राइनास बहुप्राविधिक शिक्षालयका प्रिन्सिपलमाथि यौन दुर्व्यवहारको आरोप

पूर्वी लमजुङको राइनास नगरपालिकास्थित एक प्राविधिक शिक्षालयका प्रमुखमाथि विद्यार्थीहरुलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

राइनास–८, कुसुन्डे चौरस्थित राइनास बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल ईश्वरी देवकोटाले सोही शिक्षालयमा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार भएको खुलासा भएको हो ।

करिब दुई वर्षअघिबाट सो शिक्षालयमा आबद्ध प्रिन्सिपल देवकोटाले विगत लामो समयदेखि विद्यार्थीमाथि यौन दुर्व्यवहार गरे पनि सो विषय हालसालै मात्र बाहिर सार्वजनिक भएको हो ।

प्रिन्सिपल देवकोटाले अध्ययनरत छात्राहरूलाई फेसबुक प्यासेन्जर प्रयोग गरी अनावश्यक कुरा गर्ने, भेटिएको बेला छात्राहरूको संवेदनशील अंगमा छुने, छाम्नेजस्ता क्रियाकलाप गरेको पीडित छात्राको आरोप छ । उनले शिक्षालयको छात्रावासमा बस्ने विद्यार्थी र बाहिर बस्ने विद्यार्थीलाई पनि सोही प्रकारको व्यवहार गर्दै आएको पीडित विद्यार्थीको गुनासो छ ।

रातिको समयमा छात्रा होस्टेलमा जाने, खाना पकाउनू भन्ने, छात्राहरूको कोठामा सुत्ने प्रयास गर्नेजस्ता क्रियाकलाप हुन थालेपछि पीडित विद्यार्थीले हारगुहार माग्न थालेका हुन् ।

प्रिन्सिपल देवकोटाले रातिको समयमा छात्रालाई फोन गर्ने, तिम्रो कोठामा आउँछु भन्ने गरेको एक पीडित विद्यार्थीले बताइन् । पीडित विद्यार्थीका अनुसार सुरु–सुरुमा बुबासमानको सर मानेर कुरा गर्ने गरे पनि पछिल्लो समय प्रिन्सिपलको नियत खराब बुझिएपछि कुरा गर्न तथा भेटेको बेला पनि बोल्न छाडेको उनले बताइन् ।



पछिल्लो समय एक विद्यार्थीले आफूलाई परेको समस्याबारे साथी र अन्य शिक्षक–शिक्षिकालाई सुनाएपछि अन्य विद्यार्थीले पनि आफूलाई प्रिन्सिपलले त्यस्तै दुःख दिने गरेका बताएका हुन् । पीडित विद्यार्थीहरूले न्याय माग्न खोज्दा उल्टै प्रिन्सिपलले तिमीहरूको भविष्य मेरो हातमा छ भन्दै धम्की दिएको पीडित विद्यार्थीको भनाइ छ ।

शिक्षालयमा प्रिन्सिपलको यौन दुर्व्यवहारबाट पीडितमध्ये अधिकांश छात्राहरू अन्य जिल्लाका रहेका छन् । विशेष गरी कर्णाली प्रदेशअन्तर्गत विभिन्न जिल्लाबाट प्राविधिक शिक्षा अध्ययनका लागि आएका विद्यार्थीले आफू पढ्ने विद्यालयको प्रिन्सिपलबाटै पीडित भए पनि अभिभावकविहीन हुँदा खुलेर न्याय माग्न नसकेको गुनासो गरेका छन् ।



घटना सार्वजनिक भए पनि सो विषयमा सम्बन्धित निकायमा भने कुनै उजुरी परेको छैन । घटनाको विषयमा सम्बन्धित व्यक्तिबाट उजुरी नआएसम्म कुनै काम कारबाही गर्न नसकिने लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीको भनाइ छ । 

आरोपित प्रिन्सिपल देवकोटाले भने आफूलाई नियोजित रूपमा फसाउन षड्यन्त्र गरिएको दाबी गरेका छन् । पछिल्लो समय घटनाको विषयमा जिल्लाका मानवअधिकारकर्मीले चासो दिएको बुझिएको छ ।

  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १८:१२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया