लागुऔषध कारोबारको केन्द्र बन्दै मकवानपुर, ११ महिनामा १९८ पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १५ बाट प्रहरीले ठूला परिमाणमा लागुऔषधसहित आइतबार दुईजनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका –१३ का २७ वर्षीया सन्तोष साह कलवार र धनुषा महेन्द्रनगर–२ घर भई हाल हेटौंडा–४ स्थित बाइपास रोडमा मुन्ना साइकल स्टोरका सञ्चालक ३७ वर्षीय मुन्ना भन्ने अमनप्रसाद जैसवाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । 

कलवार र जैसवाल लागुऔषध कारोबारमा संलग्न एक पात्र हुन् । यस्ता धेरैजना लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । वीरगञ्ज नाका हुँदै छिमेकी मुलुक भारतमा लागुऔषध तस्कर गर्नेको मुख्य बाटोको रुपमा रहेको मकवानपुरका बाटोमा रहेका प्रहरी कार्यालयबाट खटिएका टोलीले लागुऔषध तस्करलाई नियन्त्रणमा लिने गरेका छन् । 

लागुऔषध कारोबारमा संलग्न तथा पक्राउ पर्नेमा मकवानपुरमा धेरैको संख्यामा अभियुक्त प्रहरीले पक्राउ गर्दै आएको छ । मकवानपुरको कैलाश, राक्सिराङ, थाहा नगरलगायत अभियुक्तहरु लागुऔषध कारोबारी तथा तस्करको आरोपमा समातिँदै आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हप्तामा ३ देखि ५ वटा सम्मको लागुऔषध कारोबारीको अभियोगमा प्रहरीले नियन्त्रणमा लिने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालू आर्थिक वर्ष ०७८–०७९ को जेठ मसान्त अर्थात् ११ महिना अवधिमा लागुऔषध कारोबारी १ सय ९८ जनालाई पक्राउ गरेको जनाइएको छ । १ सय ७९ नेपाली नागरिक पक्राउ परेका छन् भने भारतीय नागरिक ११ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २ हजार ६ सय १५ किलोग्राम गाँजा, चरेस २० किलोग्राम, खैरो हेरोइन ५९ ग्राम, अफिम १२ किलो ७ सय ७५ ग्राम, नाइट्रोभेट ट्याब्लेट १० हजार ८ सय ५९, डाइजेपाम ट्याब्लेट ९ सय ३७, फेनारगन ९ सय ३८ ट्याब्लेट, नोर्फिन ९ सय ५७ ट्याब्लेट र क्लोरेक्स ५ सय ९० बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


आर्थिक वर्ष सुरु भएदेखि साउनमा २५ पुरुष लागुऔषध कारोबारीलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त महिना गाँजा २ सय २९ किलोग्राम, खैरो हिरोइन १५ ग्राम, अफिम ५ किलो ७ सय ग्राम, नाइट्रोभेट ६ हजार ७ सय ६८ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । 

त्यस्तै, भदौमा ११ पुरुष र १ महिला गरी १२ जना पक्राउ परेका थिए । जसको साथबाट १ सय ६९ किलोग्राम गाँजा, १ ग्राम खैरो हिरोइन, र १८ नाइट्रोभेट ट्याब्लेट बरामद गरेका गरिएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । असोजमा ९ पुरुषलाई लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । उक्त लागुऔषध कारोबारमा संलग्न रहेकाको साथबाट १ सय ७५ किलोग्राम गाँजा र १ किलोग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ ।



यस्तै, कार्तिकमा ५ जना पुरुषलार्ई लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको थियो । जिल्लाका विभिन्न स्थानमा भएको चेकजाँचका क्रममा उनीहरुको साथबाट १ सय २७ किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । मंसिरमा जिल्लाका विभिन्न स्थानबाट १८ पुरुषलाई लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरुको साथबाट गाँजा ४८ किलो ५ सय ग्राम, नाइट्रोभेट ट्याब्लेट ३ सय ३९ पिस बरामद गरी आवश्यक अनुसन्धान तथा कारबाही गरिएको मकवानपुर प्रहरीले जनाएको छ । 

त्यस्तै, पुसमा २५ पुरुषलाई पक्राउ गरेको थियो । जसमा ४ सय ४९ किलोग्राम गाँजा, चरेस २० किलोग्राम, नाइट्रोभेट ट्याब्लेट १ सय ३८ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । माघमा ७ पुरुष र १ महिला गरी ८ जना लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । उनीहरुको साथबाट १ सय ५५ किलो ५ सय ग्राम लागुऔषध गाँजा र नाइट्रोभेट ट्याब्लेट १ सय ३२ पिस बरामद गरिएको थियो ।



फागुनमा २ महिला र २८ पुरुषसहित ३० जना पक्राउ परेका थिए । उनीहरुको साथबाट लागुऔषध गाँजा २ सय २ किलो ८ सय ग्राम र नाइट्रोभेट ट्याब्लेट १ सय ३२ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै, चैतमा २ महिला र २९ पुरुष गरी ३१ जनालाई लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ । उनीहरुको साथबाट ४ सय ३९ किलो ८ सय ५० किलोग्राम गाँजा, खैरो हेरोइन ६ ग्राम, अफिम ५ किलो ७५ ग्राम र नाइट्रोभेट ट्याब्लेट ६ सय ९८ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।

वैशाखमा लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न २ महिलासहित ८ जनालाई पक्राउ गरिएको थियो । उनीहरुको साथबाट ६ किलोग्राम गाँजा, खैरो हिरोइन ७ किलो ९ सय ग्राम बरामद गरिएको थियो । जेठमा १ महिला र २६ पुरुष गरी २७ जना लागुऔषध कारोबारीलाई पक्राउ गरिएको तथ्यांक छ । उनीहरुको साथबाट ५ सय ९१ किलो ४ सय ७१ ग्राम गाँजा, खैरो हेरोइन ९ ग्राम र नाइट्रोभेट ट्याब्लेट ६ सय ८८ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार २१:०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया