प्रदेश-१ खेलकुद विकास बोर्डले खेलाडीलाई सम्मान गर्ने

प्रदेश-१ खेलकुद विकास बोर्डले ओलम्पिक, एसियन र साफ गेममा सहभागी खेलाडीलाई सम्मान गर्ने भएको छ ।

बोर्डले यही असार १९ गते विराटनगरमा भव्य कार्यक्रमको आयोजना गर्दै साफ, एसियन र ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई सम्मान गर्ने कार्यक्रम रहेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । 

प्रदेश १ बाट हालसम्म अन्तर्राष्ट्रिय स्तरको खेल स्पर्धामा सहभागी खेलाडीको बृहत् भेलाको आयोजना गर्ने र खेलाडीको सम्मानमा र्यालीसमेत गरिने बोर्डका सदस्यसचिव हंशराज वाग्लेले पत्रकार सम्मेलनमा जानकारी दिए । 

प्रदेशबाट हालसम्म ओलम्पिक खेलमा ९ जना, एसियन खेलमा ३६ जना र साफमा १५० जनाको हाराहारीमा खेलाडी सहभागी भएको राष्ट्रिय खेलकुद परिषदको तथ्यांकले देखाएको सदस्यसचिव वाग्लेको भनाइ छ ।

खेलाडीहरुलाइ विशेष सम्मानका लागि मुख्यमन्त्री राजेन्द्रकुमार राई लगायतका मन्त्रीहरुको टोलीसहित नेपाल प्रहरीको व्याण्डसमेत बाजागाजासहित उपस्थित हुने जनाइएको छ । 

बोर्डले सोही कार्यक्रमको अवसर पारेर विराटनगरको नोवल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेजसँग अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका खेलाडीहरुलाई निःशुल्क उपचार गर्ने सम्झौतासमेत गर्ने बताएको छ । 



साफ, एसियन र ओलम्पिकमध्ये कुने खेलमा सहभागी खेलाडीलाई औषधिबाहेक निःशुल्क उपचार दिने र खेलाडीका परिवारलाई पचास प्रतिशत छुटमा उपचार दिनेगरी सम्झौतापत्रमा सोही दिन हस्ताक्षर गरिने सदस्यसचिव हंशराज वाग्लेले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

१९ गते विराटनगरको एयरपोर्ट रोडस्थित पर्पल हेज रेष्ट्रो एण्ड गार्डेनमा हुने खेलाडी सम्मान कार्यक्रममा उद्योगीव्यापारीसहित राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी, पदाधिकारी र ओलम्पिक कमिटिका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहने बोर्डकी उपाध्यक्ष जिना कार्कीले बताइन् । 



प्रदेश खेलकुद बोर्डमा नयाँ पदाधिकारी नियुक्ति भएर आएपछि प्रदेशरिका खेल प्रशिक्षकहरुका लागि तालिम सञ्चालन गर्नुका साथै प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता, इटहरीमा प्रदेश १ को जिल्लास्तरीय फुटबल प्रतियोगिता, महिलाहरुलाई आत्मरक्षाका लागि सेल्फ डिफेन्स तालिम लगायतका महत्वपूर्ण कार्यक्रम गरीसकेको र प्रदेशको खेल क्षेत्रलाई चलायमान बनाउँदै गएको बोर्डले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १८:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया