कसरी गर्दै छ गण्डकी सरकारले आन्तरिक आम्दानी ?
फरकधार / ३ असार, २०७९

सामान्यतः प्रशासनिक खर्च आफ्नै आम्दानीबाट चलाउनुपर्ने सबै सरकारलाई बाध्यकारी छ । तर, अहिलेसम्म पनि प्रदेश र स्थानीय सरकार प्रशासनिक खर्चमा समेत आत्मनिर्भर हुन सकेका छैनन् । यहाँ कार्यरत कर्मचारीको तलबसमेत संघ सरकारको अनुदानमा निर्भर हुनुपरेको छ । आगामी वर्षका लागि १३ अर्ब २६ करोड चालू खर्च र २२ अर्ब १४ करोड पुँजीगत खर्च अनुमान छ ।



आगामी आर्थिक वर्षका लागि सरकारले करिब साढे पाँच अर्ब रुपैयाँ मात्रै आन्तरिक आम्दानी गर्ने देखिएको छ । पाँच अर्ब नौ करोड आन्तरिक आम्दानी र ३२ करोड रुपैयाँ रोयल्टी बाँडफाँटबाट प्राप्त गर्ने सरकारी अनुमान छ ।

प्रदेश सरकारले आन्तरिक आम्दानीका रूपमा प्राप्त गर्ने राजश्वमध्ये सबैभन्दा धेरै सेवामा आधारित करमा केन्द्रित छ । यस्तै, सम्पत्ति कर, प्रशासनिक सेवा शुल्क, दण्ड जरिवानाबाट उक्त रकम जम्मा गर्ने अर्थमन्त्री रामजी बरालले बजेट वक्तव्य मार्फत जानकारी दिएका छन् ।



यस्तै, आगामी वर्ष मनोरञ्जन शुल्कबाट एक करोड ५० लाख, पर्यटन शुल्कबाट दुई लाख र पदयात्रा शुल्कबाट १५ लाख, आय र मुनाफामा लाग्ने करबाट पाँच लाख, व्यक्तिगत आयमा लाग्ने करबाट पाँच लाख र कृषि आयमा लाग्ने करबाट पाँच लाख संकलन गर्ने लक्ष्य छ ।



बजेटको अधिकांश हिस्सा संघ सरकारको अनुदानमा आधारित छ । ३५ अर्ब ९० करोड बजेटमध्ये संघले दिएको अनुदान मात्र २६ अर्बभन्दा बढी छ । यसबाहेक दुई अर्ब आन्तरिक र नेपाल सरकारसँग ऋण लिने बताइएको छ भने चालू वर्षमा खर्च हुन नसकेको बजेट दुई अर्ब ७१ करोड बाँकी रहने बताइएको छ ।

बढी राजश्व उठाउन सरकारले प्रत्येक ६ महिनामा गाडीको जाँच पास अनिवार्य गरेको छ । कृषि, मनोरञ्जन, विज्ञापन तथा पर्यटन शुल्क लिने र त्यसका लागि कानुन निर्माण गर्ने बरालले बताए । मालपोत कार्यालयले संकलन गर्ने घरजग्गा रजिस्ट्रेसन शुल्कको दुई प्रतिशत प्रदेश संचित कोषमा जम्मा गर्ने, सबै सरकारी राजश्व संकलनलाई बैंकिङ प्रणालीमा जोड्ने र राजश्व चुहावट हुन नदिने बरालले बताए ।

आगामी वर्षदेखि ट्राफिक प्रहरीले उठाउने सबै किसिमका जरिवानालाई प्रदेश सञ्चित कोषमा राख्ने गरी कानुनी व्यवस्था गरिने सरकारको तयारी छ । अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र चितवन राष्ट्रिय निकुञ्जको रकम समेत प्रदेश सञ्चित कोषमा दाखिला गराउन आवश्यक पहल गर्ने अर्थमन्त्री बरालले बताए । 

  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १४:४०:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया