले राम्रो साथ दिन सक्नुपर्छ ।
आइसिसी लिग–२ अन्तर्गतका खेलमा नेपाली ब्याटरले आफ्नो अर्धशतकलाई शतकसम्म पुर्‍याउन सकेको छैनन् । उनीहरू क्रिजमा सेट भइसकेकपछि ठूलो पारी खेल्न चुकिरहेका छन् । 

नेपाली ब्याटरले सेट भइसकेपछि आफ्नो पारीलाई ठूलो स्कोरतर्फ लैजान सके यसले टोलीको जितको आधार तयार गर्न सक्छ ।

फिल्डिङ

खेल जित्नका लागि ब्याटिङ र बलिङ मात्र नभएर फिल्डिङ पनि उत्कृष्ट हुन आवश्यक छ । तर, नेपालले दुवै खेलमा उत्कृष्ट फिल्डिङ गर्न चुक्यो । एउटा क्याच छुट्दा जितिसकेको खेल हार्न सकिन्छ भने उत्कृष्ट क्याच वा रन आउटले हारिसकेको खेललाई पनि जिताइ दिन सक्छ । 

नेपालले कमजोर फिल्डिङका कारण अतिरिक्त रन खर्चिँदै आएको छ । ओमानलाई हराउने हो भने नेपालले फिल्डिङमा सुधार गर्नुको विकल्प छैन ।

  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १३:३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया