प्रधानमन्त्रीलाई नेम्वाङले भने- अर्थमन्त्रीमाथि छानविन गर्नुहोस्

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।  

पूर्वसभामुख समेत रहेका नेम्वाङले आफ्नो पार्टीले संसदमा सो कुरा उठाएपछि अर्थ मन्त्रालयको फुटेज हेरेर भएपनि त्यो तथ्य बाहिर ल्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् । संसद् दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले त्यसका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको तर्फबाट एकजना प्रतिनिधि राखेर अर्थ मन्त्रालयको फुटेज हेरेपछि बजेट निर्माणमा अनाधिकृत मान्छे अर्थमन्त्री शर्माले सामेल गराएको हो, होइन यथार्थ कुरा बाहिर आउने पनि स्पष्ट पारे ।

प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा सो कुरा उठाउने तर अर्थमन्त्रीले होइन भनेपछि छानविन नगर्ने कुराले संसदलाई कमजोर बनाउने उपनेता नेम्वाङको भनाइ थियो ।

‘संसदले बनाउने कानुन संसदबाटै बनाउनु पर्छ । संसदबाट ऐन बनाउँदा समय लाग्न भनेर हामी नियमावली बनाउन गयौं भने त्यसले पार्लिमेन्टलाई बलियो होइन कमजोर बनाउँछ । अहिले भर्खरै पनि मलाई सम्झना छ, संसदमा पनि पटकपटक प्रश्न उठेको छ,’ उनले भने, ‘बजेट बनाउने बेलामा अनाधिकृत मान्छे भन्ने प्रश्न उठ्यो संसदमा । अर्थमन्त्रीजीले होइन भन्नुभयो । अब हो कि होइन? म अहिले केही भन्दिन । तर मेरो के आग्रह हो तभन्दा सांसदहरुले उठाए यो अनाधिकृत मान्छे प्रवेश गराए भनेर । अर्थमन्त्रीजीले होइन भन्नुभयो । म यसै भन्दिन तर यस्तो अवस्थामा यसलाई यसै गरेर छोड्न हुन्न । सजिलो छ । मेरो सुझाव पनि थियो । म यहाँ पनि दोहोर्याउँछु । प्रधानमन्त्रीजीले एकजना प्रमुख प्रतिपक्षको प्रतिनिधि राख्नुस् ।’

नेम्वाङले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) कसले अघि बढाएको भन्ने विषयमा विवाद भएपछि सरकारले त्यसलाई छानविन गरेर तथ्य बाहिर ल्याउन ढिलाइ गर्न नहुने पनि पटकपटक दोहार्याए । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १३:२५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया